काठमाडौं–चर्चित इलेक्ट्रिक कार निर्माता टेस्लाका सिइओ एलोन मस्कले जर्मन कार उत्पादक कम्पनी फक्सवागनको नयाँ इलेक्ट्रिक कारको टेस्ट ड्राइभ गरेका छन्। फक्सवागनका सिइओ ह्याबर्ट डिस र टेस्लाका सिइओ एलोन मस्कको भेटमा मस्कले फक्सवागनको आइडी.थ्री चलाएको भिडियो कम्पनीले सार्वजनिक गरेको हो।
गत साता मस्क इलेक्ट्रिक कारसहित अन्य सम्बन्धित परियोजनाहरुको अवलोकनका लागि जर्मनी गएका थिए। फक्सवागनले दुई सिइओहरुबीच भेट भएको उल्लेख गरे पनि के विषयमा कुरा भयो भन्ने खुलाएको छैन। फक्सवागनले आफ्नो महत्वपूर्ण इलेक्ट्रिक कार आइडी.थ्री ड्राइभ गरेकोमा सिइओ मस्कलाई धन्यवाद दिएको इलेक्ट्रिक डट कोले लेखेको छ।
विश्वको धेरै कार उत्पादन गर्ने मध्येको एक कम्पनी फक्सवागनले पनि इलेक्ट्रिक कार उत्पादनलाई उच्च प्राथमिकतामा राखेको छ। फक्सवागनले आफ्ना दुई इलेक्ट्रिक कार आइडी.थ्री र आइडी.फोरलाई उच्च प्राथमिकता दिएको छ। यी कार बजारमा आएपछि इलेक्ट्रिक कारमा नयाँ आयाम थपिने दाबीसमेत कम्पनीको छ। कम्पनीले युरोपमा आइडी.थ्रीको डेलिभर केही समयपछि सुरु हुनेसमेत जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।