काठमाडाैं- गङ्गादेवी चौधरी स्मृति सम्मानबाट साहित्यकार पद्मावती सिंह सम्मानित भएकी छिन्।
श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले स्रष्टा सम्मानको रजत वर्षको अवसरमा शुक्रबार विशेष समारोह आयोजना गरी साहित्यकार सिंहलाई सम्मान गरेको हो। स्मृति सम्मानको राशी १ लाख १ रुपैयाँ सहित ताम्रपत्र रहेको छ।
कार्यक्रमका प्रमुख अतिथि सत्यमोहन जोशीले साहित्यकार सिंहलाई सम्मान दोसल्ला ओढाई सम्मान गरेका थिए। कार्यक्रममा साहित्य, संस्कृति, इतिहास तथा गीत संङ्गीतको क्षेत्रमा विशेष योगदान पुर्याएका अन्य ७ जना व्यक्तित्वलाई पनि सम्मान गरिएको छ।
पत्रकार अच्युतरमण अधिकारीलाई सरस्वती गद्य सम्मान, साहित्यकार मोदनाथ प्रश्रितलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान, संगीतकार गणेश रसिकलाई नारायणगोपाल सङ्गीत सम्मान, चित्रकार किरण मानन्धरलाई अरनिको ललितकला सम्मान, कलाकार भुवन थापा चन्दलाई बालकृष्ण सम रङ्ग सम्मान, फरक क्षमताकी सृष्टि केसीलाई नेपाल नवप्रतिभा सम्मान र कवि एवं गीतकार दिनेश अधिकारीलाई गोपाल प्रसाद रिमाल काव्य सम्मानबाट सम्मानित गरिएको हो। सात वटै सम्मानको राशी नगद ५१ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ।
.JPG)
श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले यसै बर्षदेखि गोपाल प्रसाद रिमाल काव्य सम्मान दिन सुरु गरको हो। अन्य सम्मान दिन सुरु गरेको २५ वर्ष पुरा भएको छ। साहित्यकला मन्दिरले सुरु गरेको स्रष्टा सम्मानको २५ वर्ष पूरा गरेको अवसरमा कला मन्दिरसँग आवद्ध रही काम गर्दै आएका राजकुमार अधिकारी, कृष्ण प्रसाद दीक्षित र राजकुमार गौतमलाई दीर्घ सेवा पुरस्कारबाट पुरस्कृत गरिएको छ। पुरस्कारको राशी जनही ३१ हजार रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।