काठमाडौं– युवतीहरुलाई फिल्म खेलाइदिने भन्दै अन्र्तवार्ताका लागि बोलाएर यौनशोषण गर्ने युवक पक्राउ परेका छन्। चितवनको खैरहनी–१३ घर भई काठमाडौंको नयाँ बानेश्वर बस्ने अमन तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
तामाङ फिल्म क्षेत्रमा संलग्न व्यक्ति हुन्। उनले केही म्यूजिक भिडियो बनाएका छन्। त्यही देखाएर उनले युवतीहरुलाई प्रभावमा पार्ने र शोषण गर्दै आएका हुन्।
तामाङले निर्देशक भएको भन्दै विश्वासमा पारी किशोरीलाई नायिका बनाउने प्रलोभन दिएका थिए। फिल्मका लागि कुरा गर्न भन्दै होटलमा बोलाएर उनले किशोरीमाथि यौनशोषण गरेका हुन्। घटनापछि उनी फरार थिए।
फरार रहेका तामाङविरुद्ध किशोरीको जाहेरीका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो। उनी पेसाले फिल्मका फोटोग्राफर भएको गौशाला वृत्तका डिएसपी अनुपम श्रेष्ठले बताए। सुरुमा उनले किशोरीलाई नयाँ बसपार्कको होटलमा बोलाएर बलात्कार गरेका थिए। पछि गौशालाको होटलमा बोलाएर नायिका बनाइदिने भन्दै सम्बन्ध राखेका थिए। त्यसपछि फरार उनी पक्राउ परेका हुन्।


तामाङसँग युवतीको फेसबुकमार्फत चिनजान भएको थियो। फेसबुक च्याटमा तामाङले आफू कलाकार भएको भन्दै भ्रममा पारेका थिए। उनले केही समयअघि आफु मोडल तथा निर्देशक भएको भन्दै एक अनलाइनमा समाचार समेत छपाएका थिए। त्यही समाचार देखाएर समेत उनले युवतीहरुलाई प्रभावमा पार्दथे। समाचारमा उनले आफ्नो नम्बर समेत राखेर बिज्ञापन गरेका थिए। काठमाडौंको एक स्कुलमा पढ्ने बिद्यार्थी उनलाई फोन गरेर भेट्न गएकी थिइन्। भेटघाटमा उनले सम्बन्ध राख्न दिए मात्र फिल्म खेलाउने भन्दै ब्लाकमेलिङ गरेका थिए।
मोबाइल स्वीच अफ गरेर फरार रहेका तामाङलाई प्रहरीले १८ गते पक्राउ गरेको हो। जर्बजस्ती करणी मुद्दामा उनीविरुद्ध कारबाही अघि बढाइएको डिएसपी श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।