काठमाडौं– विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) संक्रमणको आवरणमा सरकारले वैदेशिक रोजगार ऐन २०६४ संशोधनको तयारी गरेको छ।
मन्त्रिपरिषदको चैत १६ गतेको बैठकले वार्षिक रुपमा एक सय कामदार वैदेशिक रोजगारीमा नपठाउने म्यानपावरहरु खारेज हुने व्यवस्था हटाउने निर्णय गरेको हो।
उक्त निर्णयको बुँदा नम्बर ७ (ङ) मा भनिएको छ, ‘वैदेशिक रोजगारीमा १०० जना कामदार नपठाएकै कारणबाट इजाजतप्राप्तवाला संस्थाहरु खारेजी हुने हालको व्यवस्थालाई हटाउन वैदेशिक रोजगार ऐन २०६४ मा संशोधन प्रकृया अगाडि बढाउने ।’
गत वर्ष सरकारले वैदेशिक रोजगार ऐन २०६४ र वैदेशिक रोजगार नियमावली (पाचौँ संशोधन) गरी म्यानपावर कम्पनीको इजाजत नवीकरणका लागि पछिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तीमा एक सय जना कामदार पठाउनुपर्ने व्यवस्था गरेको छ। १ सय कामदार पठाउन नसके स्वतः इजाजत खारेज हुने व्यवस्था छ।
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको कार्यकालमा आएको यो व्यवस्थाप्रति म्यानपावर व्यवसायीहरुले विरोध गर्दै आएका थिए।
वैदेशिक रोजगारीमा कामदार पठाउने आडमा च्याउसरी खुलेका म्यानपावर कम्पनीहरुमार्फत् अवैध रुपमा कामदार ठगी गर्ने क्रम बढेपछि म्यानपावर छाँटकाँट गर्न सरकारले यस्तो व्यवस्था ल्याएको थियो।
सरकारले एकतर्फी रुपमा ऐन संशोधन गरेको भन्दै खारेजको माग राख्दै म्यानपावर व्यवसायीले शक्तिकेन्द्र धाउँदै आएका थिए।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय लिखित रुपमा मन्त्रालयमा आइनसकेको जनाएको छ।
तर लामो समयदेखि लविङमा रहेको ऐन संशोधनको पाटो कोरोनाका कारण सहज बनेको मन्त्रालयका एक अधिकारीले नेपाल लाईभलाई बताए।
‘लामो समयदेखि यो विषय विवादित बन्दै आएको थियो । कोरोनाको चपेटामा परेको अवस्थालाई मध्यनजर गर्दै सरकारले गरेको निर्णयले म्यानपावर व्यवसायीलाई मौकामा चौका मिलेको छ’ ती अधिकारीले नेपाल लाईभसँग भने ।
यसै विषयलाई लिएर यतिबेला म्यानपावर व्यवसायीहरु भने निकै हर्षित देखिएका छन्।
वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तथा सल्लाहकार रोहन गुरुङ फेसबुकमा लेख्छन्, ‘१०० जना कामदार विदेश नपठाए लाइसेन्स नवीकरण नहुने ऐनको व्यवस्था हटाउने सहयोगका लागि कोभिड १९ लाई धन्यवाद।’

यसै विषयलाई लिएर कतिपय म्यानपावर व्यवसायीहरु सामाजिक सञ्जालमार्फत एकअर्कालाई आरोपप्रत्यारोप गरिरहेका छन् ।
संघका पूर्वअध्यक्ष रोहन गुरुङको भनाईलाई खण्डन गर्दै संघका सचिव मेघनाथ भुर्तेल लेख्छन्, ‘सल्लाहकार तथा पूर्वअध्यक्षज्यू हजुरजस्तो जिम्मेवार व्यक्तिले यो निर्णय जसले गरायो, जसरी भयो सही समयमा सही निर्णय भयो भन्नु उचित होला कि? यस्तो गैरजिम्मेवारी अभिव्यक्ति अलि सुहाएन कि?’

पूर्वअध्यक्ष गुरुङको प्रतिक्रियालाई खण्डन गर्दै अर्का एक व्यवसायी लेख्छन्, ‘कोभिड १९ लाई बधाई दिनु जरुरी छैन नेता ज्यू । अहिलेको विष्णु गैह्रेको उल्लेखनीय भूमिका छ। बधाई कोभिड १९ होइन वैदेशिक रोजगार व्यवसायी संघलाई दिने हो। तपाईँले त सक्नु भएन सक्नेलाई हौसला दिन सक्नुपर्छ ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।