सांकेतिक तस्बिर काठमाडौं-सरकारले उपत्यका प्रवेश गर्ने सबै प्रकारका सवारीसाधनले अनिवार्य रुपमा धोइपखाली गरेर मात्र आउन दिने भएको छ। यसका लागि यातायात व्यवस्था विभागले मापदण्ड बनाउने कार्य अघि बढाएको छ।
सरकारले केही वर्ष अघिको बजेटमा समेत उपत्यका प्रवेश गर्ने नाकामा वासिङ सेन्टर राख्ने उल्लेख गरेको थियो। त्यस्तै विभाग तथा ट्राफिक प्रहरीले समेत यसबारे पत्रकार सम्मेलन गरेर बताएका थिए। विभागले उपत्यका भित्रने ६ नाकामा वासिङ सेन्टर स्थापना गरि गाडी धोएर प्रवेश गर्न दिनका लागि मापदण्ड बनाउने काम अघि बढाएको महानिर्देशक गोगनबहादुर हमालले बताए।
उपत्यका प्रवेश गर्ने सवारी साधनले उपत्यकामा धुलो भित्र्याएको भन्दै काठमाडौं महानगरपालिकाको सहयोगमा ट्राफिक प्रहरीले चारै नाकामा कार वासिङ मेसिन जडान गर्ने घोषणा महानगरिय ट्राफिक प्रहरी महाशाखामा मिङमार लामा प्रमुख हुँदा नै भएको थियो। त्यतिबेला नागढुंगा, पासाङ ल्हामु सडकको मुड्खु भञ्ज्याङ, फर्पिङ र अरनिको राजमार्गको जगातीमा कार वासिङ मेसिन राख्ने निर्णय भएको थियो।
हाल कोरोना भाइरसको संक्रमण बढेसँगै विभागले वासिङ सेन्टर निर्माणका लागि काम अघि बढाएको हो। विभागले त्यस्ता सेन्टर निर्माण, सञ्चालन तथा शुल्कको विषयमा मापदण्ड बनाउन लागिएकाे महानिर्देशक हमालले बताए।
‘हामीले मापदण्ड बनाएर निजी क्षेत्रले नै बनाउने र सञ्चालन गर्ने गरि मापदण्ड बनाउँदै छौं,’ उनले भने, ‘यस विषयमा छलफल गरेर छिट्टै मापदण्ड टुंग्याउने छौं।’
कोरोना भाइरसको संक्रमण र जोखिम बढेको र सरकारको पूर्वयोजना नै भएकाले वासिङ सेन्टर निर्माणमा विभाग तातेको हो। विगतमा उपत्यका भित्रने सवारीले फोहर तथा माटो ल्याएर सहर फोहाेर पारेको भन्दै उपत्यका भित्रले सवारी धोएर मात्र आउन दिने नीति सरकारले लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।