फाइल तस्बिर काठमाडौं- सरकारले उपत्यकाभित्रका जिल्लाहरु र अन्य जिल्लाको हकमा जिल्लाभित्र ट्याक्सी तथा सार्वजनिक यात्रुबाहक बस चल्न दिने निर्णय गरेको छ। त्यस्तै सरकारले त्यसरी सवारी चलाउँदा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने निर्णय गरेको छ।
काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र ट्याक्सी चल्न दिने निर्णय भएको छ। त्यस्तै यात्रुबाहक सार्वजनिक सवारी कूल सिटको आधामात्र हुने गरी चलाउन दिने निर्णय भएको अर्थ र सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए। यात्रुबाहक बसमा सिटबीच सामाजिक दूरी कायम हुने गरी बस्ने व्यवस्था गरेर चलाउन भनिएको छ।
चालक तथा सहचालक, यात्रुले समेत मास्क अनिवार्य लगाउनुपर्ने छ। त्यस्तै सवारी साधनमा स्यानिटाइजर अनिवार्य र हरेक दिन सवारीसाधनलाई डिसइन्फेम्सन गर्नुपर्ने व्यवस्था गरिएको छ।
कोभिड १९ को महामारी आदेश जारी रहुन्जेलसम्म सवारीले ५० प्रतिशत बढी भाडा लिन पाउने छन्। ट्याक्सीको हकमा शुक्रबारबाट कार्यान्वयन हुने र अन्य सार्वजनिक यात्रुबाहक सवारी भने तयारी पुरा गरेर चलाउन सकिने मन्त्री खतिवडाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।