जिन्दगी बाँच्ने रहर कसलाई हुँदैन ? मर्ने रहर कसलाई हुन्छ ? जिन्दगी बाँच्नु जति सजिलो केही छैन र गाह्रो पनि। मर्नु जति सजिलो केही छैन र गाह्रो पनि।
मृत्यु कहिले हुन्छ ? जब जन्म हुन्छ। मृत्यु हुनलाई जन्मन सक्नुपर्छ। जन्मनलाई मर्न सक्नुपर्छ। म चिसो महिनाको अत्यन्तै चिसो दिनमा जन्मिएकी। मेरी आमाले झण्डै–झण्डै आफू मरेर मलाई जन्माईन रे। प्रसव वेदनाले पसिना, र्याल, सिँगान र रगत सराबरी भएकी मेरी आमाले मेरो तल नहेरी सिधै माथि हेरिन् रे। जुनको उज्यालोमा म अनि मेरो सर्वाङ्ग जुनभन्दा बेसी टल्किएको थियो रे। आमा एक झरी बरर आँसुसँगै खुसी मुस्काईन रे मलाई हेरेर। आमाका लागि मात्र म थिएँ अनि मेरा लागि मात्र आमा। आमाले भनिन् रे-‘मेरो भाग्य जन्मिई।’ आमा म ठूली हुन्जेलसम्म पनि भन्थिन्, ‘निधार ठूलो छ तेरो। भाग्यमानी छेस्।’
भाग्य के हो आमा ?
आमाले नै सिकाईन् मलाई। आफ्नै लयमा, आफ्नै बलबुतामा बाँच्नु भाग्य हो भनि। आमाले जन्माईन् मलाई। न पुरुषजस्तै न महिलाजस्तै-एक मान्छेजस्तै। आमाले एक्लै हुर्काईन् मलाई। न छोराजस्तै न छोरीजस्तै-एक सन्तानजस्तै। हुन त संसारका हरेक मान्छे मान्छेजस्तै जन्मिन्छन्। फरक यत्ति हो उनीहरुलाई पहिलो हुन सिकाईन्छ : पुरुष हुन सिकाईन्छ। दोस्रो हुन सिकाईन्छ : महिला हुन सिकाईन्छ। अनि तेस्रो दर्जा पनि दिईन्छ, जसलाई कुनै नामको हकदार नहुन सिकाईन्छ।
तर मेरी आमाले मलाई ‘म’ जस्तै हुन सिकाईन्। आफूजस्तै स्वाभिमानी र कर्मठ हुन सिकाईन्। १७ वर्षसम्म स्वतन्त्र अनि सुरक्षित हुर्काईन् मलाई मेरी आमाले। तर के आमाको गर्भजतिको सुरक्षित यो संसार छ र ! के आमाको गर्भ पनि सुरक्षित छ र ! आमा आफैं पनि सुरक्षित छन् र !


त्यो बिहान सदाको बिहान झैं सामान्य त थियो। मेरी आमाको मायाले सिन्चित उस्तै घरमा बिउँझिएकी थिएँ म र गएकी थिएँ खेततर्फ। त्यहीँ बाटो, त्यहीँ दृश्य, उस्तै बिहानी। उस्तै सामान्य समय अनायासै, बिना खबर कसरी त्यति कठोर र असामान्य बनिदिन सक्छ ! किन सामान्य उदाईदियो त्यो बिहानी? किन गरेन घामले मलाई कुनै ईशारा? किन सतर्क गराएन हावाले मलाई? किन फाटेन जमिन जब म फाँटे बाहिर–भित्र, भित्र–बाहिर? किन गर्जेन मेघ, किन बर्सेन आकाश म चिच्याउँदा, म तड्पिँदा? के म मेरी आमाभन्दा कम तिनीहरुकी पनि छोरी थिईनँ र? सबै मुक बसे। मेरी आमाले सत्र वर्षसम्म माकुराले जालो बुनेजस्तो गरि मेरो वरिपरि बुनेको सुरक्षाकवच भत्किन १७ मिनेट पनि लागेन। म निमोठिएँ नमिठोसँग। अनि त्यहीँ निमोठ्याईमा मैले बुद्द्त्व प्राप्त गरेँ-यहाँ कसैले कसैलाई सुरक्षित राख्न सक्दैन। मान्छे आफू आफैंबाट सुरक्षित छैन। एकअर्काबाट त परै जावोस्।
खुट्टयाउन गाह्रो छ-सास फेर्नु सजिलो हो कि सास नफेर्नु। जिन्दगी बाँच्ने लोभ कसलाई हुँदैन ! त्यो बिहानीको कल्कलाउँदो घाममा ढल्पलाउँदै गरेको शितका थोपा साक्षी छन्, कुलुलु बगेको कुलो साक्षी छ अनि साक्षी छन् ती कान्लामा मडारिएका घाँस। त्योभन्दा बढी साक्षी छन् मेरा आँखाका चेपबाट बगेका रिस अनि मेरा जाँघमा लतपतिएका पीडा(सपना कसका हुँदैनन्, उद्देश्य कसका हुँदैनन्, इच्छा कसका हुँदैनन्? सपना नितान्त आफ्ना हुन्छन्, त्यसैले अमूल्य हुन्छन्। के मेरामात्रै सपनाका मोल छन् आमा? के मेरा रहरका मूल्य तोक्न सकिन्छ? रू.५५००० मेरा सपनाको, मेरा इच्छाको मोल हुँदै होईन, हुनै सक्दैन।
वर्षौं साँचेको रिस थिएन, राग थिएन। बस् एक क्षणको आवेगको घानमा पिसिएँ म। मर्नुभन्दा बहुलाउनु निको भन्थे, तर म बहुलाउन सकिन। ढुंगा बन्न सकिनँ। मान्छे हुँ। घोच्छ, पोल्छ अनि दुख्छ। समयले सबै घाउ बिर्साईदिन्छ रे। शरीरको घाउमात्र त भुलाईदिन्थेँ। तर मेरो त दिमाग छ, हृदय छ। दिमागले सोच्छ, हृदयले महसुस गर्छ। मेरो शरीरमाथि मात्रको लछारपछार थिएन, मेरो त आत्मा पनि लुटियो, अस्तित्वमाथिको स्वाधीनता पनि खोसियो। ममा म नै बाँकी नरहेपछि म रहनुको औचित्य के? सायद खरानी भएर या माटोमा मिलेर पो मान्छे सुरक्षित रहन्छ कि !
बाँच्ने रहर हजारौं हुन्छन्। बाँच्नलाई आँट चाहिन्छ त्योभन्दा बढी आँट मर्नलाई चाहिँदो रहेछ। त्यसैले कमजोर र लाचार त म किमार्थ होइन। बस् थकित हुँ, क्लान्त हुँ। के चिर निन्द्राले सबै पिर बिर्साईदिन्छ ? सबै पीडा भुलाईदिन्छ ? रहँदै नरहेको शरीरलाई गिजोल्ने कसले ? बिलाईगएको आत्मालाई लुट्ने कसले अनि कसरी ? नत्र त जिन्दगीमा बाँच्ने रहर कसलाई हुँदैन र ! जिन्दगीभर हाँस्ने रहर कसलाई हुँदैन र ! नत्र त किन कोही गरोस् आत्महत्या !
कोही किन त्यागोस् शरीर, जब आफ्नो शरीर आफ्नै हातमा नरहे।
आखिर, कोही किन गरोस् आत्महत्या, जब आफ्नो आत्मा आफ्नै साथमा नरहे।
000
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।