एजेन्सी- नताशा नाेएलका लागि यो समय आफ्ना मनमा चलेका सबै द्वन्द्वसँग जुध्नु र तिनलाई पराजित गर्नुकाे विकल्प थिएन। तर उनको मनमा गहिरो चाेट थियो।
नताशा करीब साढे ३ वर्षकी हुँदा उनकै अगाडि आमाले आफैंलाई जलाइन्। बुबालाई मानसिक रोग (सिजाेफ्रेनिया)ले गर्दा सुधार केन्द्रमा पठाइयो। उनी आफ्ना हजुरबाहरूसँग बस्न थालिन्।
७ वर्षकाे हुँदा उनी बलात्कारको शिकार भइन्।तर यो कुरा उनले कहिल्यै पनि कसैलाई बताइनन्।
यसपछि पनि धेरै पटक उनले यस्ता हिंसा सहनुपर्यो। तर कसैलाई पनि बताइनन्।
नताशाले बिबिसीसँग भनिन्, ‘मेरो सबै बालापन आफैंलाई दोषी र अभागी ठान्दै गयो। म हरेक दुर्घटनाको दोषी आफूलाई नै ठहर्याउँथें।’
‘मलाई मेरो जिन्दगीको एउटा हिस्सा नै दुःख हो झैं लाग्न लागिसकेको थियो। म आफैंलाई पीडितको संज्ञा दिन्थें। मेरो भाग्यमै पीडा लेखेको छ जस्तो लाग्थ्यो।’
एक किसिमले भन्दा उनी आफैंमा आत्मविश्वास हराइसकेको थियो। उनलाई आफैंमाथि भरोसा थिएन। एक समय यस्तो आयो, नृत्य गर्दा उनलाई आफू केही स्वतन्त्र भएको महसुस हुन थाल्यो। नृत्यबाट नै उनले बाँच्ने कलाहरू सिक्न थालेकी थिइन्।
त्यसपछि उनले मुम्बईको कुनै एक स्थानीय डान्स स्कूलमा ज्याज, बेली र कन्टेम्पोरेरी डान्स सिकिन्।
पछि घुँडामा चोट लाग्नाले यो इच्छालाई पनि उनले मनमै तुहाउनुपर्यो। अब उनी डान्ससमेत गर्न नसक्ने अवस्थामा पुगिन्।
यही बेला उनमा डिस्लेक्सिया (पढ्दा अक्षर चिन्न समस्या हुने एक मानसिक समस्या) भयो। जसले गर्दा उनले नचाहँदा नचाहँदै पनि विद्यालयमा विभिन्न साथीहरूबाट दुर्व्यवहार खेप्नुपर्यो र हाँसोकी पात्र बन्नुपर्यो।
जसोतसो गरेर उनले स्नातकको डिग्री लिइन्। यसपछि उनलाई पाल्दै आएकी हजुरआमाले उनलाई सुरक्षित मानिएकाे शिक्षक पेशामा आबद्ध हुने सल्लाह दिएकी थिइन्।
नताशालाई थाहा छ कि उनका परिवारले उनीमाथि दर्शाएको प्रेम अथाह थियो तर पनि कतै केही कमी महशुस भइरहेको थियो उनलाई।
‘यो सबै मेरै सोच थियो। म कहिले पनि केही स्वीकार गर्नका लागि तयार थिइनँ। मेरो मनभित्रको कुरा म कसैलाई बताउँदिन थिएँ’ उनी सुनाउछिन्, ‘तर मैले कुनै हालतमा पनि शिक्षक बन्न भने चाहेकी थिइनँ।’

समयले सिकायो
यसपछि उनको जीवनमा एउटा महत्वपूर्ण घडी आयो, उनको ब्रेकअप भयो। यही कुराले पनि उनमा केही बदलाव ल्याउन सहयोग पुग्यो।
नताशा भन्छिन्, ‘अब अत्ति भयो। अब यसरी चल्दैन। मैले केही गर्नैपर्छ भन्ने भाव त्यसपछि आउन थाल्यो।’
योबीचमा उनले एक गहिरो कुरा सिकेकी थिइन्, ‘आफ्नो मानसिक स्वास्थ्यको ख्याल आफैं राख्नुपर्छ। अरू कसैले नराख्ने रहेछन्।’
उनी भन्छिन्, ‘मेरो विचारमा कसैप्रति चाहिनेभन्दा ज्यादा व्यवहार देखाउन खोज्छन् भने त्यसबाट उत्पन्न भएको मानसिक तनाव नै डिप्रेसन हो। कहिलेकाहीँ म यति खाना खान्छु कि मलाई सास फेर्नसमेत अप्ठ्यारो हुन्छ। यस्तो हुँदा कति पटक त मैले बान्तासमेत गरेकी छु। फेरि कुनै समय यस्तो पनि हुन्थ्यो कि म आफैंलाई केही समय भोको राखिरहेको हुन्थें। कुनै समय म सुतिमात्र रहन्थे जबकि कुनै समय केही रातसम्म पनि नसुती समय कटाउने गर्थें।’
हाम्रो समाजमा मानसिक स्वास्थ्यमा केही गडबडी आउनुलाई कलंकको रूमा चित्रित गरिएको छ। यसबाट पीडित मानिसलाई प्रोत्साहन दिनुको सट्टा नजरअन्दाज गर्नेहरू धेरैमात्रामा पाइन्छन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वमा हरेक ४ मध्ये १ व्यक्ति कुनै न कुनै हिसाबले मानसिक समस्याले ग्रसित रहेका हुन्छन्।
सानै उमेरदेखि नै नताशाले यसको बारेमा आफूले केही माध्यमबाट फेला पारेका विधिहरू अवलम्बन गर्न थालिसकेकी थिइन्। तर, यसपटक भने उनले आफूलाई केही फरक बाटो अपनाउने निर्णय गरिन्।
उनले हरेक दिन आफ्नो दैनिक जीवनमा घटेका विभिन्न घटनाहरू एउटा डायरीमा लेख्न थालिन्, सबै लेखिसकेपछि अन्तिममा उनी अहिलेसम्म जे भएको छ त्यसका लागि ईश्वरलाई धन्यवाद दिन्थिन्।
‘मेरो डिप्रेसन र तनावलाई जित्न धेरै हदसम्म यही कुराले मलाई सहयोग गर्यो,’ उनी सुनाउँछिन्, ‘म हरेक दिन आफ्ना लागि साना साना क्रियाकलापहरू गर्न थालेकी थिएँ। जस्तैः साँझमा थोरैमा पनि पाँच मिनेट घरबाट बाहिर निस्किएर कतै हिँड्ने गर्थें।’
‘म आफैंलाई भन्थें कि बेकामी हुनु कुनै अपराध होइन। कुनै गल्ती होइन। म एकपटक फेरि कोशिस गर्छु। त्योबेलासम्म मैले आफूले आफैंलाई प्रेम गर्न सिकिरहेकी थिएँ’ उनी भन्छिन्, ‘मलाई अझै पनि याद छ कि मलाई उपचार गर्ने मनोचिकित्सकले मलाई कस्तो छ भनेर सोध्दा म ठिक छु, बरू तपाईंलाई कस्तो छ? भनेको त्यो दिन।’
योगले सुधारेको जीवन
डिप्रेसन र तनावबाट छुटकारा पाउने कोशिसमा नताशाको जीवनमा योगको अहम् भूमिका रह्यो। बिस्तारै उनले मानसिक र शारीरिक स्वास्थ्यका लागि योगका विभिन्न मार्गहरू अपनाउन थालिन्।
उनी भन्छिन्, ‘घुँडामा चोट लागेपछि शरीरलाई अप्ठ्यारो पर्ने कुनै पनि काम गर्न सकिनँ। तर सामाजिक सञ्जालमा विभिन्न महिलाहरूले आफूलाई फरक भावभंगीमा आफूलाई प्रस्तुत गरेको देख्थें। यस्तो देखेर मलाई आश्चर्य लाग्थ्यो।’
उनलाई पनि यत्तिको आत्मविश्वास आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो। तर यसका लागि योगका साधारण आसनका साथसाथै आफ्नो श्वासप्रश्वासमा पनि नियन्त्रण ल्याउन जरूरी थियो।

नताशा सुनाउँछिन्, ‘योगबाट मलाई आफ्नो मनलाई स्थिर राख्नका लागि मद्दत मिल्छ। यो प्रक्रिया केही ढिलो छ तर मेरा लागि यसले धेरै ठूलो सहयोग गरेको छ।’
करीब ५ वर्षको साधनापछि उनी आफैंमा धेरै परिवर्तन आएको बताउँछिन्। उनी भन्छिन्, ‘आजकल मेरो जिन्दगीमा चाहे जति नै ठूलो समस्या आओस् हरेक बिहान केही समयका लागि म योग गर्छु र केही समय ध्यान गर्ने गर्छु।’
अहिले उनी आफ्नो जीवनशैली सँगसँगै अरूको जीवनशैली पनि सुधार गर्न व्यस्त छिन्। अहिले उनले आफूलाई योग शिक्षिकाको रूपमा स्थापित गरेकी छन्।
उनी अहिले २७ वर्षकी भइन्। अहिले पनि कतिपय चिन्ता आएभने यसै ध्यानकै माध्यमबाट सबै कुराको समाधान छन् भन्ने कुरामा विश्वास गर्छिन्।
बिबिसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।