काठमाडौं– मलेसियामा जारी यू-१६ इस्ट जोन कपमा नेपालले उपाधिका लागि सिंगापुरसँग भिड्ने भएको छ।
भर्खरै सकिएको दोस्रो सेमिफाइनलमा सिंगापुरले हङकङलाई हराएर फाइनलमा स्थान बनाएको हो।
पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभरमा सबै विकेट गुमाएर १६८ रन जोडेको थियो। जवाफमा सिंगापुरले ३८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो।
यसअघि पहिलो सेमिफाइनलमा नेपालले आयोजक मलेसियालाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो। नेपाल र सिंगापुर एकै समूहमा रहेका थिए। समूह चरणको खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो।अब नेपालले आफ्नै समूहबाट उप-विजेताका रूपमा सेमिफाइनलमा पुगेको सिंगापुरसँग फाइनल खेल्नेछ।
गत संस्करणको फाइनलमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो। फाइनलमा नेपालले मलेसियामाथि २ सय २१ रनको जित निकालेको थियो। नेपाल र सिंगापुरबीचको फाइनल खेल आगामी शनिबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।