काठमाडौं– सरकारले नेपाल ट्रष्टको जग्गामा सञ्चालन भइरहेको गोकर्ण फरेष्ट रिसोर्टको समय अवधि २५ वर्षे थप गर्ने निर्णयसहित नयाँ १ सय वटा भिल्ला (साना भवन) समेत थप्न दिने निर्णय गरेको खुलासा भएको छ।
गत मंसिर २३ गते बसेको मन्त्रिपरिषद बैठकले पहिलो सम्झौता अवधि सकिन झन्डै ६ वर्ष बाँकी रहँदै यो निर्णय गरेको हो। नेपाल ट्रष्टको सञ्चालक बोर्डको सिफारिसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडो प्रस्तावमा उक्त निर्णय भएको हो। बोर्डले कात्तिक अन्तिम साता समय थप्न सक्ने आधारसहित समय थपको प्रस्ताव गरेको थियो। सोही प्रस्तावमा प्रधानमन्त्रीले उक्त प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत गराएका हुन्।
स्मरण रहोस् गोकर्ण फरेष्ट रिसोर्ट अहिले स्वर्गीय व्यवसायी आङछिरिङ शेर्पा परिवारको लगानी रहेको रहेको यति होल्डिङसले सञ्चालन गरिरहेको छ। यति होल्डिङसले २०६७ देखि सब–लिजमा लिँदै रिसोर्ट सञ्चालन गरिरहेको छ। नेपाल ट्रष्ट कार्यालय स्रोतका अनुसार थपिएको समयका लागि जग्गा भाडा भने घटेको छ। २०५२ साउनमा भएको सम्झौतामा अहिले ट्रष्टले २१ देखि २५ वर्षको अवधिमा पाउँदै आएको भाडामा भन्दा कममा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ।
सरकारले समय थपसँगै प्रतिरोपनी मासिक भाडा ७ सय २१ रुपैयाँ तोकेको छ। तर, यो रकम पहिलेको भन्दा आजको विनिमयदर अनुसार ३९ रुपैयाँले कम हो। पहिलो सम्झौता अनुसार २ हजार ९ सय ७१ रोपनी जग्गाको भाडा अहिले वार्षिक २ लाख ४० हजार डलर छ। राष्ट्रबैंकले तोकेको सोमबारको विनिमयदरअनुसार वार्षिक सरदर २ करोड ७१ लाख २० हजार रुपैयाँ हुन्छ। सोही आधारमा २ हजार ९ सय ७१ रोपनी जग्गाको मासिक भाडा २२लाख ६० हजार हुन्छ। सोही हिसाबमा मासिक प्रतिरोपनी जग्गाको भाडा भने ७ सय ६० रुपैयाँ हुन्छ।
यस्तो थियो पूरानो सम्झौताको कपि। योसँगै सरकारले वातावरणमा पनि प्रतिकूल असर पुग्ने गरी नयाँ संरचना थप्दै लगानी विस्तार गर्न दिने निर्णय गरेको स्रोतको भनाइ छ। सरकारले उक्त जग्गा भित्र नै रहने गरी थप १ सय वटा भिल्ला (साना भवन) बनाउने दिने निर्णय गरेको छ। यसरी थपिएको भवनको भाडा भने प्रतिवर्गफिट मासिक ७ सय रुपैयाँ रहने उल्लेख छ। यो रकम भने नयाँ हो। यसलाई नै सरकारले भाडा बढाएर दिन लागेको भनिएको छ। झन्डै २४ वर्ष अगाडि राजपरिवारको स्वामित्व र भोगचलनमा रहेको सो जग्गा राजपरिवारले एलएमसुबिर ब्रदर्स (नेपाल) प्रालिलाई ३० वर्षको अवधिसम्म गोकर्ण रिसोर्ट सञ्चालन गर्न लिजमा उपलब्ध गराएको थियो। उक्त समयमा जग्गाको प्रत्यक्ष रेखदेख दरबारमार्फत् नै हुथ्यो। दरबारले साविकको काठमाडौं जिल्ला गोकर्ण गाविसमा रहेको कित्ता नम्बर १४ र १५ को ३ हजार ९ सय ७१ रोपनी ३ पैसा ३ दाममध्ये २ हजार ९ सय ७१ रोपनी ६ आना ३ पैसा १ दाम क्षेत्रफलमा रिसोर्ट सञ्चालनका लागि सुम्पिएको थियो। राजपरिवारले गरेको सम्झौताको समयसीमा २०२५ अगस्ट १५ तोकिएको थियो।
यो पनि
गोकर्ण फरेष्ट रिसोर्टको समय थपः प्रधानमन्त्रीले प्रस्ताव गरे, मन्त्रीहरु हेर्याहेर्यै
प्रधानमन्त्रीको बलमा गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि नसकिँदै २५ वर्ष थपियो
नेपाल ट्रष्ट : स्वार्थ पूर्तिका लागि कसरी बदलियो कानुन, कसरी भत्काइयो संरचना?
सम्झौता सकिनुअघि नै गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि बढाउने तयारी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।