काठमाडौं- चर्चित शास्त्रीय गायक पण्डित जसराजको अमेरिकामा हृदयघातका कारण गत सोमबार मृत्यु भयो। ९० वर्षीय जसराज शास्त्रीय संगीतका लागि एउटा धरोहरजस्तै थिए। सानैदेखि सांगितिक माहाेलमा हुर्किएका उनले पछि विभिन्न नवधा भक्तिसम्बन्धी र यस्तै अन्य आध्यात्मिक संगीतमा आफ्नो स्वर दिए।
पण्डित जसराज विलक्षण प्रतिभाका गायक मानिन्छन्। भारतीय शास्त्रीय संगीतको अधिकांश गायिकी ध्रुपद, ख्याल र ठुमरीमा आधारित हुँदै आएका छन्। यस्तो समयमा उनले आफ्नो जीवनमा वैष्णवताको मार्ग चुने। एक यस्तो वातावरण, जहाँ भक्ति संगीतले सर्वोच्च स्थान पाउँदै आएको थियो त्यस्तो घरमा जन्मिएर उनले संगीतकै बाटो रोज्नु सबैका लागि हर्षकै कुरो थियो।
उनका पिता पण्डित मोतीराम र माता कृष्णा बाई हुन्। हरियाणाको पिली मन्दोरी गाउँमा सन् १९३० जनवरी २८ मा जन्मिएका उनलाई जेठा दाजु पण्डित मणिरामले सुरुमा उनलाई संगीत सिकाएका थिए। उनी जन्मिएको गाउँ त्यसबेला पञ्जाबको अधीनमा थियो। मेवाती परम्परासँग सम्बन्धित भए पनि उनलाई पछि उस्ताद घग्गे नजिर खाँले पनि आफैंसँग राखेर संगीत सिकाएका थिए।
पण्डित जसराजका हजुरबा गुरु पण्डित नत्थुलाल र पण्डित चिमनलाल पनि उस्ताद घग्गे नजिर खाँका शिष्य थिए। यी दुवै जना पिता मोतिरामका मावलीपट्टीका हजुरबुबाहरू थिए। पण्डित जसराजका बुबा पण्डित मोतीरामले आफ्ना मामा पण्डित चिमनलालसँग संगीत शिक्षा लिएका थिए।
सन् १९४६ मा पण्डित जसराजले पण्डित डिवी पलुस्करसँग तबला पनि सिकेका थिए। तालप्रति उनको विशेष मोह सधैं उनको गायकीमा देख्न पाइयो तर सिकाइको त्यो समयपछि उनलाई तबला बजाएको कमैले देखे।
उनको नेपालसँग पनि एउटा छुट्टै प्रसंग जोडिएको छ। सन् १९५२ मा पहिलो पटक शास्त्रीय संगीत सुनाउनका लागि नेपालमा आएका उनलाई सुरूको प्रस्तुतिबाटै प्रसन्न भएर तत्कालीन राजा त्रिभुवनले ५ हजार नगदसहित सम्मान गरेका थिए। त्यसले शास्त्रीय संगीत गाएर पनि पैसा कमाउन सकिने रहेछ भन्ने सोच उजागर भएको कुरा पछिसम्म पनि पण्डित जसराजले बताउँदै आएका थिए।

पछिल्लो समय अमेरिकामा बस्दै आएका उनी प्रायःजसो अन्तरर्वार्तामा नेपालमा पाएको त्यो सम्मानको सधैं स्मरण गर्नेगर्थे। त्यसलाई उनी संगीत जगतको पहिलो खुड्किलाेमा आफूलाई संगीतमा लागिरहन त्यसले अझ प्रेरित गरेको बताउँदै आएका थिए।
पण्डित जसराजले भारतीय शास्त्रीय संगीतलाई सरल तथा सहज बनाउनका लागि ठूलो योगदान गरे। आधुनिक पुस्तालाई पनि शास्त्रीय संगीतमा झुमाउन सक्ने क्षमता भएका पण्डित जसराजले आफ्नो गायन कला भारतमा मात्र होइन। विश्वका कयौं देशमा देखाएका छन्।
फिल्म अभिनेता पहाडी सान्याल, संगीत निर्देशक सुबल दासगुप्ता, गायिका जूथिका रोयजस्ता अब्बल हस्तिहरू पण्डित जसराजका प्रशंसक थिए तर जसराज भने आफ्नो किशोरावस्थादेखि नै बेगम अख्तर साहिबाको गायकीदेखि प्रभावित थिए।
उनको गायकीमा पहिलोपटक उनलाई मन परेको कृष्ण भक्ति साहित्य थियो। पण्डित जसराजले सूरदास, कृष्णदास, परमानन्ददास, छितस्वामी र गोविन्द स्वामीका पदावलीहरू धेरै नै गाएका छन्। उनले ‘ओम नमो भगवते वासुदेवाय’ कृष्णभक्तिको स्तुती रहेको ‘मधुराष्टकम्’ र ‘अच्युतम् केशवम्’लाई पनि शास्त्रीय ढंगबाट गाएर सबैको घर घरमा पुर्याए।

टोरन्टो विश्वविद्यालयले त उनको नामबाट छात्रवृत्तिको सुरूवात नै गरेको छ, जुन छात्रवृत्ति भारतीय संगीतका युवा प्रतिभाहरूलाई दिइने गरिन्छ। त्यसैगरी न्यूयोर्कको एउटा संगीत भवनको नाम नै ‘पण्डित जसराज अडिटोरियम’ राखिएको छ।
यस्तै जसराजको योगदानको कदर गर्दै इन्टरनेसनल एस्ट्रोमिकल युनियन (आईएयू) ले सौर्य मण्डलको एउटा ग्रहको नाम उनकै नाममा राखेको छ। यस्तो सम्मान पाउने जसराज पहिलो भारतीय कलाकार हुन्।
उनले पाएका पद्मभूषण, पद्मश्री, कालिदास सम्मान, संगीत नाटक अकादमी रत्न-सदस्यता, काँची कामकोटिको आस्थाना विद्वानं, महाराष्ट्र गौरव पुरस्कार, शान्तिनिकेतनको मानव उपाधि ‘देसिकोत्तम’, उस्ताद हाफिज अली खाँ पुरस्कार, पण्डित दिनानाथ मंगेशकर सम्मान, डागर घराना सम्मान, आदित्य विक्रम बिडला पुरस्कार, पण्डित भीमसेन जोसी लाइफटाइम अचिभमेन्ट अवार्ड, सुमित्रा चरतराम लाइफटाइम अचिभमेन्ट पुरस्कार र उस्ताद बिस्मिल्लाह खान सम्मान उल्लेखनीय छन्।
पण्डित जसराजले कृष्ण उपासनालाई शास्त्रीय तरिकाले आफ्नो छुट्टै एकाधिकार क्षेत्र बनाए। उनी राग गाउनेहरू बीच पनि अत्यन्त कठीन राग मसलन-गौरी, आसा मांड, अडाना, विलासखी तोडी, अबिरी तोडी, हिण्डोल बसन्त आदि रागमा गाउने गर्थे। यस्ता कठीन रागमा स्वर तानिरहँदा पनि भक्तिभाव उनको स्वरमा, उनका आँखामा प्रष्टै देख्न पाइन्थ्यो।
कृष्णलीलाका प्रायः सबै विषयलाई उनले न्याय गरेर गाएका छन्। उनले भक्ति सम्मानित ग्रन्थ ‘भक्ति रसामृतसिन्धु’, ‘भक्ति रसायन’ र गोपालतापनीय उपनिषद्लाई समेत लोकवाणीमा पुराविष्कृत गरेका छन्।
एजेन्सीको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।