काठमाडौं- राम्रो कमाइ हुन्छ भन्ने सुनेपछि सुन्दर भविष्य कल्पँदै साउदी उडेका थिए चितवनका जलेश्वर महतो। तर ५ वर्षपछि २०७६ मंसिर २६ गते फर्कँदा उनीसँग लगाएको एकसरो कपडाबाहेक केही थिएन। त्यतिले पनि परिवारलाइ असिम खुसी दिएको थियो। कारण उनी साउदीमा मानिस मारेको अभियोगमा थुनिएका थिए र मृत्युदण्डको छेवैबाट बल्लतल्ल फुत्किएका थिए।
‘सबैले भन्थे तिम्रो छोरालाई अब विदेशको जेलमै मारिदिन्छन्, मेरो छोरा फर्केर आयो,’ जलेश्वर फर्किएपछि निकै हर्षित मुद्रामा आमा मुलई महतोले सुनाइन्।
२०७१ साउन ११ गते सिनामंगलस्थित जेआर म्यानपावर कम्पनीमार्फत् श्रम स्वीकृति लिइ साउदी उडेका जलेश्वर अल क्वारायत अल जउफ कम्पनीमा हेभी ट्रक चालकका रुपमा पुगेका थिए।
तर, त्यहाँ उनले सोचेजस्तो सहज भएन। कम्पनीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिएन। सिधै काममा लगाउन थाल्यो। बिना लाइसेन्स सवारी चलाउनु कानुनविपरीत हुन्छ भन्ने जलेश्वरलाई थाहा थियो। ‘मसँग नेपालको लाइसेन्समात्रै थियो, त्यहाँ ड्राइभिङ गर्न त्यहीँको लाइसेन्स चाहिन्छ, कम्पनीले लाइसेन्स नबनाइ काममा खटाएपछि मैले म्यानपावर कम्पनीलाई खबर गरिदिन भनेको थिएँ। म्यानपावरले बेवास्ता गर्यो,’ जलेश्वर भन्छन्।
म्यानपावरले आफ्नो कुरा नसुनेपछि कम्पनीले भने अनुसारको काम गरिरहेका थिए जलेश्वर।
एकदिन साउदीको मुख्य सडकमा ट्रक हाँकिरहेका थिए। भनिन्छ, ‘दशा बाजा बजाएर आउँदैन ।’ जलेश्वरको जीवनमा पनि त्यस्तै दशा आइलाग्यो। ‘मेरो ट्रकको पछाडी अचानक एउटा कार आएर ठोक्कियो, कारमा सवार व्यक्तिको घटनास्थलमै मृत्यु भयो। मलाई प्रहरीले समातेर लग्यो।’ दुर्घटनाको कथा सुनाउँदा जलेश्वर काँपिरहेका थिए।
‘मैंले उसको कारमा ठोक्काएको होइन। मेरो ट्रकमा उसको कार आएर ठोक्किएको हो,’ जलेश्वरले सुनाए। लाइसेन्सविना ट्रक चलाएको मान्छेको कुरा कसले सुन्ने? त्यहाँनेर जलेश्वरकै गल्ती देखियो।
साउदीको कानुनअनुसार हत्याको अभियोग लागेका व्यक्तिलाई मृत्युदण्डको सजायँ हुन्छ। पीडित पक्षका आफन्त वा परिवारले माफी नदिएसम्म कसैको केही उपाय लाग्दैन।
‘मेरो बाँकी जीवन मृतकका आफन्तका हातमा थियो। उनीहरुले फाँसी नै दिनुपर्ने अडान राखेका भए फाँसी चढ्नुको विकल्प थिएन। जिन्दगी अब यतिसम्मका लागि मात्रै रहेछ भनेर सोचिसकेको थिएँ,’ जलेश्वरले भने।
उनलाई विना लाइसेन्स काम लगाउने कम्पनीले पनि साथ दिएन। उल्टै सोझा जलेश्वरमाथि घात गर्यो। मेरो कम्पनीबाट भागेर सवारी चलाएको भन्ने पत्रमा जलेश्वरलाई हस्ताक्षर गराएर कम्पनी पन्छियो। मृतकका परिवार ब्लडमनीमा सहमत भएपछि अदालतले जलेश्वरलाई २ महिना कैदसहित ३ लाख साउदी रियाल ९९० लाख नेपाली रुपैयाँ भन्दा बढी० जरिवाना तिनुपर्ने आदेश सुनायो।
उनी मृत्युदण्डबाट त बँचे। तर, साहुबाट २ लाख रुपैयाँ ऋण लिएर परदेश हिँडेका जलेश्वरका लागि जेलबाट मुक्त हुन ९० लाख रुपैयाँ कसरी जुटाउने? सोच्नै नसक्ने कुरा थियो।

यता तिम्रो छोरालाई फाँसी दिएर मार्छन् रे भन्ने खबरले विक्षिप्त बनेकी जलेश्वरकी आमा वडा कार्यालय, जिल्ला हुँदै सिंहदरबारको ढोकासम्म पुगिन्। सरकारी निकाय कतैबाट सहयोग नहुने भएपछि उनी रित्तै फर्किइन्। ‘छोरा परदेशको जेलमा, आफू रुँदै हिंडे, जलेश्वरको बुबा धेरै सोझो हुनुहुन्छ। उहाँलाई यस्ता केही कुरा थाहा हुँदैन’ आमा मुलईले सुनाइन्।
जेल सजायँ भुक्तान अवधि २ महिना सकियो। ब्लडमनी नहुँदा जलेश्वर जेलमै बस्नुपर्ने बाध्यता भयो। परदेशको विरानो ठाउँ त्यसमाथि पनि जेलको भुँइमा। उनका लागि सहज थिएन। ‘म भएको जेलमा अर्का एकजना नेपाली पनि हुनुहुन्थ्यो, बडो मुस्किलले जीवन चलिरहेको थियो‚’ उनले सुनाए।
पछि मृतकका परिवारले ब्लडमनीको आधा रकम मिनाहा गरिदिए। उनले १ लाख ४८ हजार ९ सय ५८ साउदी रियाल अर्थात् ४२ लाख ६० हजार १ सय ९८ रुपैयाँ क्षतिपूर्ति तिनुपर्ने भयो। सुकुम्बासी परिवारका लागि ४२ लाख जम्मा गरेर छोरालाई साउदी जेलबाट निकाल्ने काम सहज थिएन। तर, सामाजिक संस्था मिसन चितवनले जलेश्वरको पारिवारिक अवस्था देखेर जलेश्वर बचाउ अभियान सुरु गर्यो। गत असार १८ गते मिसन चितवनको पहलमा ३८ लाख १५ हजारको चेक जलेश्वरका बुबा सुकराम महतोलाई हस्तान्तरण गरियो।
बाँकी रकम गैरआवासीय नेपाली संघ साउदीले सहयोग गर्यो। परराष्ट्र मन्त्रालय हुँँदैँ दूतावासमार्फत् अदालतमा पेश भएपछि जेलमै ३ वर्ष बिताएका जलेश्वर गत मंसिर २६ गते नेपाल फर्किए।
‘जेठो छोराले हामीलाई छाडेर गइहाल्यो, कान्छो छोराको बाटो कुर्दाकुर्दा बल्ल आइपुग्यो’, छोरालाई लिन काठमाडौं आएकी आमाले मुस्काउँदै भनिन्।
जलेश्वरका दाइ छुट्टिएर बेग्लै बस्छन्। ‘अब छोरालाई बाहिर पठाउँदैनौं,’ आमा मुलई भन्छिन्, ‘बरु पैसा चाहिँदैन। सकुन्जेल दुःखसुख यही गर्छ छोराले।’
‘सबैको सहयोगले मुस्किलले बाँचेर फर्कन पाएँ, पहिलो विदेशयात्रा नै मेरो लागि राम्रो भएन,’ जलेश्वर भन्छन्, ‘बरु सुखदुःख अब नेपालमै काम गर्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।