काठमाडौं- जापानी ब्रान्ड माज्दाका गाडी अब नेपाली बजारमा पारामाउन्ट मोटर्सले बिक्री गर्ने भएको छ। यसअघि आधिकारिक बिक्रेताको रूपमा रहेको पद्मश्रीबाट खोसिएको माज्दाको नयाँ बिक्रेता तय भएको हो।
गएको फागुन २८ गते माज्दा जापानले नयाँ बिक्रेता आह्वान गर्दै सार्वजनिक सूचना निकालेको थियो। बिक्री गर्दै आएको पद्मश्री प्रालीबाट भने खोसिएको छ। यसअघि माज्दाको आधिकारिक बिक्रेता पद्मश्रीका अध्यक्ष रोहिणी थपलियाबाट खोसिएको हो।
विगत लामो समयदेखि माज्दा बिक्री गर्दै आएको रोहिणी थपलियाको पद्मश्री प्रालिबाट आधिकारिक बिक्रेता खोसिनुलाई व्यवसायिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको थियो।
पछिल्लो समय नेपाली बजारमा सवारी बिक्रेताहरुको डिलर खोसिने क्रम तीव्र भएको छ। सवारी व्यवसायमा राम्रो नाफा हुने भएकाले व्यवसायिक घरानाहरु ब्रान्डेड सवारी ब्रान्ड हत्याउन लागिरहेका छन्।
यस्तैमा विविध कारणले पद्मश्रीबाट खोसिएको माज्दा ब्रान्डको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स तोकिएको छ। माज्दा जापानले पारामाउन्ट मोटर्सलाई लकडाउनका बीच नेपालका लागि आधिकारिक बिक्रेता तोकेको हो।
'कम्पनीले आधिकारिक रूपमा नेपाल हेर्ने गरी जिम्मा दिएको चिठी आएको छ,' पारामाउन्ट मोटर्सका एक अधिकारीले भने, 'औपचारिक हस्ताक्षर कोरोनाको संकट टरेपछि हुनेछ र गाडी पनि त्यसपछि नै आउनेछ।' योबीचमा कम्पनीले योजनाका कामहरू गर्ने ती अधिकारीको भनाइ छ।
पद्मश्रीले २०७४ चैतदेखि २०७५ को पुससम्मको १० महिनामा ७ वटा गाडी नेपाल भित्र्याएको थियो। तर त्यसको ठीक अर्को वर्ष अर्थात् २०७५ को चैतदेखि २०७६ को पुससम्मको १० महिनाम जम्मा एउटा गाडी नेपाल भित्र्याइएको तथ्यांक भन्सारसँग छ।
पारामाउन्ट मोटर्सले हाल नेपाली बजारमा एमजी (मोरिस ग्यारेज)का कार बिक्री गर्दै आएको छ। यो ब्रान्ड पारामाउन्ट मोटर्सले केही वर्षअघि मात्र लिएको हो। पारामाउन्टले आधिकारिक बिक्रेता पाउनुअघि एमजी एसएलआर टेक्नो एन्ड ट्रेडले बिक्री गर्दै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।