काठमाडौं- निसान र डाट्सनको आधिकारिक डिलर पायोनियर मोटो कर्पको आम्दानीमा १९ प्रतिशतले गिरावट आएको छ। कोभिड १९ का कारण कम्पनीको आम्दानीमा भारि गिरावट आएको हो। गत आर्थिक वर्ष २०७६/७७ मा कम्पनीको सञ्चालन आम्दानी २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा यस्तो आम्दानी तीन अर्ब २३ करोड रुपैयाँ थियो।
कोभिड १९ का कारण थप कर्जाको माग नगर्ने भएको छ। अघिल्लो आर्थिक वर्ष ५२ करोड रुपैयाँ नयाँ कर्जा लिएको कम्पनीले यस वर्ष नयाँ कर्जाको लागि रेटिङ गराएको छ। कम्पनीले यसअघि लिएको एक अर्ब ५१ करोड रुपैयाँको कर्जालाई पुनः रेटिङ गराएको छ। दोहोर्याएर गराएको रेटिङमा भने कुनै परिवर्तन नआएको रेटिङ एजेन्सीले जनाएको छ।
कम्पनीले मध्यम किसिमको सुरक्षा जनाउने 'इक्राएनपी ए फोर प्लस' प्राप्त गरेको छ। तर रेटिङ एजेन्सीले कोभिडको बढ्दो नकारात्मक प्रभावका कारण उक्त रेटिङलाई वाच लिष्टमा राखेको छ। अटोमोबाइलको बिक्री नै २० प्रतिशतले घटेको हुनाले यस्ता क्षेत्रलाई वाच लिष्टमा राखिएको उसले जनाएको छ।
विगत लामो समयदेखि उचित मार्जीनमा निसान र डाट्सनको डिलरसिप गर्दै आएकाले आम्दानीमा स्वस्थ वृद्धि देखिएको रेटिङ एजेन्सीले जनाएको छ। डाट्सको बिक्री घटेपनि निसानको बिक्रीले कम्पनीको आम्दानीलाई मद्दत गरिरहेको छ। सन् २०१८ मा डाट्सनको बिक्री ३२ प्रतिशतले घटेकोमा सन् २०१९ भने थप १४ प्रतिशतले घटेको थियो। तर निसानको बिक्री भने सन् २०१९ मा ४४ प्रतिशतले बढेको थियो।
गत आर्थिक वर्षको पहिलो ९ महिनामा मात्रै निसानको बिक्री ७३ प्रतिशतले बढेको थियो तर पछिल्लो तीन महिना बिक्री ठप्प हुँदा सुधार हुन सकेन।
सन् २०१४ देखि डिलरसिपको काम गर्दै आएको पायोनियरका सञ्चालक सन्दिप कुमार सारडा रहेका छन्। पायोनियले हाल काठमाडौंमा दुई वटा स्वरुम तथा आउटलेट सञ्चालन गर्दै आएको छ। त्यस्तै विराटनगरबाट एउटा स्वरुम तथा आउटलेट सञ्चालन गरिरहेको छ। यसका साथै पायोनियरको नेपालभर १३ वटा डिलरसिप रहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।