काठमाडौं- टाटा हिटाचीका हेभी इक्युपमेन्टको आधिकारिक बिक्रेता सिप्रदी अर्थमुभर्सबाट दुगड ग्रुपमा पुगेको छ। टाटाका गाडीको बिक्री गर्दै आएको सिप्रदी ट्रेडिङ अन्तर्गतको सिप्रदी अर्थमुभर्सले बिक्री गर्दै आएको टाटा हिटाची अब दुगड ग्रुपमार्फत् बिक्री हुने भएको हो।
जापानी हेभी इक्युपमेन्ट कम्पनी हिटाची र भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सको ज्वाइन्ट भेन्चरमा भारतमा टाटा हिटाची ब्रान्डका इक्युपमेन्ट उत्पादन हुँदै आएका छन्। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता रहेको सिप्रदीले नै टाटा हिटाचीका इक्युपमेन्ट नेपालमा ल्याएर बिक्री गर्दै आएको छ। सिप्रदी अर्थमुभर्सले विगत ११ वर्षदेखि टाटा हिटाचीका इक्युपमेन्ट बिक्री गर्दै आएको छ।
टाटा हिटाचीमा रहेका कर्मचारीसहित सबै दायित्व दुगडले लिने गरी सम्झौताको अन्तिम तयारी भइरहेको स्रोतको भनाइ छ। ‘केही समय अघिदेखि नै टाटा हिटाची सिप्रदीले छोड्ने कुरा भइरहेको थियो,’ स्रोतले भन्यो, ‘हाल टाटा हिटाचीमा रहेका कर्मचारी सहित सबै इक्युपमेन्ट तथा स्पेयर पार्टस् समेत लिने गरी डिलरसिप ट्रान्सफर हुने अन्तिम अवस्थामा रहेको छ।’
आगामी सातासम्म सिप्रदी अर्थमुभर्स र दुगड ग्रुपबीच सहमति हुने अनुमान गरिएको छ। मौखिक रूपमा धेरै कुरा मिलिसकेको भएपनि कर्मचारीको व्यवस्थापनको विषममा केही मिल्न बाँकी रहेको बताइएको छ। डिलरसिप हस्तान्तरणसँगै सिप्रदीले आफ्नो मातहतमा रहेका कर्मचारीलाई व्यवस्थापनको विषय पनि मुख्य भएको जनाएको छ।
दुगड ग्रुपले नेपालमा महिन्द्राका हेभी इक्युपमेन्ट बिक्री गर्दै आएको छ। महिन्द्राका ब्याकहो लोडर, कम्प्याक्टरलगायत इक्युपमेन्ट बिक्री गर्दै आएको र एस्काभेटरलगायत इक्युपमेन्ट नभएकाले अर्को ब्रान्ड लिन ग्रुप धेरै अघिदेखि सक्रिय थियो। सिप्रदी अर्थमुभर्सले टाटा हिटाचीको डिलर हस्तान्तरण गर्न चाहेको थाहा पाएपछि केही महिनाअघि टाटा हिटाची इन्डियामा प्रस्ताव पेस गरेको थियो।
नेपाली बजारमा टाटा हिटाचीका एस्काभेटर तथा ब्याकहो लाडरलगायत इक्युपमेन्ट बिक्री हुँदै आएको छ। टाटा हिटाचीका एस्काभेर नेपाली बजारमा लोकप्रिय छ। कम्पनीका ३ टनदेखि ६५ टनसम्मका इकोनोमिक तथा प्रिमियम मोडलका एस्काभेटर उपलब्ध रहेको छ।
सिप्रदी अर्थमुभर्स र दुगड ग्रुपबीच टाटा हिटाचीको डिलर ट्रान्सफर जसरी भएको छ त्यो नेपापमै पहिलो हुन लागेको छ। दुई कम्पनीबीच सबै कुरा मिलाएर सौहार्दपूर्ण रुपमा डिलर हस्तान्तरण यसअघि भएको थिएन। डिलर लिन चाहनेहरुले विभिन्न चालबाजी गरेर लिइको उदाहरण प्रशस्तै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।