इलाम- इलामको चियाबारी एफएममा कार्यरत दुई कर्मचारीमाथि आक्रमण र लुटपाट गर्ने ३ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम नगरपालिका ९ का १९ वर्षीय रविन मगर, इलाम नगरपालिका ६ का २२ वर्षीय मनोज मगर र एकतप्पा घर भएका १८ वर्षीय किशोर लिम्बु रहेका छन्। उनीहरुलाई प्रहरीले इलाम नगरपालिका ९ स्थित जंगलमा भाग्दै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक रमेश बस्नेतले जानकारी दिए। घटनामा संलग्न अर्का एक जना भने फरार छन्।
एफएमका बजार व्यवस्थापक कृष्ण पाठक र प्राविधिक प्रकाश न्यौपानेलाई बुधबार राति घर फर्कने क्रममा गोलबस्तीको पोखरी स्कुल छेउमा उनीहरुले आक्रमण गरेका थिए। सो समूहले व्यवस्थापक पाठकसँग रहेको नगद ४५ हजार र एक थान मोबाइल लुटेको थियो । त्यस्तै प्रविधिक न्यौपानेसँग रहेको सुनको सिक्री समेत उक्त समूहले लुटेको छ।
आक्रमणपछि न्यौपाने भाग्न सफल भए पनि पाठकलाई मरणासन्न हुने गरी कुटपिट गरीएको छ। उनको दाहिने हात, टाउको र खुट्टामा गम्भीर चोट लागेको छ। पाठकको झापाको बिर्तासिटी अस्पताल उपचार भइरहेको उनका बुबा नारदमणि पाठकले बताए। सञ्चारसंस्था आबद्ध कर्मचारीमाथि भएको आक्रमणप्रति चौतर्फी विरोध र दोषीलाई कडा कारबाहीको माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।