प्रतीकात्मक तस्बिर काठमाडौं- लकडाउन खुकुलो भएपछि दुईपांग्रे सवारी दर्ता उत्साहजनक देखिएको छ। यातायात व्यवस्था कार्यालय मोटरसाइकल, बागमती प्रदेशमा आर्थिक वर्ष २०७६/७७ को अन्तिम महिना असारमा अर्थात् लकडाउन खुकुलो भएपछि ६ हजार ५४ वटा मोटरसाइकल तथा स्कुटर दर्ता भएको कार्यालयले जनाएको छ। दुईपांग्रे सवारी दर्ता लकडाउन खुकुलो भएपछिको पहिलो महिनामा उत्साहजनक देखिएको हाे।
गत चैत ११ देखि कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न सरकारले गरेको लकडाउनका कारण सवारी दर्ता ठप्प थियो। सरकारले असार १ देखि लकडाउन केही खुकुलो बनाएर सरकारी कार्यालयहरु सञ्चालन गर्ने निर्णय गरेसँगै सवारी दर्ता समेत सुरु भएको थियो।
गत आर्थिक वर्ष २०७५/७६ को असारमा ७ हजार २ सय ९६ वटा मोटरसाइकल दर्ता भएका थिए। कोरोना भाइरसका कारण सवारीसाधनको बिक्री उल्लेख्य रुपमा गिरावट आउने अनुमान व्यवसायीहरुले गरेका थिए। तर, कोरोनाको संक्रमण जोखिम कायमै रहेको र सार्वजनिक सवारीसमेत नचलेकाले कामकाजीहरुले दुईपांग्रे सवारी रोजेकाले बिक्री बढेको व्यवसायीहरुको भनाइ छ।
नेपाली बजारमा दुई दर्जन बढी ब्रान्डका मोटरसाइकल तथा स्कुटर बिक्री हुँदै आएका छन्। लकडाउनपछि १ सय ५० सिसी सेगमेन्टका मोटरसाइकल र स्कुटरको धेरै माग आएको व्यवसायीहरुको भनाइ छ।
मोटरसाइकल कार्यालयका अनुसार चैत ११ देखि जेठ मसान्तसम्म मोटरसाइकल तथा स्कुटरको दर्ता शून्य थियो। असार महिनामा करिब विगतकै अवस्थामा मोटरसाइकल दर्ता भएको कार्यालयको भनाइ छ। लकडाउन खुकुलो भएको १ महिनामा मोटसाइकल कार्यालयले १२ करोड ९९ लाख ८७ हजार ९ सय ६३ रुपैयाँ उठेको छ। लकडाउनका कारण रोकिएको राजस्व उठौती लकडाउन खुकुलो भएपछि बढेको कार्यालयको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।