इटहरी- झापाको दमक नगरपालिका-८ मा ५० बिघा जग्गा किर्तेका आराेपी नेकपा नेता गगन पुरी प्रहरीको फरार सूचीमा छन्।
राजमार्गको दक्षिणतर्फको नेकपा नगर पार्टी कार्यालयसँगैको जग्गा पुरीले किर्ते गरी आफ्नो नाममा दर्ता गराएका हुन्।
बालुवाटार नामले चिनिएको जग्गा उनले मालपोत र नापी कार्यालयका कर्मचारीसँगको मिलेमतोमा दर्ता गराएको पाइएको हो। तत्कालीन माओवादी केन्द्रबाट दमक नगरपालिकाका मेयरका उम्मेदवार पुरीको समूहले मालपोतको ढड्डामै पाना थपेर किर्ते प्रमाण बनाएको पाइएको छ।
२०४० सालभन्दा अघि सो जग्गामा करिब ८८ परिवार सुकुम्बासीको बसोबास थियो। सुकुम्बासीलाई धनीपुर्जा दिने प्रक्रिया अगाडि बढिरहेको अवस्थामा रतुवा खोलाले कटान गरी बस्ती बगाएको थियो। त्यसपछी सुकुम्बासीहरुलाई स्थानान्तरण गरी अन्यत्रै सारिएको थियो। हाल सो जग्गालाई बाँध बाधेर सुरक्षित गराइएको छ।

पुरीले नापी र मालपोतका कर्मचारीहरुको मिलेमतोमा मालपोतको ढड्डामा विगत चार वर्षको बीचमा विभिन्न व्यक्तिको नाम चढाएर जग्गा लिन खोजेको अनुसन्धानमा खुलेको छ। सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउनका लागि नापी कार्यालय र मालपोत कार्यालयको ढड्डामा पाना समेत थप गरिएको छ। नापी र मालपोत कार्यालयका खातामा पाना थप्न लगाएर सो अनुसारको किर्ते धनीपुर्जा बनाइएको हो।
पुरीले किर्ते गरेको विषय बाहिर आएपछी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको थियो। खोला किनारको सार्वजनिक जग्गाको कित्ता नम्बर नै परिवर्तन गरेर गगनको समूहले लिएको कुरा सिआइबीको छानबिनमा देखिएको छ।

जग्गा किर्ते गर्ने र गर्न सघाउने ६ जनालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा दमक नापीका कर्मचारी बिनोद मण्डल, कृष्णप्रसाद भट्टराई, पथरीका ओमप्रकाश पौडेल, दमक-८ का वेदबहादुर पौडेल, सोही नगरपालिकाका कर्मचारी दलबहादुर खत्री र मोहन ओली थिए। उनीहरुलाई झापा जिल्ला अदालतले जनही तीन लाख ७५ हजार धरौटीमा रिहा गरेको छ।
पुरीले आफ्नो नाममा ल्याएकोमध्ये ११ बिघा जग्गा पौडेलको नाममा पास गराएका छन्। तीन कित्तामा छुट्याइएको जग्गामध्ये कित्ता नम्बर ७४ को जग्गा पौडेलको नाममा देखिएको छ। पौडेलले आफूलाई त्यसमध्येको दुई कठ्ठा दिने र आफ्नो नाममा ल्याउने सर्तमा पास गरेको प्रहरीलाई बयान दिएका थिए। उनको नाममा १३ बिघा जग्गा देखिएको छ।
हाल गगन पुरीका दाजु दिलकुमार पुरी पक्राउ परेका छन्।
सिआइबीले गगनको घरमा छापा मारे पनि उनी फरार छन्। हाल उनी वारेसमा वकिल राखेर पक्राउ पर्नबाट बचिरहेका छन् ।

पुरीको गगन पुरी र रेवतराज पुरीको नाममा दुईवटा नागरिकता समेत भएको खुलेको छ। दोहोरो नागरिकताको विषयमा उनी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ। पुरी नेकपाको प्रदेश १ कमिटी सदस्य हुन्। उनी नेकपाका अध्यक्ष पुष्पकमल दाहालनिकट मानिन्छन्।
पार्कको नाममा ठगी
दमकमा विश्वस्तरीय पार्क बनाउने भन्दै प्रचार गरेका थिए। अजेयराज सुमार्गी, प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारी, नेकपा केन्द्रीय सदस्य देवेन्द्र दाहाल, दमकका स्थानीय ठेकेदार गणेश बस्नेतको संलग्नातामा पार्क बन्न लागेको भनी उनले प्रचार गर्दै आएका थिए। त्यही किर्ते गरिएको जग्गामा करीब १६ अर्ब रुपैयाँ लगानीमा पार्क बनाइने भएको थियो।
फरार रहेका पुरीले नेपाल बाहिर बसेर फेसबुकमार्फत् प्रहरीलाई धम्की दिइरहेका छन्। उनले जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्र श्रेष्ठ, एसपी, डिआइजीलाई धम्कीको भाषामा स्टाटस लेखेका हुन्। ‘डिआइजी साब/एसपी साब मेरो कल रिसिभ गर्नुहोस्।’ ‘डिएसपी महेन्द्र जी पोलिटिक्स गर्ने हो?’ ‘दमक डिएसपी तपाईं कुन आशयले दमक आउनु भो?’ जस्ता स्टाटस लेखेर प्रहरी अफीसरलाई नै धम्क्याउने गरेका थिए।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।