काठमाडौं- यातायात व्यवस्था विभागले लकडाउनको समयमा म्याद सकिएका लाइसेन्स यही भदौभित्र नवीकरण गर्दा जरिवाना नलाग्ने जनाएको छ। चैत ११ पछिको लकडाउन अवधिमा लाइसेन्सको म्याद सकिएर पनि नवीकरण गर्न नपाएका सवारी धनीले जरिवाना तिर्नुनपर्ने विभागको भनाइ छ।
विभागले सोमबार एक सूचना जारी गर्दै लकडाउन अवधिमा म्याद सकिएका सवारी धनीले भदौ मसान्तसम्म नवीकरण गर्दा जरिवाना तिर्नु नपर्ने जानकारी दिएको हो।
यसअघि पनि यस्तो सुविधा दिने भनिएपनि प्रणालीमा त्यस्तो छुट दिने गरी व्यवस्था नगर्दा यातायात कार्यालयले जरिवाना उठाएका थिए। अहिले विभागले सिस्टमलाई ‘मोडिफिकेसन’ गरेर भदौसम्म नवीकरण गर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको हो।
तर सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेकाले यो समयमा समेत लाइसेन्स बाहकलाई कार्यालयसम्म पुग्न असहज हुनेछ। उपत्यकाकाे हकमा भने सबै यातायात कार्यालयहरू बन्द नै रहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।