काठमाडौं- कोरियाली हेवी इक्युपमेन्टको नेपालका लागि आधिकारिक बिक्रेता इन्टरनेशनल कन्स्ट्रकसन प्रालिले सबै कर्मचारीलाई बिदामा राखेको छ। लकडाउनका कारण सवारी साधन बिक्री नभएको र कम्पनी आर्थिक संकटमा परेको भन्दै कम्पनीहरुले धमाधम कर्मचारीलाई बेतलबी विदामा राख्न थालेका हुन्।
कम्पनीले असार १२ गते सबै कर्मचारीलाई सम्बोधन गरेर त्यही दिनदेखि लागू हुनेगरी बिदामा राखेको छ। पछिल्लो केही महिनायता कठिन परिस्थितिबाट गुज्रिएकाले उक्त निर्णय गर्नु परेको कम्पनीले उल्लेख गरेको छ।
कम्पनीले कर्मचारीलाई दिएको पत्रमा भनिएको छ, ‘हामीले हाम्रो बजारबाट उठाउन सकेको केही रूपैयाँबाट सिमित रूपमा नै भएपनि कम्पनी सञ्चालनको प्रयास गरेका थियौं। तर सो रकम पनि बैंक खातामा जम्मा हुनासाथ बैंकहरुले आफ्नो भुक्तानी लिनुपर्ने सावाँ ब्याजमा कट्टा गरिदिएका कारणले हामी तलब तथा अन्य खर्च चलाउन बाध्य भएर ऋण थप गर्दै लगेको छौं।’ 
व्यवसाय नहुने र कम्पनीको ऋण बढ्दै गएकाले अप्रिय निर्णयमा पुगेको दाबी गरिएको छ। कम्पनीले परिस्थिति समान्य नहुँदासम्म कुनैपनि कर्मचारीलाई तलब तथा अन्य भुक्तानी गर्न असमर्थ रहेको व्यहोराको पत्र कर्मचारीलाई थमाएको छ। कम्पनीले बैंकहरुसँग कुरा गरिरहेको तर तत्कालै समाधान निस्कने नदेखिएकाले कर्मचारीलाई बेतलबी विदामा राखिएको पत्रमा उल्लेख छ।
कर्मचारीहरुले यसबीचमा राम्रो अवसर पाए जानसक्ने पनि पत्रमा लेखिएको छ। त्यसरी जान चाहने कर्मचारीका लागि आर्थिक तथा व्यक्तिगतरूपमा गर्न सकिने सहयोग गर्न तयार रहेको कर्मचारीलाई उपलब्ध गराइएको पत्रमा छ।
डुसान कन्स्ट्रकसन इक्युपमेन्ट नेपाली बजारमा केही वर्ष अघि भित्रिएको थियो। २०७२ को भूकम्प पश्चात कम्पनीले बजार विस्तारलाई तीव्रता दिएको थियो। हाल डुसानको बिक्रेता इन्टरनेशनल कन्स्ट्रकसन प्रालिअन्तर्गत करिब १ सय कर्मचारी कार्यरत रहेका छन्।
नेपाली बजारमा डुसानको एस्काभेटरलगायत विभिन्न निर्माण उपकरण उपलब्ध रहेका छन्। कम्पनी यो संकटको घडीमा कम्पनीमा रहिरहने कर्मचारीलाई परिस्थितिको डटेर सामान गर्न भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।