काठमाडौँ- साझा यातायात सहकारी संस्था लिमिटेडले उपत्यकामा अपाङ्गमैत्री बस सञ्चालनमा ल्याएको छ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बस सेवा (सेमी लो–फ्लोर) को बुधबार संयुक्त रुपमा प्रारम्भ गरे।
उक्त बस लगनखेल, पाटन अस्पताल, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर आँखा अस्पताल, वीर अस्पताल, जमल लैनचौर, लाजिम्पाट, कान्ति बाल अस्पताल, शिक्षण अस्पताल, गङ्गालाल हुँदै न्यूरो अस्पतालसम्म सञ्चालन हुनेछ। बस सोही रुट हुँदै फर्कनेछ। उक्त बस कामपाको सहकार्यमा अशोक लेल्याण्ड कम्पनीले निर्माण गरेको हो।
बसमा ४१ सिट क्षमता रहेको छ। बसमा बालबालिकाका लागि छुट्टै सिटको व्यवस्था गरिएको छ। छिट्टै विद्युतीयसहित २४ वटा बस सञ्चालन गर्ने तयारी साझाले गरिरहेको छ।
सो अवसरमा कामपाका प्रमुख शाक्यले नागरिकको आवश्यकतालाई अध्यनजर गर्दै बसको संख्या वृद्धिका लागि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे। सबै गरेर एक सय वटा बस सञ्चालन गर्ने उद्देश्य राखिएको र त्यसमा अपाङ्ग र बालमैत्री बस हुने उनले जानकारी दिए।
ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले २०१९ सालदेखि सञ्चालन गर्न थालिएको साझा यातायात समय समयमा बन्द हुँदै पुनःसञ्चालनमा आएकामा आफू खुसी भएको बताए।
साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले उपत्यकामा ठूला सवारी साधनको उच्चतम प्रयोग नहुँदा नागरिकले धेरै सास्ती बेहोर्नु परेको र साझा जस्ता बसले आगामी दिनमा यी समस्याको निराकरण गर्ने विश्वास व्यक्त गरे।
हाल उपत्यका र बाहिर गरी साझाका ४७ बस सञ्चालनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।