काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले कोटेश्वर चोकमा भइरहेको बाटो विस्तारकाे काम छिटो सक्न निर्देशक दिएका छन्। सोमबार नेम्वाङसहितको टोलीले गरेको स्थलगत अनुगमनका क्रममा यस्तो निर्देशन दिएका हुन्।
कोटेश्वर चोकको जाम हटाउन वैकल्पिक रुपमा विस्तार भइरहेको सडक निर्माणको काम छिटो सक्न भनेका हुन्। अनुगमनपछि मन्त्री नेम्वाङले संघीय राजधानी काठमडौं प्रवेश गर्ने र बाहिरिने अत्यन्तै महत्वपूर्ण पूर्वीनाकाको प्रस्थानबिन्दूको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्। कोटेश्वरचोक उपत्यकाकै धेरै जाम हुने स्थान मध्यमा पर्छ।
जाम हटाउनका लागि अल्पकालीन र दीर्घकालीन दुईवटा योजना बनाएर काम गर्न लागिएको छ। अल्पकालीन योजनाका रुपमा कोटेश्वर चोकको जाम हटाउन अहिले दक्षिणतर्फ तीन लेन र उत्तर एयरपोर्टतर्फ एक लेन सडक विस्तार भइरहेको छ। दीर्घकालीन योजनामा सरकारले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग सहकार्य गर्ने तयारी गरिरहेको जनाइएको छ।
जाइकाको टोलीले प्रारम्भिक अध्ययन प्रतिवेदन समेत तयार पारेर सरकारलाई हस्तान्तरण गरिसकेको छ। दीर्घकालीन समाधानका रूपमा अण्डरपास वा फ्लाइओभर बनाउने भन्ने विषयमा दुई देशका प्राविधिकहरु बसेर निर्णय गरेर अध्ययन अघि बढाउने तयारी सरकारको छ।
अहिले कोटेश्वरचोकमा पुरानो तारबार हटाउने, एयपोर्टको जग्गा भएकाले सुरक्षा संवेदनशीलताका कारण नयाँ बार लगाउने, सुरक्षा पोष्ट निर्माण गर्ने, ट्रयाक ओपन गर्ने र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेतलगायतको काम भएको छ।
त्रिभुवन विमानस्थलतर्फ एक लेन र अर्कोतर्फ तीन लेन विस्तार गर्न मिल्नेगरी जग्गा अधिग्रहण गर्न लागिएको हो। विमानस्थलतर्फ स्वीकृति लिएर साइट क्लियर भएको छ भने दायाँतर्फ अधिग्रहण अघि बढाइएको छ।
लेन थपिए तिनकुनेबाट कोटेश्वर हुँदै पेप्सीकोला जाने र भक्तपुरबाट कोटेश्वर हुँदै सातदोबाटो जाने सवारीसाधनले रोकिनुपर्ने छैन। जसले केही हदसम्म जाम कम गर्न महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ। अनुगमनमा सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकाललगायत सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।