काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २५ गतेदेखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। नाडाको सोमबार बसेको पदाधिकारी बैठकले भदौ २४ गते सम्म निषेधाज्ञाको समय रहेकोले २५ गतेदेखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो।
नाडा अध्यक्ष कृष्ण प्रसाद दुलालले १ सय ८० दिनसम्म सरकारको आदेश मानेर बसेको अवस्थामा अब हुने निषेधाज्ञाको पालना नगर्ने गरी सबै व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताए। सरकारले देशको अर्थतन्त्रलाई बुझेर व्यवसाय गर्न पाउने गरी सहजीकरण गर्नुपर्ने उनको भनाइ छ।सरकारले व्यवस्था नगरेपनि निषेधाज्ञालाई तोडेर अथवा विद्रोह गरेर भएपनि व्यवसाय सञ्चालन गर्ने उनले बताए।
‘सरकारले बुझेर लकडाउनलाई केही न केही सहजीकरण भन्दा पनि पूरै व्यवसाय गर्न पाउने गरी सहजीकरण गरेर अगाडि बढ्न पर्छ। यदि गरेन भनेपनि यो निषेधाज्ञा तोडिन्छ, जनताले विद्रोह गर्छन्, व्यवसायीले विद्रोह गर्छन्। यो कसैले पनि मान्नेवाला छैन। त्यसकारण कसैले पनि नमान्ने खालको नियम ल्याउनु भनेको यो ठिक हुँदैन सरकारले बुझ्नुपर्छ,’ अध्यक्ष दुलालले भने।
सरकारी कर्मचारीहरुले काम नगरेपनि तलब भत्ता आइराख्ने भएकाले कोरोना संक्रमण देखिएदेखि नै लकडाउन गर्नुपर्छ भनिरहेको भन्दै असन्तुष्टि व्यक्ति गरेका छन्।
व्यवसायी र उद्योगपतिहरु बाहेक कसैले पनि लकडाउनको विरोध नगरेको पनि दुलालको भनाइ छ। घरमै बसीबसी तलब भत्ता आउने भएपछि किन लकडाउन खोल्ने भन्ने मानसिकता कर्मचारी र राजनीतिज्ञहरुमा रहेको दुलालको भनाइ छ।
‘सुरुदेखि नै हेर्ने हो भने सरकारी कर्मचारीहरुले कहिले पनि काममा जानुपर्छ भनेर भनेको छैन। जतिपनि सरकारी कर्मचारीहरुले के भनेका छन् भने बन्द गर्नुपर्छ कोरोना फैलिन्छ घरमा बस्नुपर्छ भनेको छ। किनभने उहाँहरुले तलब बसिबसी पाउनुभएको छ,' उनले भने, 'व्यवसायीहरु बाहेक खोल्नुपर्छ भन्ने मान्छे उद्योपति बाहेक, व्यवसायी बाहेक घरमा बसेर पैसा आउने जतिपनि राजनीतिज्ञ छन, जतिपनि नेता छन, जतिपनि कर्मचारी छन सबै बन्द गर्नुपर्छ कोरोना सर्छ भनेको नै आवाज सुन्छौं।’
पछिल्लो समय भारत पाकिस्तान लगायत विश्वभर लकडाउन खुलिसकेको अवस्थामा नेपालमा पनि खोल्नुको विकल्प नभएको दुलालको भनाइ छ। लकडाउन समस्याको समाधान नभएकाले सुरक्षित भएर काम गर्नु नै देशको आवश्यकता रहेको पनि उनले उल्लेख गरे। विश्वलाई हेरेर व्यवसाय सुरु गर्नुको विकल्प नरहेको नाडाले ठहर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।