आठराई- तेह्रथुम आठराई गाउँपालिका–६ चुहानडाँडास्थित बोखिममा ५ वर्षदेखि फलामे खोरमा थुनिएका उदयनारायण दाहालको उपचारका लागि प्रवासी नेपालीबाट सहयोग रकम उपलब्ध भएको छ।
तेह्रथुम घर भई हाल साउदी अरबमा रहेका रामचन्द्र मैनालीको अगुवाइमा संकलित ३६ हजार रुपैयाँ दाहालको परिवारलाई हस्तान्तरण गरिएको छ।
सहयोग रकम आठराई गाउँपालिका–६ का वडाध्यक्ष तेजमान कन्दङ्वा र वडा सदस्य लक्ष्मीप्रसाद बास्कोटाले संयुक्त रुपमा उदयनारायणका बुबा चुँडामणि दाहाल र आमा मैना दाहाललाई हस्तान्तरण गरेका छन्।
सहयोग रकम हस्तान्तरण गर्दै वडाध्यक्ष कन्दङ्वाले दाहालको उपचार र उद्धारका लागि वडा कार्यालयबाट पनि सहयोग उपलब्ध गराउने बताए।
वैदेशिक रोजगारीका क्रममा २०६३ सालमा दुबई पुगेका दाहाल १० महिनापछि मानसिक सन्तुलन गुमाएर घर फर्किएपछि उपचारका लागि ५ लाख रुपैयाँ खर्च भइसकेको उनका बुबा चुँडामणि दाहालले बताए। आर्थिक रकमको अभावमा थप उपचार गर्न परिवारले नसक्ने भएपछि ३४ वर्षीय दाहाललाई परिवारले पाँच वर्षदेखि फलामको खोरमा राखेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।