काठमाडौं- कोरोना भाइरसका कारण सृजित महामारीकै बीच बागमती प्रदेश सरकारले ४० वटा इलेक्ट्रिक बस खरिदको प्रक्रिया अघि बढाएको छ। प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधबार उक्त संख्यामा बस खरिदका लागि सूचना प्रकाशित गरेको हो।
प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले बुधबार सूचना जारी गर्दै बस कम्पनीहरुसँग लागतसहितको विवरण मागेको हो। नेपालमा रहेका कम्पनी र विदेशी कम्पनीका आयातकर्ताहरूसँग स्पेसिफिकेसनअनुसारको लागत र बसका मोडेलको विवरण मागिएको हो। प्रदेश सरकारले निकालेको सूचनाअनुसार १५ दिनभित्र कम्पनी तथा प्रतिनिधीहरुले बसको लागत र मोडेल उपलब्ध गराइसक्नुपर्नेछ।
निर्देशनालयका अनुसार कम्पनीहरूले विवरण उपलब्ध गराएपछि आवश्यक प्रक्रिया पुरा गरेर टेन्डर आह्वान गरिनेछ। प्रदेश सरकारले संघीय राजधानीसहित प्रदेशका मुख्य सहरमा सञ्चालन गर्ने लक्ष्यसहित १० देखि १०.५ मिटर, ८.५ देखि ९ मिटर लम्बाइको बस र ८.५ देखि ९ मिटरको कोच बस खरिद गर्न लागेको जनाएको छ।
बस खरिद गर्दा तीन वर्षसम्म कम्पनी आफैंले मर्मत सम्भारको जिम्मा लिनुपर्नेछ। विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माणका लागि प्रदेश सरकारले छलफल गरिरहेको जनाएको छ।
गएको अर्थिक वर्ष प्रदेश सरकारले विद्युतीय बस खरिद गर्नका लागि ४३ करोड रुपैयाँ विनियोजन गरेको थियो। बस खरिद नहुँदा उक्त रकम फ्रिज भएको थियो। चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले इलेक्ट्रिक बास खरिदका लागि १० करोड रुपैया विनियोजन गरिएको छ।
२०७५ मै केन्द्र सरकारले ३ सयवटा इलेक्ट्रिक बस खरिदका लागि ३ अर्ब रुपैयाँ छुट्याएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।