काठमाडौं-६ महिनायता लामो दूरीका यात्रुवाहक सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन्। सरकारले चैत ११ मा लकडाउन गरेयता सार्वजनिक बस नचलेका कारण यातायात क्षेत्र अब उठ्नै नसक्ने गरि थलिएको यातायात व्यवसायीहरुले बताएका छन्।
सरकारले लामो तथा मध्यमदूरीका बस भदौ १ देखि सञ्चालन गर्ने भनेकोमा उत्त मिति भदौ १६ लाई सर्यो। तर कोरोना संक्रमितको संख्या बढेसँगै उपत्यकाका तीनै जिल्ला प्रशासनले भदौ ३ देखि लागू गरेको निषेधाज्ञा एक साता थप गर्दै १७ गतेसम्म पु¥याएका छन्। यसले पनि तत्काल लामो तथा मध्यम दूरीका सार्वजनिक बस चल्ने सम्भावना टरेको छ।
सरकारले असार २६ देखि जिल्लाभित्र चल्न पाउने गरि छोटो दूरीका सार्वजनिक बस चल्न दिने निर्णय गरेको थियो। तर ती पनि निषेधाज्ञासँगै बन्द भएका छन्। हाल ४० भन्दा बढी जिल्लामा आंशिक तथा पूर्ण निषेधाज्ञा जारी भएका छन्।
यातायात व्यवसायीले आफ्ना सवारीसाधन ग्यारेजमा थन्किएकाले सहुलियत दरको ऋण उपलब्ध गराउनुपर्ने, कर छुट दिनुपर्ने सहितका माग सरकारसँग राखेका छन्। त्यसमध्ये केही माग सम्बोधन भए पनि मौद्रिक नीतिले भने अनुसार आएको कार्यविधि निजी बैंकहरुले नमानेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए।
‘राष्ट्र बैंकले दिएको कार्यविधि अनुसार निजी बैंकले पुनर्कर्जा दिने विषयमा व्यवसायीलाई नटेरेको देखियो,’ उनले भने, ‘६० प्रतिशतभन्दा बढी स्वरोजगार रहेको र सबै स्वदेशी लगानी रहेको सार्वजनिक यात्रुबाहक बस सञ्चालन अब उठ्न मुस्किल हुनेछ।’
६ महिनादेखि बस चलेका छैनन्। तिनका अधिकांश पार्टपूर्जा फेर्नुपर्ने भएकाले एउटा बस मर्मतका लागि ३र४ लाख रुपैयाँसम्म लाग्ने अवस्था आउने उनको भनाइ छ।
लामो दूरीका सार्वजनिक बस सञ्चालन गर्नका लागि समस्या नरहेको यातायात व्यवस्था विभागको भनाइ छ। अहिले मानिसहरूमा काम नपरी हिँड्नु हुँदैन भन्ने मानसिकताको विकास भएकाले पनि लामो दूरीका बस सञ्चालन गर्न समस्या नहुने विभागको तर्क छ। तर परिस्थिति प्रतिकूल रहेकाले तत्काल लामो दूरीका बस सञ्चालनमा त्याइहाल्ने अवस्था नरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।
‘कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले तत्काल बस सञ्चालन गरिहाल्ने अवस्था छैन, उनले भने, ‘सरकारले अवस्थाको विश्लेषण गरेर बस चलाउने निर्णय गरेपछि स्वाभाविक रूपमा सञ्चालनमा आउँछन्।’ सार्वजनिक बस सञ्चालन हुँदा विभागले सरोकारवालासँग छलफल गरेर बनाएको मापदण्ड पालना गर्दै बस सञ्चालन गर्नुपर्ने उनले बताए।
बस चलाउन लाखौं खर्चिनु पर्ने
यातायात व्यवसायीहरुका अनुसार देशभरि करिब तीन लाख लामो दूरीमा चल्ने यात्रुवाहक सवारीसाधन छन्। ६ महिनायता सञ्चालन हुन नसकेको एउटा बसमा ब्याट्री, सबै टायरलगायत पार्टपुर्जामा भएको क्षति गरेर करिब ३ देखि ४ लाख रुपैयाँसम्म क्षति भइसकेको छ।
उक्त क्षति गाडी खडा भएका कारण निम्तिएको भौतिक क्षति हो। तर गाडीले गर्ने कमाइ, बैंकको किस्ता, बीमा, मजदूरको पाएको पीडाको हिसाब गर्ने हो भने त्यो क्षतिको विवरण कहालीलाग्दो भएको महासचिव सिटौलाले बताए। ‘यतिका समय रोकिएर बसेका बस चलाउन कहाँबाट पैसा ल्याउने?’ उनले प्रश्न गर्दै थपे, ‘हामीले सरकारलाई स्वदेशी लगानी संरक्षण गर्न सहुलियत दरको ऋणको कुरा गरेका छौं, कर छुटको कुरा गरेका छौं। तर पनि हालसम्म यी विषयहरु सम्बोधन हुन सकेका छैनन्।’
यस्तो छ बस सञ्चालनको स्वास्थ्य मापदण्ड
जनचेतना अभिवृद्धिः यात्रु वा सेवामा संलग्न कर्मचारीहरुका लागि कोभिड–१९ प्रकोपको जोखिमसम्बन्धी आधारभूत ज्ञान तथा जोखिम न्यूनीकरणका उपायसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, मास्क लगाउने, हात स्यानिटाइजर वा साबुन पानीले धुने, जताततै नछुने र नथुक्ने, सामाजिक दूरीसम्बन्धी, भाडा तिर्नका लागि गरिएको व्यवस्था, बस बिसौनीमा पर्खने र ओर्लने तरिका निश्चित गरिने।
यात्रु सिटको सरसफाइ तथा निर्मलीकरणः यात्रुले एकपटक सवारी साधन प्रयोग गरेपछि सिट सरसफाइ गर्ने।
सामाजिक दूरीः यात्रु–यात्रुबीचको सामाजिक दूरी कायम गर्नका लागि यात्रुबाहक सवारी साधनको क्षमता अनुसार अधिकतम यात्रु संख्या निर्धारण गर्ने र ले–आउट सोहीअनुरुप बनाउने।
यातायात सञ्चालनको समय तालिकाः सवारी साधनहरुको सञ्चालनपूर्व सिट निर्धारण र समय तालिका तयार गरी बस स्टपहरुमा राख्ने।
यातायात सेवामा कार्यरत कर्मचारीको स्वास्थ्यको नियमित परीक्षणः प्रत्येक खेप सुरु हुने बेलामा वा दिनमा कम्तिमा दुईपटक निजको शरीरको तापक्रम मापन गर्नका लागि प्रत्येक बसमा थर्मल गनको व्यवस्था गर्ने।
यात्रुहरुका लागि स्यानिटाइजर उपलब्ध गराउने
भाडा असुलीका लागि वैकल्पिक उपाय अवलम्बन गर्नेः सकभर भाडा भुक्तानीका लागि मोबाइल बेस्ड स्क्यान एन्ड पे वा कन्ट्याक्टलेस कार्ड, अनलाइन तथा इलेक्ट्रोनिक भुक्तानी, भाडा भुक्तानीका लागि यात्रुहरुले टिकट काउन्टरबाट एकपटक वा धेरै पटक वा कुनै अवधिका लागि मान्य हुने टिकट किन्न सक्ने व्यवस्था गर्ने।
चालक कक्ष र यात्रु कक्षलाई उपयुक्त खालको प्लाइ बोर्ड वा ग्लास वा फाइबर बोर्ड वा बाक्लो खालको प्लास्टिक सिटद्वारा छुट्याउने।
सवारी साधनभित्र कोभिड-१९ सम्बन्धी सावधानीका सन्देश तथा सतर्कतासम्बन्धी जनचेतनामूलक सामग्री तयार गरि टाँस्ने।
सवारी चालक र सहचालकका लागि मास्क, ग्लोब, भाइजर र स्यानिटाइजर उपलब्ध गराउने। बस टर्मिनल र बस बिसौनीमा साबुन पानी र स्यानिटाइजर राख्ने र कोभिड–१९ सम्बन्धी जनचेतनामूलक सामग्री राख्ने। अनुगमनमा खटिने ट्राफिक प्रहरी वा कर्मचारीलाई मास्क, स्यानिटाइजर, ग्लोब, भाइजर उपलब्ध गराउने।
लामो, मध्यम तथा स्थानीय रूटमा सञ्चालन हुने सार्वजनिक यात्रुबाहक सवारीसाधन यीलगायतका स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने विभागले जनाएको छ। यी मापदण्ड विश्व स्वास्थ्य संगठन र सरकारले तोकेको स्वास्थ्य मापदण्डमा रहेर बनाइएको।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।