काठमाडौं- साहित्य सदन नेपालले यस वर्षको ‘हृदयचन्द्र स्मृति सम्मान’ वरिष्ठ मार्क्सवादी सौन्दर्यचिन्तक चैतन्यलाई प्रदान गर्ने निर्णय गरेको छ।
राजनीतिक वृत्तमा ‘किरण’ उपनामले सुपरिचित मोहन वैद्य साहित्यमा ‘चैतन्य’ नामले चिनिन्छन्। मार्क्सवादी कलासाहित्य तथा सौन्दर्यचिन्तनका क्षेत्रमा गम्भीर अध्येता तथा व्याख्याताका रूपमा स्थापित चैतन्य दर्शनका क्षेत्रमा पनि उत्तिकै प्रखर र गम्भीर चिन्तक हुन्। उनको ‘हिमाली दर्शन’ नामक कृतिले अघिल्लो वर्ष निकै चर्चा पाएको थियो। सौन्दर्यचिन्तन तथा समालोचनाका क्षेत्रमा हालसम्म उनका ‘मार्क्सवादी कलादृष्टि र समीक्षा’, ‘क्रान्ति र सौन्दर्य’, ‘समीक्षा र सौन्दर्य’ ‘मार्क्सवाद र संस्कृति’ र ‘मार्क्सदी सौन्दर्यचिन्तन’ तथा दर्शनका क्षेत्रमा ‘संघर्षको दर्शन’ र ‘हिमाली दर्शन’ जस्ता कृतिहरू प्रकाशित छन्।


यस्तै यस वर्षको ‘गोपालप्रसाद रिमाल पुरस्कार’ वरिष्ठ आख्यानकार तथा कवि कविता पौडेललाई प्रदान गरिने भएको छ। उनी सामाजिक जीवनमा पर्ने र परिआउने जुनसुकै काम महिलाले पनि पुरुषले जत्तिकै कुशलतापूर्वक सम्पन्न गर्न सक्छन् भन्ने मान्यता राख्ने महिला हुन्। हलो जोत्ने, मलाम जाने, घर छाउने तथा खसी काट्ने जस्ता कामहरू गरी समाजमा व्याप्त रुढिग्रस्ततालाई ठाडै हाँक दिने साहसी महिलाका रूपमा इतिहास बनाकी पौडेल नेपाली साहित्यमा आख्यानकार तथा कविका रूपमा परिचित छिन्।
सामाजिक जीवनका जल्दाबल्दा विषयमा कलम चलाउने उहाँका ‘काँडाघारीको यात्रा’ संस्मरण, ‘बाल चित्कार’, ‘छोरीको चिठी’, ‘हिरा’, ‘छाउपडी’ र ‘मुना’ उपन्यास र ‘नयाँ बिसाउनी’ खण्डकाव्य प्रकाशित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।