काठमाडौं- बतास इन्भेष्टमेन्टबाट अटो कर्जा लिने ६.६८ प्रतिशत ऋणीको भाका नागेको छ। कर्जाको भाका नागेसँगै कम्पनीले लिएको कर्जाको रेटिङ पनि घटेको छ। कोभिड १९ का कारण ब्याज तथा किस्ता नउठ्दा खराब कर्जा बढ्ने संकेत देखिएको हो।

कम्पनीले दुई अर्ब चार करोड रुपैयाँको ऋणको रेटिङ गराउदा 'इक्राएनपि एल डवल बि माइनस' प्राप्त गरेको छ। गत वर्षको रेटिङ 'इक्रा एनपी एल डबल वी' थियो। उक्त रेटिङले कर्जा बिग्रिने सम्भावना मध्यम किसिमको रहेको संकेत गर्दछ। यदि समयमा वित्तीय दायित्व पुरा नगरेको खण्डमा यस्तो अवस्था आउने रेटिङ एजेन्सीले जनाएको छ। कोभिडको बढ्दो प्रभावका कारण अहिलेको रेटिङलाई पनि वाच लिष्टमा राखेको छ।
कम्पनीले गत आर्थिक वर्षको ९ महिनामा २० करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष २०७५/७६ मा यस्तो आम्दानी २५ करोड ९० लाख रुपैयाँ थियो। कम्पनीले एक अर्ब ४६ करोड रुपैयाँको पोर्टफोलियो व्यवस्थापन गर्दै आएको छ। त्यस्तै एक अर्ब ५७ करोड रुपैयाँ सम्पत्तीको व्यवस्था गरिरहेको छ।
नेपालको अटोमोबाइल क्षेत्रमा २० वर्षभन्दा लामो समयदेखि कारोबार गर्दै आएको बतासले 'अटो लोन' प्रवाह गर्नुका साथै विभिन्न ब्राण्डका बाइक गाडी तथा निर्माण प्रयोजनका साधनको बिक्री गर्दै आएको छ।
कम्पनीले ८४ प्रतिशत कर्जा नयाँ सवारी साधनका लागि प्रवाह गरेको छ। त्यसमा पनि ७१ प्रतिशत पोर्टफोलियो आफ्नै डिलरबाट बिक्री भएका सवारी साधनका लागि गर्दै आएको छ। कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ। अबको एक वर्षमा पुँजी ३० करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।