काठमाडौं- अमेरिकी कार उत्पादक कम्पनी टेस्लाका सिइओ एलन मस्क विश्वको चौथो धनी व्यक्ति बनेका छन्। उनको कार कम्पनी टेस्लाकै कारण उनी विश्वको चौथो धनाढ्य बनेका हुन्।
यसअघि विश्वका धनाढ्यहरूको सूचीमा निक्कै तल रहेका उनी अहिले ठूलो फड्को मारेर चौथो स्थानमा आइपुगेका हुन्। बिहीबार टेस्ला कम्पनीको सेयर मूल्य ११ प्रतिशतले बढेको थियो। योसँगै टेस्लाको प्रतिकित्ता सेयर मूल्य २ हजार अमेरिकी डलर नाघेको छ। उक्त वृद्धिले मस्कको सम्पत्ति एकैदिन ७ अर्ब ८० करोड अमेरिकी डलर बढेको ब्लुम्बर्गले जनाएको छ।
ब्लुम्बर्गको रिपोर्टअनुसार चालु वर्ष २०२० सुरु भएयता मात्रै मस्कको सम्पत्तिमा ५७ अर्ब डलरको बढोत्तरी भएको छ। २०२० को सुरू हुँदा मस्कको सम्पत्ति करिब ३० अर्ब डलर थियो। यो वर्षको ८ महिनामा उनको सम्पत्ति ५७ अर्ब डलर थपिएको हो। योसँगै उनको कुल सम्पत्ति ९० अर्ब डलर पुगेको छ।
ब्लुम्बर्गको अर्बपतिहरूको सूचीअनुसार पहिलो नम्बरमा अमेजन कम्पनीका सिइओ जेफ बेजोस छन्। विश्वकै धनी उनको सम्पत्ति १ खर्ब ९२ अर्ब डलर रहेको छ। दोश्रो स्थानमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स छन्, उनको सम्पत्ति एक खर्ब २१ अर्ब डलर छ। यसैगरी तेश्रो स्थानमा फेसबुक सिइओ मार्क जुकरबर्ग छन्, जसको सम्पत्ति ९९ अर्ब ५० करोड डलर छ। चौथोमा टेस्लाका मस्क छन्।
यो वर्ष सबैभन्दा धेरै सम्पत्ति आर्जन गर्नेमा मस्क दोश्रो नम्बरमा छन्। पहिलो नम्बरमा विश्वका सर्वाधिक धनी व्यक्ति अमेजनका सिइओ जेफ बेजोस छन्। यो वर्ष बेजोसले ७३ अर्ब डलर सम्पत्ति बढाएका हुन्।
पछिल्लो ७ वर्षमा टेस्ला कम्पनीले निकै सफलता हात पारेको छ। सन् २०१२ मा ४ अर्ब डलर बजार मूल्य रहेको टेस्ला २०२० मा आइपुग्दा १ खर्ब डलरभन्दा बढी भइसकेको छ।
टेस्लाका इलेक्ट्रिक कार विश्वभर नै चर्चा र लोकप्रियताको शिखरतर्फ रहेको छ। टेस्लाले अमेरिकापछि चीनमा आफ्नो दोस्रो गिगा फ्याक्ट्री स्थापना गरिसकेको छ। पछिल्लो समय विश्वका कार उपभोक्ताको रोजाइमा इलेक्ट्रिक कार नै पर्ने गरेको छ। गलत बाटोबाटै भएपनि नेपाली बजारमा समेत टेस्लाका दुईवटा कार आइपुगेका छन् भने एउटा भन्सारमै अड्किएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।