इलाम- इलामको चियाबारी एफएममा कार्यरत दुई कर्मचारीमाथि गएराति आक्रमण भएको छ।
राति करिब ९ बजे रेडियो कार्यालय बन्द गरेर निवास फर्कंदै गरेका प्राविधिक प्रकाश न्यौपाने र बजार व्यवस्थापक कृष्ण पाठकमाथि इलाम नगरपालिका ९ गोलबस्ती पोखरी नजिक आक्रमण भएको हो। रविन मगरसहित ५ जनाको समूहले आक्रमण गरी नगद ४५ हजार, सुनको सिक्री र मोबाइल समेत लुटेर लगेको एफएमका स्टेसन म्यानेजर प्रेम अधिकारीले बताए।
पाठकको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको छ। घाइतेको इलाम अस्पतालमा उपचार भइरहेको छ।
एक विज्ञप्ति जारी गर्दै स्टेसन म्यानेजर अधिकारीले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रशासनसामु माग गरेका छन्। 'यसखाले घटनाले सञ्चारकर्मीले स्वतन्त्र रुपमा काम गर्न पाउने वातावरण खलबलिएको छ,' जारी विज्ञप्तिमा भनिएको छ,' सञ्चारकर्मी र सञ्चारमाध्यममाथि भएको आक्रमणको घोर भर्त्सना गर्दछौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।