हिजोको कुरा हो।
टिभी स्क्रिनमा मोटो अक्षरमा आइरहेको थियो- 'भारत का खाओगी, चीन का गाना गाओगी?' अर्थात् भारतको खाना खाने, चीनको गीत गाउने? यसपछि सुरु हुन्छ, अभिनेत्री मनिषा कोइरालामाथि तीन कार्यक्रम प्रस्तोताको हमला, जो हरेक दिन बिहानै एबिपी न्युजमा ‘नमस्ते भारत’ कार्यक्रम प्रस्तुत गर्छन्। सन्दर्भ थियो, कालापानी, लिम्पियाधुरा तथा लिपुलेकलाई आफ्नो भू-भाग बताउँदै नेपालद्वारा जारी गरिएको नक्साका सन्दर्भमा नेपाली विदेशमन्त्री प्रदीप ज्ञवालीको ट्विटमा मनिषा कोइरालाको रिट्विट। जहाँ मनिषाले लेखेकी थिइन्– हाम्रो सानो राष्ट्रको गरिमा कायम राखेकामा धन्यवाद। तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको अपेक्षा छ।
मात्र, यत्ति। अत्यन्त शालीन भाषामा एक नागरिकले आफ्नो देशको सम्प्रभूता र आत्मसम्मानलाई रेखांकन गर्ने यो टिप्पणी।

प्रस्तोता विकास भदौरियाले भने, 'भारतमा रहँदा मनिषालाई अथाह पैसा र चर्चा प्राप्त भयो। तर उनी आज भारतविरुद्ध चीनसँग उभिएकी छिन्। भदौरियाले भने- 'खाते भारत का हैं, और गीत चीन के गाते हैं (खाने भारतको अनि गीत चिनको गाउने)।' यी समाचार च्यानलको बौद्धिक दरिद्रताले हैरान बनाउँछ।
के अब पढालेखा जस्ता व्यक्तिको अस्तित्व यी च्यानलमा छैन? के मूर्खहरुको जमातले नै सबथोक तय गरिरहेको छ, के प्रशारण हुनुपर्छ, के हुनुहुँदैन? या हरेक च्यानलमा जो गन्नेमान्ने पढालेखा मान्छे छन्, उनीहरु चुप रहन अभिशप्त छन्?
यो सवालको जवाफमा मेरा एक युवा पत्रकार मित्रले बताए कि मोदी सरकार आएपछि, खासगरी जेएनयू प्रकरणपछि ‘राष्ट्रभक्त’ र ‘राष्ट्रद्रोही’वाला जुन एक बृहत् 'न्यारेटिभ' बन्यो, त्यसमा हरेक समाचारलाई फिट गर्नुपर्ने अवस्थाको यो उदाहरण हो। एक यस्तो मानक बनेको छ कि समाचार यसरी प्रस्तुत गरियो भने संस्थापन पक्ष भइरहिइन्छ। जसलाई साँच्चिकै पत्रकारिता गर्नुछ, उनीहरुले यी च्यानलभन्दा बाहिर कहीँ विकल्प खोजून्।
दिउँसो भइरहँदा यो समाचार बहसको रुप लिने तयारीमा लागिसकेको थियो। जुन सामान्यतया च्यानलको चलन भइसकेको छ। यतिबेला समाचारको बागडोर च्यानलका सवैभन्दा बुझक्की र अनुभवी प्रस्तोता रोमाना ईसार खानको हातमा थियो। तर रोमानाको पनि नजरिया उस्तै देखियो, जुन बिहानी शर्तमा देख्न पाइएको थियो। रोमानालाई पनि त्यस्तै लागिरहेको थियो कि मनिषालाई भारतले सवथोक दियो तर उनी आज चीनसँग उभिएकी छिन्।
एक बुझक्की प्रस्तोता कसरी सत्ताको दबाबमा जानी-नजानी मुर्खताको दलदलमा धसिँदै जान्छ? यसको महत्वपूर्ण उदाहरण रोमाना हुन्। रोमानाको सवाल थियो, 'पहिलोपल्ट नेपाल भारतको आँखामा आँखा जुधाउने कोशिस गरिरहेको छ, यस्तो के भयो?’ यो वाक्य कुनै पत्रकारको होइन। सानो छिमेकी देशको सम्प्रभुतामाथि औंलो ठड्याइरहेको कुनै शासकवर्गको सदस्य हुन सक्छ।
यस कार्यक्रममा दुई विशेषज्ञ थिए- भाजपाका प्रेम शंकर शुक्ला र सेनाका अवकाश प्राप्त मेजर जनरल जी. डी. बख्शी। दुवैलाई केही थाहा नै थिएन नक्साको वास्तविकता के हो ? तर चीन र पाकिस्तानविरुद्ध त बिना कुनै तयारी कुनैपनि समयमा बोल्न सकिन्छ! दुवैले चिनियाँ षड्यन्त्रलाई प्रकाश पारे र जनरल बख्शीले यसलाई लिएर विगतका सरकारलाई सरापे। उक्त सरकारले जेएनयूबाट वामपन्थीलाई पठाएर नेपालमा माओवादीलाई बलियो बनाइदियो। जसको परिणाम आज हामीले भोग्नुपरिरहेको छ। उनले 'पृथ्वीकै एक मात्र 'हिन्दू राष्ट्र'लाई जोगाउनका लागि गुहार माग्दै आफ्नो ज्ञानको सिमितताको समेत खुलासा गरे। अर्का ज्ञानी प्रेम शंकर शुक्लाले यही कुरामा जोड दिएर नेपालका माओवादी नेता प्रचण्डको पालनपोषण भारतको जेएनयूमा भएको दाबी गरे।
प्रचण्डको कहिल्यै जेएनयूसँग कुनै सरोकार थिएन। निशंकोच, बाबुराम भट्टराईले जेएनयूबाट पिएचडी गरेका हुन्। कार्यक्रम प्रस्तोता रोमानालाई लागिरहेको थियो कि उनीहरुलाई अब धेरै समय स्क्रिनमा राख्नु ठीक छैन। त्यसैले यो आरोपको जवाफ दिन कांग्रेस पक्षको कोही त्यहाँ नरहेको बताउँदै बहसको अन्त्य गरिदए।
कुनै भारतीय च्यानलमा तर्कपूर्ण रुपमा यो हेर्न पाइएको छैन कि कालापानी, लिपुलेक विवाद वस्तुत: के हो र दुवै देश कहाँ चुके? आज कसरी अवस्था यस्तो तनावपूर्ण भयो भन्ने बारे पनि भारतीय टिभीमा हेर्न पाइन्न। किन समयमै संवादबाट यसको समाधान खोजिएन? नेपालका दुवै छिमेकी हुन् - भारत र चीन। कसैले यसमाथि चर्चा किन गरेन- भारतसँग बलियो सांस्कृतिक, सामाजिक, भौगोलिक निकटता भएपनि आज चीनसँग बढी नजिक देखिरहेको छ? यसबिना, चीनको इशारामा नेपालले नयाँ नक्सा तयार गरेको ठानिहाल्नु समस्याको जरासम्म पुग्नबाट पन्छिनु हो।
कालापानीमा भारतले र लिपुलेकमा चिनले नेपालाई लुटेका छन्। यसलाई बुझ शासक र उनका पिछलग्गु पत्रकारहरु! यस औपनिवेशिक मानसिकताबाट मुक्ति पाऊ कि सानो देश- सानो सम्प्रभुता। सम्प्रभुता कुनै देशको भौगोलिक आकार र आर्थिक हैसियतबाट यकिन गरिँदैन। जबसम्म यसलाई बुझ्दैनौ, छिमेकीको घृणाका पात्र बनिरहन्छौ र यसको आरोप कहिले चीन र कहिले पाकिस्तानमाथि थोपरिरहन्छौ।
(भारतीय पत्रकार आनन्द स्वरुप बर्माद्वारा लेखिएको यो सामग्री बिहीबार भारतीय सञ्चारमाध्यम जनपथमा प्रकाशित भएको हो। डिबी खड्काले यसलाई नेपालीमा भावानुवाद गरेका हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।