फोटो: theprint.in रोगले व्यक्ति व्यक्ति बीचको फरक छुट्याउँदैन। सबैका लागि रोग खतरनाक बिषय नै हो। अहिले वैश्वीक समस्याका रुपमा सिर्जित कोरोना संक्रमण पनि त्यसैगरी उन्मत्त रुपमा मानिसमाथि आक्रमणको अभियानमा तीव्रताका साथ दौडिएको छ। संसारभर आफ्नो उपस्थिति देखाइसकेको यो भाइरसले नेपालमा पनि डरलाग्दो उपस्थिति देखाउन थालेको छ।
निरन्तरको लकडाउनले ५१ दिन काटिसकेको छ। सामाजिक दूरी बनिहेको पनि छ। संक्रमणवाट बच्नका लागि सामाजिक दूरी कायम गर्नु नै उत्तम विधिका रुपमा संसारभर लिइएको छ। तर, यति हुँदाहुदै पनि संक्रमितको संख्या बढ्दो छ। बिहीबार बिहानसम्म २ सय ५० पुगिसकेको छ।
अब नेपालमा पनि परीक्षणको दायरा बढाउन आबश्यक छ। सामाजिक दूरी बनाइराख्न आवश्यक छ। शंकास्पदलाई प्राथमिकतामा राखेर परीक्षण गर्न आवश्यक छ। यतिमात्र होइन, बढी जोखिममा भएको वर्गको पहिचान गरेर उनीहरुको अलग सूची र अलग परीक्षणको व्यवस्था गर्न आवश्यक छ।
स्वास्थ्य परीक्षणका लागि आवश्यक किटहरुको उपलब्धता र गुणस्तरीयताका बारेमा पनि प्रश्न उठेको छ। यो कुरामा पनि सरकार गम्भीर हुन आवश्यक छ। अब यही ढंगले लकडाउनको घोषणा र यही ढंगलको तयारीले मात्र पुग्ने अवस्था छैन।
पत्रकारहरु यस्तो संकटका समयमा सही सूचना मार्फत कोरोना विरुद्धको लडाइमा अग्रपंक्तिमा छन्। सही जानकारी र सरोकारवाला निकायको प्रयासहरुका बारेमा जानकार भएमा मात्र नागरिकहरु ढुक्कसँग लकडाउनको पालना गर्न सक्ने अवस्थामा रहन्छन्। नेपाली मिडियाले यतिबेला यस्तो दायित्व पनि निर्वाह गर्दै आएको छ। यतिबेलाको भूमिका साँच्चै नै प्रशंसनीय छ।
पत्रकारहरु पनि संक्रमणको जोखिममा रहेको वर्ग हो। परीक्षणका पछिल्ला नतिजा अनुसार कम्तिमा तीन जना पत्रकारहरुमा संक्रमण देखिएको छ। दैनिक खट्ने पत्रकारहरुमा संक्रमण देखिएको छ। नर्समा पनि देखिएको छ। सुरक्षाकर्मीमा पनि देखिएको छ। यी सबै वर्ग ‘फ्रन्टलाइनर’ हुन्।
यी वर्ग फ्रन्टलाइनमा नउभिँदा लडाइँ नै कमजोर हुने छ। तसर्थ उनीहरुको सुरक्षाको बारेमा राज्यका संरचनाहरुले विशेष योजना बनाउन पर्छ भने सतर्कताका लागि उनीहरु आफैले विशेष ध्यान पुर्याउनु पनि पर्छ।
यहाँ पत्रकारको सतर्कताको चर्चा गर्न खोजिएको हो। त्यस्तो सतर्कता दुई रुपले गर्न पर्ने हुन्छ।


पहिलो त पत्रकारहरुले आफ्नो कर्मलाई विशिष्ट परिवेशमा कसरी गर्ने र नागरिक, समाज, राष्ट्र र विश्वलाई नै कसरी सही सूचना दिएर संकटका विरुद्ध संसारको जनमत एक बनाउन सकिन्छ भन्ने तर्फको सजगता हो। यो सामाजिक उत्तरदायित्वको सिद्धान्तमा टेकेर खेल्नुपर्ने भूमिका हो। यस्तो भूमिका खेल्नका लागि पत्रकार महासंघले एउटा गाइड लाइन समेत तयार गरेर सार्वजनिक गरेको छ। विश्व स्वास्थ्य संगठनको गाइड लाइनलाई आधार मानेर नेपाली सन्दर्भमा त्यसलाई ढालेर बनाइएको गाइड लाइनमा निम्न कुराहरुलाई ध्यान दिएर पत्रकारिता गर्न सुझाइएको छः
• भाइरसलाई कुनै देश, क्षेत्र वा समुदायसँग मात्र जोडेर लेख्ने, बोल्ने, देखाउने नगरौं।
• आधिकारिक स्रोत र विषयविज्ञहरुबाट मात्र सूचना लिऔं।
• शंकास्पद कोरोना संक्रमित जस्ता शब्द प्रयोग नगरौं। संक्रमितको व्यक्तिगत गोपनियतामा असर पुग्ने गरी समाचार सम्प्रेषण नगरौं।
• कसैलाई पनि उसका कारणले कोरोना सर्न सक्ने वा उसले कोरोना फैलाउन सक्ने भन्ने जस्ता लाञ्छना नलगाऔं।
• अनाधिकृत सूचना वा हल्लाहरुलाई सञ्चार माध्यममा स्थान नदिऔं र आफ्ना व्यक्तिगत सामाजिक सञ्जालहरुमा पनि शेयर नगरौं।
• कोरोना भाइरस रोकथाम तथा उपचारका बारेमा सकारात्मक समाचारहरुलाई प्राथमिकता दिऔं।
• सबैभन्दा जोखिममा रहेका समुदाय र व्यक्तिको सुरक्षाका लागि अन्य निकायसँग सहकार्य आवश्यक छ।
• शीघ्र स्वास्थ्य जाँच र उपचारले हुने फाइदाका बारेमा पनि प्रकाशन प्रसारण गरौं।
• गलत प्रचारले त्रासलाई झन् बढी फैलाइरहेको छ। त्यसैले संक्रमणबारे सत्यतथ्य बुझ्ने प्रयास गरौं र अरुलाई पनि बुझाऔं। रोकथामका उपायहरुको प्रचार प्रसार गरौं।
• संक्रमणलाई थप फैलिनबाट रोक्न र बढी संक्रमणमा रहेका समुदाय वा क्षेत्रमाथि हुनसक्ने अस्वाभाविक विभेद कम गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण छ। संक्रमणविरुद्ध अग्रभागमा रहेका (स्वास्थ्यकर्मी, स्वयंसेवी आदि) प्रति सहयोग पुग्ने र उनीहरुलाई प्रोत्साहन हुने खालका समाचार सम्प्रेषण गरौं।
• भ्रामक सामग्रीलाई खण्डन गर्ने खालका सूचना सम्प्रेषण गरौं।
• शब्द प्रयोगमा ध्यान दिऔं।
• कोरोनाको उपचार र रोकथाममा संलग्न स्वास्थ्यकर्मी र अग्रपंक्तिमा काम गर्ने अन्य अहिलेका ‘हिरो’ हुन्। उनीहरुलाई सम्मान गरौं र उनीहरुका सकारात्मक समाचार सामग्री सम्प्रेषण गरौं।
• कोरोनाको महामारी फैलिनबाट रोक्न र यस प्रक्रियामा योगदान गरेका नागरिक, नागरिक संस्था, सरकारले गरेका सकारात्मक कार्यहरुलाई मिडियामा उचित स्थान दिने गरौं। यसले अन्य व्यक्ति र निकायलाई पनि यस प्रक्रियामा लाग्न प्रोत्साहन गर्न सकोस्।
दोस्रो सतर्कता भनेको हाम्रो आनीबानीमा पूर्ण नियन्त्रण राख्ने नै हो। पत्रकारिता कर्म आफैंमा जोखिमपूर्ण पेशा त हो नै। यो पेशाको धर्म निर्वाह गर्नका लागि समूह, समुदाय र भिडभाडमा समेत जानुपर्ने बाध्यता हुन्छ। त्यो अवस्थामा संक्रमण सर्ने र सार्ने दुवै खतरा उत्तिकै हुन्छ। त्यसकारण संकटको यो विशिष्ट परवेशमा काम गर्दै गर्दा पत्रकारहरुले आफ्नो सुरक्षालाई पनि विशेष ध्यान दिन आबश्यक पर्दछ। स्वस्थ्य र सुरक्षित पत्रकारले मात्रै समाजलाई लाभान्वित बनाउन सक्छ। त्यसकारण भन्ने गरिन्छ, जोखिम त्यतिसम्म मात्र मोल, जहाँसम्म पुग्दा तिमी धेरै कुराहरुवाट सुरक्षित रहन्छौं।
अहिलेको अवस्थामा पनि पत्रकारहरुले यो ढंगले आफूलाई पेश गर्नुपर्ने हुन्छ। क्वारेन्टाइन र आइसोलेसनका समाचारहरु निःसन्देह समाचारका विषयबस्तु हुन्। तिनको गुणस्तरीयतादेखि त्यहाँ बस्नेको सहज अनुभव समाचार हुन्। ती समाचारले सुधारका लागि सरोकारवालाको ध्यान खिच्न मद्दत पनि गर्दछन्। तर, त्यहाँ पुगेर आफू असुरक्षित हुने जोखिम भने यस्तो बेला पत्रकारहरुले मोल्न हुँदैन। पिपिईको अभावमा ती स्थानमा उपस्थितिको चाहना राख्नु पनि उचित हुँदैन।
यस्तो अवस्थामा पत्रकारहरुले ध्यान दिनुपर्ने कुराहरुलाई बुँदागत रुपमा यसरी हेर्न सकिन्छः
• कार्यस्थल (कार्यालय वा फिल्ड) मा जाँदा रोकथामका आधारभूत उपायहरु अपनाऔं।
• सकेसम्म इमेलमार्फत् सबै प्रकारका समाचार सामग्रीहरु पठाउने उपाय गरौं।
• सञ्चारगृहहरुले सम्भव भएसम्म घरबाटै काम गर्ने वातावरण मिलाऔं।
• अत्यावश्यक बाहेकका भेटघाटहरु नगरौं।
• समाचार स्रोतसँग पनि फोन, सामाजिक सञ्जालजस्ता प्रविधिको प्रयोग गरेर सूचना ल्याऔं।
• प्रविधिको उच्च प्रयोग गरौं।
• सामाजिक दूरी कायम गर्ने कुरामा कुनै पनि हालतमा समझौता नगरौं।
• कतै हाम्रा कारणले भिडभाड त हुँदैछन्? हाम्रो उपस्थिति र समाचार सामग्रीको नियमित समीक्षा गरौं।
• पिपिई बिना संक्रमितहरु रहेका स्थानहरुमा नजाऔं।
• माक्स, सेनिटाइजर, ग्लोब्सको निरन्तर प्रयोग गरौं।
• अनलाइन छलफलहरुका माध्यमबाट पत्रकारहरुले गरिरहेका ‘बेस्ट प्राक्टिस’को बारेमा जानकारी आदानप्रदान गरौं।
• समय समयमा साबुन पानीले हात धुने गरौं।
• अनावश्यक रुपमा हातले आँखा, नाक मुख छुने नगरौं।
• भेटघाटमा हात मिलाउने अंकमाल गर्नेभन्दा नमस्कार गर्ने गरौं।
• सरकार वा आधिकारिक निकाय तथा संस्थाहरुले जारी गर्ने सूचना र जानकारीलाई आधार मानौं।
पत्रकार आफैं पनि उल्लेखित दुई तरिकाले सुरक्षित हुन जरुरी छ भने सरोकारवालाहरुले पत्रकारहरुको यो अवस्थालाई बुझेर सूचना दिनका लागि सहज बनिदिनुपर्ने आवश्यकता पनि जरुरी छ। भरसक सूचना नदिने, एकद्वार प्रणाली भन्दै सबै अधिकारीहरु पन्छिने, सरोकारवालाहरुको फोन नै नउठ्ने, सोसल मिडियामार्फत समय समयमा सूचना सार्वजनिक गर्ने अभ्यास नियमित बन्न नसक्ने जस्ता समस्याले सूचना प्रवाहमा समस्या उत्पन्न हुने गरेको छ। यस तर्फ राज्यका संयन्त्रहरुले पनि आफूलाई जिम्मेवार बनाउन आवश्यक देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।