सिन्धुपाल्चाेक- गाउँमाथि पहाड छ र तल छ फलेफी हाइड्रोपावर। हाइड्रोले धमाधम सुरुङ खनिरहेको थियो। २६ मेघावाटको 'बलेफी-ए' निर्माण गर्न रातारात काम भइरहेको थियो। यही क्रममा कामदारहरूले सुरुङ खन्नका लागि विस्फोट गराए। उक्त विस्फोट यति शक्तिशाली थियो कि पाँच गाउँ जोखिमा परे।
नाम्फा, लिदी, झुल्के, निम्लुङ, सञ्चगाउँ र बैगाङका जमिनहरू चर्किए। बलेफीको विद्युत आयोजना निर्माणका लागि विस्फोट गराउँदा पाँच सय घर जोखिममा परे। त्यस लगत्तै गाउँभर त्रास फैलियो। गाउँलेहरू गाउँपालिका केन्द्रदेखि सदरमुकाम चौतारासम्म पुगे।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई भेटेर बस्ती स्थानान्तरण गरिदिन निवेदन दिए। साउन २३ गते उनीहरूले जिल्ला प्रशासनमा निवेदन दिएका थिए। निवेदन दिँदा छिटै स्थानान्तरण गर्न अध्ययन गरिने आश्वासन पाए। उक्त आश्वासनसँगै उनीहरू गाउँपालिका पुगेर केही थान पाल बोकेर बस्ती फर्किए।
उनीहरूले घर छेउमै पालको टहरोसमेत बनाए। केही दिन त उनीहरू उक्त पालमा बसे। तर स्थानान्तरण भएन। अन्य कुनै स्थानमा सार्ने कुरा पनि उनीहरूले सुनेनन्। लगातार परिरहेको पानी पनि केही रोकियो। बाध्य भएर उनीहरू फेरि घरमै बस्न फर्किए।
बिहीबार रातभर मुसलधारे पानी पर्याे। दुई-तीन दिन थामिएको पानी राती एकैपटक पर्दा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीका बासिन्दाको उठिबास लाग्यो। यसरी पहिरोमा पर्ने मध्ये एक हुन्, आशाबहादुर दोङ। उनी रातभर पानी परेपछि निदाउनै सकेनन्। परिवारका सदस्यलाई सुत्न आश्वासन दिए पनि उनको मनमा संशय थियो।
‘गाउँमुनिका खेतका गह्रा पनि फुटेका छन्। बस्तीमाथि पनि धाँजा फाटेर मानिस छिर्न मिल्ने चिरा परेका छन्। कतै गाउँ सोहोर्ने त होइन?’ उनी यस्तो सोच्दै टोल्हाउँदै थिए। एक्कासी उनले भयंकर आवाज सुने। धाँजा फाटेकाे मुनिपट्टि सानो पहिरो चल्यो। उनी आवाज सुनिरहे, तर चिच्चाउन सकेनन्। उनले होस गुमाए।
'पहिरो जान थाल्यो' भनेर गाउँलेलाई सचेत गराउन पनि सकेनन्। ‘ठूलो आवाजका साथ पहिरो चलिहाल्यो। त्यसपछि के-के भयो। सम्झनै सक्दिनँ,’ दोङले भने, ‘दुई मिनेटमै गाउँलाई आधा छिमल्यो। डेढ सयभन्दा बढी घर रहेको झुरुप्प परेको बस्ती आधा पहिरोले निल्यो। विस्फोटकै कारण यति ठूलो पहिरो गयो।’
पहिरोले ३७ घरमा क्षति पुर्याएको छ। ३८ जना हराएकामध्ये चार जनाको शव फेला परिसकेको छ। पहिरोले पुरेका स्थानमा चलमलाउन छाडेका हातखुट्टा देखिइरहेकाले जीवितै भेटिने सम्भावना छैन।

‘हेर्दाहेर्दा गाउँ छोप्यो। मैले केही सोच्नै सकिनँ। भूकम्प जाँदा पनि यति अताल्लिएको थिएन,’ उपचारका लागि उद्धार गरेर चौतारा ल्याएका दोङले भने ‘म त ज्यान जोगाउन भागेछु। फर्किएर जाँदा सबै कुरा छोपिसकेको थियो।’
आशाबहादुरका अनुसार बस्तीको छेउछाउमा साना-ठूलो पहिरो चलेका थिए। बस्तीमाथि ठूल्ठूला धाँजा फाटेको थियो। बस्ती छेउको खोल्सोमा सङ्लो पानी बग्न छाडिसकेको थियो। वर्षायाम, रातविरात पहिरो आएर छोप्ला भन्ने भयले उनीहरूले जिल्ला विपत् व्यवस्थापन समितिको ध्यानाकर्षण गराएका थिए।
‘हामीले पटक–पटक ध्यानकर्षण गराएका थियौं। गत साउन २३ गते त गाउँले सबै भेला भएर माइन्युट नै उठाएर बस्ती सार्न निवेदन पनि दिएका थियौं,’ उनले भने, ‘हाम्रो कुरा कसैले सुनेन। अनि हामीले परिवार र छिमेकी गुमाऔं।’
जिल्ला विपत्मा पटकपटक ताकेता गर्दा पनि सुनुवाई नभएपछि उनीहरूले गाउँपालिका पनि गुहारेका थिए। अस्थायी बसोबासका लागि गाउँपालिकाले त्रिपाल, पाल, प्लास्टिक आदि दिएको थियो। बिहानीपख आएको पहिरोले गाउँ नै क्षतविक्षत तुल्याएको छ। बम पड्किएजसरी विशाल आवाजका साथ आएको पहिरो गाउँको बीचबाट पस्दा ३६ जना बेपत्ता छन्।

तामाङ जाति बसोबास गर्ने लिदीभन्दा करिब १०० मिटरमाथि १५ दिन अगावै चर्किएको र धाँजा फाटेको थियो। त्यहीँ धाजा लिदीबासीका लागि काल बनेको छ।
गाउँपालिका उपाध्यक्ष भन्छिन्- घरमा नबस्नु भन्दै पाल दिएका थियौं
जुगल गाउँपालिकाकी अध्यक्ष सिर्जना तमाङले केही दिन पालमा बसेपछि केही हुँदैन भनेर घरमै सर्दा ठूलो मानवीय क्षति भाेग्नु परेको बताइन्।
केही दिनअघि गाउँपालिकाले उनीहरूलाई अस्थायी बसोबासका लागि पाल लगाएतका सामग्री सहयोग गरेको सम्झदै उनले भनिन्, ‘उहाँहरूले केही हुँदैन भनेर घरमै बस्दा ठूलो क्षति भएको छ।’ पहिल्यै चिरा परेको ठाउँमा सचेत हुन नसक्दा क्षति भएको उनको भनाइ छ।
सबैभन्दा बलियो मानिएको बस्तीलाई नै पहिराले निल्नुका दुईवटा कारण रहेको उनले देखेकी छन्। २०७२ सालको पहिरो अनि त्यहाँ हाइड्रोपावरका लागि सुरुङ खन्दा थप क्षति भएको हो। तत्काल सबै गाउँ सार्न सम्भव नदेखेपछि उनीहरूलाई पाल, त्रिपाल, प्लास्टिक आदि उपलब्ध गराएर बस्ती नबस्न सतर्क गराइएको उपप्रमुख सिर्जनाले बताइन्।
‘गाउँभन्दा केही वर सुरक्षितजस्तो ठाउँमा गाउँलेहरू बस्न थालेका थिए,' उपप्रमुख सिर्जनाले भनिन्, ‘जोखिममा रहेका घरहरूका मानिसहरू त्यहीँ बस्न थालेका थिए, तर केही दिनदेखि फेरि घरमै फर्कनु भएछ।’ केहीलाई भने रातिराति त्रिपालमा बस्ने र बिहान पख के होला र भन्दै बस्तुभाउ स्याहार्न, खोलेपानी गर्न जाँदा पहिरोले बगाएकाे उनले बताइन्।
‘केहीको हकमा हामीले दिएको त्रिपालमा राती मात्रै बस्नुहुँदो रहेछ। बिहानीपख घरमै फर्कंदा भवितव्य आइपर्यो,’ उनले भनिन्, ‘के गर्ने कसो गर्ने हामी नै अलपलमा परेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।