काठमाडौं- ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा आएको छ। काठमाडौंको कुञ्ज थियटरमा आझ एक कार्यक्रमका बीच कथासंग्रह ‘मोहपथ’को आख्यानकारहरु नयनराज पाण्डे, प्रगती राई, हाङयुग अज्ञात र लेखक विष्टले संयुक्त रुपमा लोकार्पण गरे।
विमोचनपछि कृतिमाथि आफ्नो धारणा राख्दै वक्ता अज्ञातले मोहपथमा समावेश भएका कथाहरुले जीवनयापनका क्रममा मानिसले मानसिक रुपमा कसरी संघर्ष गर्छ भन्ने दर्शाउन खोजेको बताए। मानिसको जन्म र मृत्यु साश्वत सत्य भएको बताउँदै उनले जीवन जिउनेक्रममा गर्ने संघर्ष भने अधिकांशको फरक-फरक हुने धारणा राखे।
‘मानिसको जन्म र मृत्युको कथा एउटै हो। तर, यसबीचमा जुन संघर्षहरु मानिसले गर्छन्, ती चाहिँ भिन्न-भिन्न हुन्छन्। कतिपयको मिल्न पनि सक्छ,’ उनले थपे, ‘मोहपथ भित्रका कथाहरुले मान्छेले कसरी मनोवैज्ञानिक संघर्ष गर्छ भन्ने कुरा स्पष्ट रुपमा बोलेका छन्।’
मनोवैज्ञानिक लेखन पद्धति नेपालमा भित्रिएको धेरै भइसकेको स्मरण गर्दै उनले पछिल्लो समय चिन्तन गर्ने परम्परा हराउँदै गएकोमा चिन्ता प्रकट गरे। ‘हामी यो भएन, त्यो भएन, यस्तो लेखिनुपर्थ्यो भन्छौं। किनकी हामीलाई चिन्तनमा रुची छैन। मात्र हामी जज हुन रुचाउँछौं,’ पछिल्लो समयका नेपाली लेखकहरुप्रति इन्गित गर्दै उनले भने, ‘अहिले त्यस्ता जज मानसिकता बोकेका लेखकहरु धेरै छौं। कहिलेकाहीं म आफैंलाई त्यसमा राख्ने गर्छु।’
उनले यस्तै मानसिकताले मनगढन्ते कथाहरु बुन्न सघाउ पुर्याउने भन्दै यही परम्परा बसेमा नेपाली साहित्य अगाडि नबढ्ने ठोकुवा गरे।
कार्यक्रममा बोल्दै अर्की लेखक प्रगती राईले नयाँ लेखकहरुलाई अधिकतम स्वागत गर्नुपर्ने धारणा राखिन्। नेपालमा धेरै पुस्तक प्रकाशन भए भनेर चिन्ता गरिने गरिएकोमा असहमति जनाउँदै उनले नयाँ लेखकहरुलाई प्रकाशकले विश्वास गर्नुपर्नेमा जोड दिइन्।
‘यहाँ धेरै पुस्तक आए भनेर चिन्ता गर्ने धेरै छन्,’ राईले भनिन्, ‘तर, मलाई लाग्छ, अधिकतम लेखिनुपर्छ। हामीसँग लेखिनुपर्ने कुराहरु धेरै छन्। लेखिएन भने, प्रतिष्पर्धा भएन भने हामीले राम्रो कुरा दिन सक्दैनौं। त्यसकारण नयाँ लेखकहरुलाई प्रकाशकहरुले विश्वास गर्न सक्नुपर्छ।’
मोहपथभित्रका कथाहरुले सुरुदेखि नै प्रभाव पारेको बताउँदै उनले कतिपय कथाका लाइन र प्लटहरु आफ्ना लागि बिल्कुलै नयाँ लागेको बताइन्। प्रेमलाई हामीकहाँ सस्तो रुपमा प्रस्तुत गर्ने चलनमा लेखक विष्टले चुनौती दिएको उनको कथन छ।
नेपालको पश्चिम क्षेत्रको सांस्कृतिक र सामाजिक परम्परालाई न्याय गर्ने गरी विष्टले सो क्षेत्रको भाषा शैलीमै सहजताका साथ कथा बुनेको राईले बताइन्। ‘ललितलाई पश्चिमको प्रतिनिधि मान्न पाइयोस् र पश्चिमले पनि नेपाली साहित्यमा एक प्रतिनिधि आवाज पाएकोमा गर्व गर्न सकोस्,’ राईले लेखक विष्टलाई शुभकामना व्यक्त गरिन्।
कथानकको गाम्भीर्यता र प्रस्तुति हेर्दा विष्टलाई साहित्य जगतमा नयाँ मान्छे भन्न नमिल्ने उनको तर्क छ। भन्छिन्, ‘उहाँको पहिलो कृति बजारमा आएको भएर नयाँ भने पनि कथा पढ्दै गर्दा अनुभवमा उहाँ निकै पुरानो लाग्छ।’
लेखक राईले संग्रहमा समेटिएका कथाहरु एउटै 'फ्रेम'मा आएको टिप्पणी गरिन्। धेरै कथाहरु पढ्दा एउटै कथा पढिरहेको जस्तो लागेको बताउँदै उनले फुटकर रुपमा आउँदा सहज लागे पनि कृतिमै पढ्दा भने यो असहज लाग्ने अनुभव सुनाइन्।
‘माटो, सिमेन्ट वा खरानी जे सुकैको बनाऊँ, त्यसको मेसिन एउटै छ भने आकारमा इँटा उही हुन्छ,’ राईले थपिन्, ‘मेरो चाहना एउटा संग्रहमा कुनै कथा गमलाजस्तो, कुनै थालजस्तो त कुनै किताबको आकारमा होस् भन्ने हो।’
अन्तिम समिक्षकको रुपमा बोल्दै आख्यानकार पाण्डेले शक्तिशाली भएर नेपाली आख्यान क्षेत्रमा आएको भन्दै लेखक विष्टलाई स्वागत गरे।
उनले यस्तै कृति आएमा नेपाली कथा साहित्यको भविष्य उज्ज्वल रहेको दाबी गरे। ‘उहाँ मेरो पुस्तालाई झस्काउने गरी आउनु भएको छ। यसको अर्थ नेपाली कथा साहित्यको भविष्य उज्ज्वल छ। सुमुधुर छ,’ पाण्डेले भने।
आख्यानकार पाण्डेले मोहपथ पछिल्लो ४/५ वर्षमा आएका कथा कृतिमध्ये बिर्सिनै नसक्ने कथासंग्रह भएको उद्घोष गरे। ‘मैले यो भन्न हिच्किचाउनु पर्दैन कि पछिल्लो ४/५ वर्षमा पढेका कथा साहित्यमा यो कथा कृति ४/५ वटाभित्र पर्छ। जसलाई म बिर्सिन सक्दिनँ, जसको चर्चा हुनुपर्छ भन्ने लाग्छ,’ उनको भनाइ छ।
कथाहरु पढ्न थाल्दै गर्दा आफूलाई यति बलियो किसिमले कथा निर्माण गरिएको होला भन्ने विश्वास नलागेको बताउँदै उनले लेखकसँग कथा निर्माण गर्ने शिल्प अद्भुत रहेको जिकिर गरे।
उनले भने, ‘लामा कथा लेख्ने र कथा भन्न भित्री तहसम्म जाने जुन धैर्यता कथाकारले देखाउनु भएको छ, त्यो अद्भूत छ।’
उनले यस संग्रहमा समेटिएका कथाहरु पढ्दै जाँदा ओझेल पर्दै गइरहेको विस्तारमा चरित्रहरुलाई व्याख्या गर्ने परिपाटी नेपाली साहित्यमा पुनः झुल्किएको लागेको सुनाए। ‘पत्रिकाको आवश्यकताअनुसार छोटा कथाहरु लेख्ने परिपाटी विकसित भइरहेको छ। कथाहरु विस्तारमा जाने र चरित्रहरुलाई फराकिलो घेरामा व्याख्या गर्ने जुन शिल्प हामीले गुमाउँदै गइरहेका छौं, यो संग्रह पढेपछि हराएको यस्तो शिल्प नेपाली साहित्यमा फेरि झुल्कियो भन्ने लाग्यो,’ पाण्डेको भनाइ छ।
पहिलो संग्रहको रुपमा हेर्दा कथाको प्रस्तुति एकै किसिमको हुनुलाई लेखकलाई छुट दिन मिल्ने बताउँदै उनले यो लेखकले शैली अर्थात ‘स्टाइल’ बनाएको हुनसक्ने तर्क गरे।
पुस्तकको नामसमेत रहेको ‘मोहपथ’ शीर्षकमा कुनै कथा नभए पनि हरेक कथाको अन्तर्य र आयाममा कृतिको यो नाम सान्दर्भिक रहेको उनको ठम्याइ छ।
अन्त्यमा लेखक विष्टले आफ्नो जीवनकै पुस्तक प्रकाशन तथा लोकार्पणमा साथ, सहयोग र हौसला दिने सबैप्रति अभार प्रकट गरे।
उनले हरेक कथामा आफूले अँध्यारो, भ्रम र पागलपनमाथि काम गर्न खोजेको जानकारी दिए। ‘मेरा कथाहरु डार्कनेस, इलुजन र म्याडनेसको वरिपरि छन्,’ लेखक विष्टले भने, ‘रातको बयान गर्दा कथा पढ्दै गर्दा पाठकलाई पक्कै पनि रात नै परिरहेको भान हुने गरी कथा बुन्न प्रयास गरेको छु।’
‘मोहपथ’ फिनिक्स बुक्सले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।