काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले लगातार तेस्रो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा चेन्नई सुपर किङ्सलाई ९ विकेटले हराउँदै मुम्बईले लगातार तेस्रो जित निकालेको हो ।
चेन्नईले दिएको १७७ रनको लक्ष्य मुम्बईले १ विकेटको क्षतिमा २६ बल बाँकी रहँदा नै पुरा गरेको हो । मुम्बईलाई जित दिलाउने क्रममा रोहित शर्माले ४५ बलमा ४ चौका र ६ छक्का सहित अविजित ७६ रन प्रहार गरे । शर्मा प्लेयर अफ द म्याच समेत बने ।
सूर्यकुमार यादवले ३० बलमा ६ चौका र ५ छक्का सहित ६८ रन प्रहार गरे । चेन्नईमा महेश पाथिसनाले १० बल बलिङ गरेर ३४ रन खर्चे । जेमी ओभरटनले दुई ओभरमा २९ रन खर्चिए ।
यसअघि मुम्बईको वाङखेडे रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले पाँच विकेटको क्षतिमा १७६ रन जोडेको थियो । चेन्नईका लागि रवीन्द्र जडेजाले ३५ बलमा ५३ तथा शिवं दुवेले ३२ बलमा ५० रन जोडे । सात बलर प्रयोग गरेको मुम्बईका लागि स्टार बलर जसप्रित बुमराहले चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिए । मुम्बईका अश्विनी कुमारले एक विकेट लिए पनि दुई ओभरमा ४२ रन खर्चिए ।
लगातार तेस्रो जित हात पारेको मुम्बई आठ अङ्कसहित छैटौँ स्थानमा उक्लिएको छ । भने चेन्नाई ४ अंक सहित अंक तालिकाको पुछारमा रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।