तस्बिर : ग्लोबल राइट्स एक महिलाको तस्बिर राखेर श्रद्धाञ्जलीका शब्द लेख्न थालिएको ५ दिन भइसकेको छ। यो क्रम अझै रोकिएको छैन। ४२ वर्षीया इब्रु तिम्तिकको फोटोमा संसारभरका मानिसले श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। उनलाई सम्झिरहेका छन् र सायद अझै लामो समयसम्म सम्झिरहनेछन्। सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिने अधिकांशले उनलाई स्वतन्त्रता र निष्पक्षताकी हिमायती भएको उल्लेख गरेका छन्।
यति नहोस् पनि किन, स्वतन्त्रताका लागि २३८ दिनसम्म भोकै जीवन धानेकी तिम्तिकले गत बिहीबार अन्तिम सास फेरिन्। टर्किस उत्पीडित तथा श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी तिम्तिकले टर्कीको राजधानी इस्तानबुलको एक अस्पतालमा अन्तिम पटक सास फेरेकी हुन्। उनको शरीरबाट निस्किएको अन्तिम सासको झोक्का एक्कासी आएको हुरीजस्तो भएर धेरै मानिसको मनमा चिसो बनेर पसेको छ।
पेशाले मानव अधिकारका पक्षमा वकालत गर्ने उनलाई सरकारविरोधी काम गरेको भन्दै त्यहाँको सरकारले विभिन्न आरोपहरू लगाएर जेल हालेको थियो।अन्तर्राष्ट्रिय तथा स्थानीय कानुनविद्हरूले तिम्तिकको रिहाइ माग गर्दै राष्ट्रपति रेसेप तायिप इर्दोगानलाई दबाब दिँदै आएका थिए। तर उनीहरुको माग र दबाबलाई बालुवामा राखेको पानी जस्तै बनाइदियो इर्दोगान सरकारले।
उनको गल्ती के थियो र उनलाई जेलमा राखियो? यो घटनाको पृष्ठभूमि केलाउन भने सन् २०१७ सेप्टेम्बरतिर फर्कनुपर्ने हुन्छ। सरकारविरोधी कामकारबाहीमा संलग्न भएको भन्दै टर्कीको सरकारले १८ जना वकिलहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्ने सबै कि प्रोग्रेसिभ लएर्स एसोसियसन र पिपल्स ल ब्यूरोका वकिलहरू थिए। तिनै १८ जनामध्ये एक थिइन्- वकिल इब्रु तिम्तिक।

आफ्नो र साथीका लागि अदालतको निष्पक्ष सुनुवाइकाे माग गर्दै भोक हड्तालमा बसेकी इब्रु तिम्तिकको पार्थिव शरीर वरिपरि शोक मनाइरहेका टर्किस नागरिक।टर्कीका शासकका अधीनमा चल्ने त्यहाँका अदालतले तिम्तिकलाई रिहा नगर्ने फैसला सुनाएको थियो। गत वर्ष अक्टोबरमा तिम्तिकसहित १८ वकिललाई टर्कीको पुनरावेदन अदालतले यसअघि तल्लो अदालतले सुनाएको लामो समयको जेल सजाय सदर गर्ने निर्णय गरेको थियो। उनीहरुमाथि अवैध मार्क्सवादी संगठनसँग सम्बन्ध रहेको आरोपसमेत लगाइएको थियो।
सन् २०१९ मार्चमा त्यहाँको अवैध संगठन रिभोलुसनरी पिपल्स लिबरेसन पार्टीमा आबद्ध भएको आरोपमा त्यहाँको सरकारले उनलाई १३ वर्ष ६ महिना जेल सजाय सुनाएको थियो। यिनीसँगै अर्का एक पुरूष पनि यही घटनामा दोषी ठहरिएका थिए- एक्टिक अनसल। अनसललाई भने १० वर्षभन्दा अधिक सजाय भुक्तान गर्नू भनी आदेश दिइएको थियो।
सन् २०२० जनवरी २ देखि तिम्तिकले अदालतको निष्पक्षतामाथि प्रश्न उठाउँदै निष्पक्ष रूपमा सुनुवाइ हुनुपर्ने माग राखी भोक हड्तालको घोषणा गरिन्। पछि फेब्रुअरी २ मा उनलाई अनसलले साथ दिए र दुवै जना अदालतको अकर्मण्यताको विपक्षमा रहेर निष्पक्ष सुनुवाइ हुनुपर्ने भन्दै भोक हड्तालमा बसे।
त्यसपछि अप्रिल ५ मा टर्किस 'एटोर्नी डे' का दिन दुवै जनाले अदालती प्रक्रिया निष्पक्ष नभए जीवनको अन्तिम क्षणसम्म भोकै रहने घोषणा गरे। जुन १ मा उनीहरूलाई रिहा गर्न ‘इन्टरनेसनल एसोसियसन अफ डेमोक्रेटिक लयर्स’ले ३६५ विदेशी र ४०० टर्किस वकिलद्वारा हस्ताक्षरित मुद्धा टर्कीको सर्वोच्च अदालतमा दायरसमेत गरे। तर यसमा पनि कुनै प्रगति भएन।
उनीहरूले गरेको भोक हड्तालका कारण दुवै जनाको स्थिति दयनीय बनिसकेको थियो। यसलाई मध्यनजर गर्दै जुलाई ३० मा तिम्तिक र अनसल दुवैलाई उच्च सुरक्षासहितको सिल्भिरी जेलबाट इस्तानाबुलस्थित एक अस्पताल पुर्याइएको थियो।
तिम्तिककी एक आफन्तका अनुसार उनलाई भोक हड्ताल त्याग्नका लागि विभिन्न निकायबाट चर्का दबाब आइरहेका थिए। ‘उनी निदाइरहेका बेलामा पनि खाना खानका लागि भन्दै मानिसहरू आएर उनलाई जबरजस्ती उठाइरहन्थे,’ मृत्युअघि नै उनले भनेकी स्मरण गर्दै तिम्तिककी आफन्तले भनेकी छन्।
जेलमा भन्दा अस्पतालमा हुँदा उनको स्थिति झन् बिग्रिएको थियो। तिम्तिकलाई राखिएको अस्पतालको कोठामा चौबिसै घण्टा बत्ती बालिएकाे हुन्थ्यो‚ त्यसमाथि चिसो हावासमेत पास गराइएको थियो।

तिम्तिकको पार्थिव शरीरलाई अन्त्येष्टीका लागि लगिँदै। तस्बिर : टाइम्स अफ माल्टा ‘उनीहरू तिम्तिकको भोक हड्ताल अन्त्य गराउनका लागि चर्को दबाब दिइरहेका थिए। उनको भोक हड्ताल अन्त्य गराउनका लागि अनेक प्रलोभनहरू देखाइरहेका थिए,’ ती आफन्तले सुनाइन्।
१२ अगस्ट २०२० मा युरोपिया एसोसियसन अफ लयर्स फर डेमोक्रेसी र वर्ल्ड ह्युमन राइट्सले तिम्तिक र अनसलको भोक हड्तालको विषय सबैका लागि चिन्ताको विषय बनेको भन्दै राष्ट्र संघलाई पत्रसमेत पठाएका थिए।
तर दुर्भाग्य भनौं भोक हड्ताल सुरू गरेको २३८औं दिनमा उनको मृत्यु भयो। मृत्यु हुँदा उनको तौल जम्मा ३० किलो भएको अस्पतालले जनाएको छ। उनीभन्दा अघि टर्कीमा भोक हड्तालका क्रममा हेलिन बोलेक, इब्राहिम गोसेक र मुस्ताफा कोसाक गरी तीन जनाले सहादत प्राप्त गरिसकेका छन्।
उनको मृत्युमा शोक मनाउन आएका मानिसहरूलाई समेत प्रहरीले अश्रुग्यास प्रयोग गरी तितरबितर बनाएको त्यहाँका स्थानीय समाचारहरूले जनाएका छन्।

तिम्तिकको पार्थिव शरीर वरिपरि शोक मनाइरहेका टर्कीस नागरिक।युरोपेली संघका वैदेशिक मामिलाका प्रवक्ता पिटर स्टानोले तिम्तिकको निधनले टर्कीमा मानव अधिकारको अवस्था र त्यहाँको न्यायपालिकाको नाजुक स्थितिको चित्रण गरेको बताए।
-एजेन्सीहरुको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।