काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित मजदुर संगठनहरुले कम्तिमा प्रदेश स्तरमा सवारी चलाउन दिनुपर्ने माग राखेका छन्। सरकारसँग विभिन्न चरणमा भएको छलफलपछि गएको ८ गतेदेखि व्यवसायीहरुले सार्वजनिक यात्रुवाहक सवारी सञ्चालनमा ल्याएका हुन्।
सोमबार महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै यात्रुहरुले दुःख पाएको भन्दै प्रदेश स्तरमा बस चल्न दिनुपर्ने माग गरेका हुन्।
सरकारले असार २६ गतेदेखि उपत्यकाभित्र र जिल्लाभित्र चलाउने गरी सार्वजनिक यात्रुवाहक सवारी चलाउन दिने निर्णय गरेको थियो। गएको चैत ११ देखि बन्द रहेका सार्वजनिक बस सो निर्णयसँग चल्न थालेका थिए। महासंघले भने सरकारसँग विभिन्न माग राखेको र माग सम्बोधन भएपछि मात्र बस चलाउने निर्णय गरेको थियो।
सरकारको अव्यवहारिक निर्णयले लाखौं जनताको दैनिक जवजीवनमा गम्भीर असर परेको र उक्त निर्णय तत्काल सच्याएर सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार लामो, मध्यम, छोटो र स्थानीय रुटमा सार्वजनिक सवारी साधन गर्ने वैधानिक प्रावधान भएकाले सोही बमोजिम लामो दूरीमा समेत सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने वातावरण बनाउन महासंगले विज्ञप्ति मार्फत आग्रह गरेको छ।
कोरोना भाइरस सवारीसाधनबाट नभई मानिसबाट संक्रमण हुने भएकाले सार्वजनिक सवारी साधनलाई जिल्लामा गरेर मानिसलाई पैदल आवतजावत गर्न दिनुले कोरोना रोकथाम नहुने जिकीर महासंघसहित सबै मजदुर संघले गरेका छन्। सार्वजनिक सवारीलाई जिल्लामा सीमित गर्दा निजी सवारीले चर्को भाडा लिएर यात्रु बाकिरकेको महासंघले दाबी गरेको छ। त्यस्ता सवारीले स्वास्थ्यका मापदण्डसमेत पुरा नगरेको उनीहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।