काठमाडौं-अनुमति नलिई आफूखुसी सवारी साधनको रंग फेर्न वा कुनै किसिमको परिवर्तन गर्न पाइँदैन। सवारीसाधनको स्वरुप परिवर्तन गरे कारबाही हुने कानुनी व्यवस्था छ। त्यसाे गरे ट्राफिक प्रहरीले २४ घण्टे पूर्जी काटी सवारीको ब्लूबुक नियन्त्रणमा लिएर कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाउँछन्।
सवारी कस्तो छ भन्ने ब्लू बुकको सवारी विवरण पानामा लेखिएको हुन्छ। त्यो विवरण पानामा भएको भन्दा फरक सवारी साधन छ भने अनुमति नलिई सवारी साधनको स्वरुप फेरेको ठहरिन्छ। यसरी गरिएको परिवर्तन ट्राफिक प्रहरीले ब्लूबुक चेक गर्दा कारबाहीका लागि सवारी दर्ता भएको कार्यालयमा लेखि पठाउँछन्।
सवारी साधनको स्वरुपका बारेमा ब्लूबुकका साथै कम्पनीबाट जारी भएको स्पेसिफिकेसनमा समेत उल्लेख भएको हुन्छ। यस्तो विवरणमा कुनै फेरबदल गर्नु परेमा अनुमति लिनुपर्ने व्यवस्था छ। बागमती प्रदेशको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा ४३ बमोजिम अनुमती नलिई सवारीको स्वरुप परिवर्तन गर्न रोक लगाइएको छ।
सवारीधनीले स्वरुप परिवर्तन गर्न चाहेमा स्वीकृतिका लागि ऐनको उपदफा (२) बमोजिम सवारी दर्ता भएको कार्यालयमै निवेदन दिन सकिने व्यवस्था छ। सवारीको अन्य पार्ट परिवर्तनभन्दा पनि इन्जिन र चेसिसमा भएको परिवर्तन अझ बढी सम्वेदनशील मानिन्छ। इन्जिन र चेसिसको नम्बर केरमेट भयो वा नबुझिने भयो वा बदलियो भने यो अझ बढी गहन विषय बन्छ र सवारी साधन जफतसमेत हुन सक्ने कानुनी व्यवस्था छ।
त्यसैले कम्पनीले निर्धारण गरेको स्पेसिफिकेसन र दर्ता प्रमाणपत्र र ब्लूबुकमा लेखिएको विवरणमा फरक पर्ने गरी कुनै प्रकारको हेरफेर गर्नु पाइदैन।

स्वरुप परिवर्तन गरे हुने जरिवाना
प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा ४३ मा अनुमति नलिई हेरफेर गर्न नहुने र गरेमा सोही ऐनको दफा १९४ उपदफा (२)ख मा त्यस्तो कसूर गरेको जरिवाना तोकिएको छ। उक्त उपदफाबमोजिम अनुमति नलिई हेरफेर गर्नेलाई ७ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तोक्न सक्ने बागमती प्रदेश मोटरसाइकल कार्यालयको फेसबुक पेजमा लेखिएको छ।
स्वरुप परिवर्तनको निम्ति कसरी अनुमति लिने?
आफ्नो मोटरसाईकलको रंग परिवर्तन गर्न अनुमति पाउँ (वा अन्य कुनै परिवर्तन भए सो उल्लेख गर्ने) भनी निवेदन दिने।
मोटरसाईकल, सक्कल ब्लूबुक, सवारी दर्ता फाइल (पहिले नै फाइल बुझेर लगेको छैन भने कार्यालयमा फाइल खोज्न लगाउने) लिएर यातायात व्यवस्था कार्यालय मोटरसाईकल गुर्जुधारा जाने।
चालु आर्थिक वर्षसम्मको कर तिर्न बाँकी भए कर तिरेर नवीकरण गर्ने।
रंग परिवर्तन गर्न अनुमति पाउँ भन्ने निवेदनमा कार्यालय प्रमुखको तोक लगाई प्राविधिक शाखामा गई मोटरसाईकलको निरीक्षण गराउने।
प्राविधिक शाखाबाट निवेदनमा व्यहोरा खुलाई कार्यालय प्रमुखसमक्ष पेश गर्ने र स्वीकृत भएपछि रंग परिवर्तको अनुमति पाइने छ। यसरी अनुमति प्राप्त भइसकेपछि मोटरसाईकलको रंग परिवर्तन गर्न सकिन्छ र रंग परिवर्तन गरिसकेपछि यसलाई ब्लूबुकमा उल्लेख गराउनुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।