काठमाडौं- गत वर्ष आयोजित राष्ट्रिय कविता महोत्सवका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित महोत्सवका विजेताहरुलाई मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत गरिन्।
कवि फूलमान वल प्रतियोगितामा प्रथम भएका थिए। राष्ट्रपति भण्डारीले उनलाई स्वर्ण पदकसहित ३० हजार रुपैयाँ प्रदान गरिन्। दोस्रो हुने सुनिता खनाल कास्य पदकसहित २५ हजार रुपैयाँ र तृतीय हुने मेनुका चापागाईं र एलिना दुलाल जनही २० हजार रुपैयाँ र रजत पदकसहित पुरस्कृत भए।
पुरस्कार वितरण समारोहमा २०७२ को महोत्सवमा पुरस्कार दिन बाँकी प्रतियोगीलाई पनि पुरस्कार प्रदान गरिएको छ। प्रकाशित कविता प्रतियोगितामा सामेल गराएको आरोप लागेपछि पुरस्कार फिर्ता गर्न प्रतिष्ठानको निर्णयमा अदालतले प्रथम हुने प्रोल्लास सिन्धुलियकै पक्षमा फैसला गरेपछि उनीहरुलाई पुरस्कृत गर्ने बाटो खुलेको हो। सोही वर्ष द्वितीय हुने सरस्वती दुमी राईलाई पनि सोही अवसरमा पुरस्कार प्रदान गरिएको थियो।
कविलाई सिर्जनामा उत्प्रेरित गर्ने उद्देश्यका साथ विसं २०२२ देखि कविता महोत्सव आयोजना गरिँदै आइएको छ।
यस वर्षदेखि भने वाचनलाई पनि मूल्यांकनको आधार बनाइने बताइएको छ। आगामी असार ९ गते प्रतियोगिता आयोजना हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।