रोल्पा– जिल्लामा बढिरहेको सवारी दुर्घटना न्यूनीकरण गर्ने भन्दै रोल्पामा सवारी चालक र सहचालकको निःशुल्क आँखा जाँच शिविर गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजनामा बुधबार भएको सो शिविरमा जिल्लाका लामो तथा छोटो दूरीका सवारी चालक र सहचालकको सहभागीता रहेको थियो। सवारी चालकको कमजोर आँखाका कारण कयौँ दुर्घटना हुने गरेको तथ्य सार्वजनिक भएसँगै रेडक्रस रोल्पाले यो अभियानको थालनी गरेको बताइएको छ।
‘चालक र सहचालकले अनिवार्यरुपमा आँखा परीक्षण गर्नुका साथै समस्या देखिए चस्मा र औषधि प्रयोगका लागि अभिप्रेरित गर्न यो कार्यक्रम सञ्चालन गरेका हौँ’, नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति नौलसिंह पुनले बताए।
शिविरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको सहजीकरणमा ट्राफिक नियमको बारेमा अभिमुखीकरण समेत गरिएको थियो। चालक र सहचालकका लागि ट्राफिक नियमको अभिमुखीकरण तथा आँखा परीक्षण शिविरले जिल्लामा हुने दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने जलजला यातायात व्यवसायी समिति रोल्पाका प्रशासनिक प्रमुख यज्ञश्वर आचार्यले प्रतिक्रिया दिए।
शिविरको पहिलो चरणमा भएको कार्यक्रममा जिल्लाका ३६ जना चालक र सहचालकले आँखा परीक्षण गरेको सामुदायिक आँखा केन्द्र रोल्पाका इञ्चार्ज रेणुका चौधरीले जानकारी दिइन्।
सवारी दुर्घटनाको एक कारण चालक र सहचालकको कमजोर आँखा पनि भएकाले यस्ता शिविरले दुर्घटना न्यूनीकरणमा भूमिका खेल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब निरीक्षक कृष्णबहादुर विकले बताए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका अनुसार जिल्लामा आर्थिक वर्ष ०७२/०७३ मा भएका २० वटा सवारी दुर्घटनामा ७ जनाको मृत्यु, १२ जना घाइते र २२ जना समान्य घाइते भएका थिए।
यसैगरी आव ०७३/०७४ मा भएका ३६ वटा सवारी दुर्घटनामा ५ को मृत्यु, २७/२७ जना गम्भीर तथा समान्य भएका थिए। चालू आवको हालसम्म भएका ८ वटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु, दुईजना गम्भीर घाइते र १० जना सामान्य घाइते भएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।