• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
'हँसिया-हथौडा' खेलाउँदै ‘ड्र्यागन’
64x64
किशोर दहाल बिहीबार, मंसिर ४, २०७७  १७:५३
1140x725

काठमाडौं- मंसिर २, २०७७ राति चिनियाँ राजदूत होउ यान्छी प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरिन्। ८ बजेतिर त्यहाँ पुगेकी उनले करिब दुई घण्टा ओलीसँगको संवादमा बिताइन्।

यान्छी त्यस्तो समयमा बालुवाटार पुगिन्, जुनबेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र अत्यधिक अप्ठ्यारो परिस्थितिमा छन्। सचिवालयका बहुमत सदस्यहरु एकत्रित भएर उनीमाथि  प्रहार गरिरहेका छन्। पार्टी विभाजनका चर्चा सघन भएको छ। नेकपाको सचिवालयको बैठक नै बस्छ वा बस्दैन, बस्यो भने ओली उपस्थित हुन्छन् वा हुँदैनन् भन्ने अन्यौलपूर्ण अवस्थामा यान्छी बालुवाटार पुगिन्।

प्रधानमन्त्री ओली र राजदूत यान्छीबीचको संवादबारे प्रष्ट जानकारी सार्वजनिक भइसकेको छैन। तर, विगतका सन्दर्भ केलाउन हो भने दुईबीच नेकपाभित्रको संकटका विषयमा छलफल भए भनेर सहजै आकलन गर्न सकिन्छ। पार्टी र सरकारमा ओलीको शक्तिशाली निरन्तरताका लागि कुनै अचुक सूत्रको पहिचान हुन सक्यो वा सकेन भन्ने केही दिनमा देखिने नै छ। तर नेकपाको बुधबारको सचिवालय बैठक सहज रुपमा नै सम्पन्न भएको छ। जसलाई संयोग मात्रै मान्न पनि सकिन्छ, चिनियाँ राजदूतको भेटको परिणाम मान्न पनि सकिन्छ। 

यान्छी सक्रिय, विवाद साम्य
गत वैशाख दोस्रो-तेस्रो हप्ता नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो। प्रधानमन्त्री केपी ओलीले पार्टीका अन्य नेतालाई सुइँको नदिई वैशाख ८ मा ल्याएको दुई अध्यादेशले विवाद सिर्जना भएको थियो। स्थिरताको वकालत गर्ने प्रधानमन्त्रीले पार्टी विभाजन गर्ने अध्यादेश ल्याएको र अर्को पार्टी विभाजनका लागि आफ्ना विश्वास पात्रलाई सांसद ‘अपहरण’मा समेत सक्रिय बनाएका कारण उनको सार्वजनिक आलोचना भयो।

यही परिप्रेक्ष्यमा बसेको सचिवालय बैठकमा नेताहरुबीच तिक्ततापूर्ण सम्बन्ध उजागर भयो। पहिलोपटक पार्टी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भयो। वैशाख १७ गतेको सचिवालय बैठकमा प्रचण्डले ओलीलाई भनेका थिए- तपाईंले पार्टी र सरकार दुवै स्वेच्छाचारी ढंगले चलाउनुभयो, त्यसैले दुवै पदबाट राजीनामा दिनस्। प्रतिवादमा ओलीले राजीनामा नदिने बरु माधव नेपाललाई पनि अध्यक्ष बनाउने र कोरोनापछि वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे। प्रचण्ड र नेपाल पक्ष ओलीलाई कम्तीमा एक पदबाट हटाउने प्रयासमा थियो। बहुपक्षीय भेटघाट तीव्र भए पनि निष्कर्ष निस्किएको थिएन। पार्टी विभाजनको हल्ला त्यसबेला पनि चलेको थियो।

यसैबीच वैशाख १८ गते साँझ ओली तथा १९ गते बिहान र अपराह्न प्रचण्ड र नेपाललाई राजदूत यान्छीले भेटिन्। भेटको यथार्थ जानकारी त सार्वजनिक भएन। तर, त्यसले नेकपा विवादमा बदलाव ल्यायो। वैशाख २० गतेको बैठकअघि ओली र प्रचण्डबीच केही बेर छलफल भयो। कडा हुने ठानिएको बैठकमा दुवै अध्यक्ष नरम भए। दुवै अध्यक्षले उस्तै स्वरमा आत्मालोचना गर्ने र गल्ती सच्याएर जाने वचनबद्धता देखाए। अघिल्लो बैठकमा आफूलाई राखिएको कुर्सीको ‘पोजिसन’ मा समेत आपत्ति जनाएका प्रचण्डले ओलीको बराबरी हैसियत देखिने गरी राखिएको कुर्सीमा बस्न पाए। यसरी उत्कर्षमा पुगेको नेकपा विवाद तत्काललाई साम्य भयो।

केही समयपछि नै नेकपा विवाद बल्झिन थाल्यो। यस्तै अवस्थामा असार १० देखि स्थायी कमिटी बैठक सुरु भयो। अध्यक्षद्वयका बीचमै समान धारणा बन्न नसक्दा बैठकमा प्रतिवेदन पेश हुन सकेको थिएन। एजेन्डा पनि अन्तिम समयमा तय गरियो। त्यो पनि बैठक सुरु हुनासाथ सदस्यहरुले अहसमति जनाएर थप्न लगाएका थिए।

कोरोना नियन्त्रणमा असफल साबित भइसकेको सरकार अनेक अनियमिततामा समेत जोडिएको थियो। एमसिसी, पार्टी एकताको पूर्णता तथा चौरजहारी घटना जस्ता विषयहरुमा पनि ओलीको आलोचना भइरहेको थियो। आफ्नो तीव्र आलोचना हुने आकलन गरेका ओलीले बैठकमा नआउने रणनीति अख्तियार गरे। साथै, असार १४ गते आयोजित एक कार्यक्रममा उनले नेकपा नेताहरुकै साथमा भारतले आफूलाई हटाउन खोजेको अभिव्यक्ति दिए। त्यसपछिका बैठकमा उनको कडा आलोचना भयो। राजीनामा माग भयो। ओली अप्ठ्यारोमा परे। किनकि, स्थायी कमिटीका बहुमत सदस्यहरु उनको विपक्षमा थिए।

लगत्तै राजदूत यान्छीले विपक्षी मोर्चामा रहेका तीन प्रमुख नेताहरु प्रचण्ड, झलननाथ खनाल र माधव नेपाललाई भेटिन्। असार २१ मा नेपाल, असार २३ मा खनाल र असार २५ मा प्रचण्डलाई भेटिन्। सो भेटपछि तत्कालै विवाद साम्य त भएन तर यान्छीको सक्रियताको आलोचना भने भयो।

प्रचण्ड-यान्छी भेट। फाइल तस्बिर

अन्ततः भदौ २६ गते स्थायी कमिटी बैठक सकियो। सो दिनलाई पुरानो विवादतर्फ नफर्किने निश्चित समय (कट अफ डेट) निर्धारण गर्ने भनियो।

स्थायी कमिटीको निर्णय कार्यान्वयन नभएको, एकलौटी ढंगले राजदूत र मन्त्री बनाएको, कर्णाली विद्रोहलाई सहजीकरण गरेको, भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई बालुवाटारमै भेटेको लगायतका विषयले अहिले नेकपाभित्र विवाद बढाएको छ। सोही विषयको निरुपण हुनुपर्ने माग गर्दै सचिवालयका बहुमत सदस्यहरुले ओलीलाई बैठक बोलाउन माग गर्ने र ओलीले भने बेवास्ता गरिरहेका थिए। अन्ततः  कात्तिक २८ मा बडो दुःखले सचिवालयको बैठक बस्यो।

कात्तिक २८ सम्म आइपुग्दा नेकपाका शीर्ष नेताबीच तिक्क सम्बन्ध विकास भइरहेको थियो। कात्तिक २२ गते बहुमत सचिवालय सदस्यले ओलीलाई बुझाएको पत्र, कात्तिक २५ मा ओलीले प्रचण्डलाई पठाएको पत्र, जवाफमा प्रचण्डले कात्तिक २८ गते पठाएको पत्र र सचिवालयको सोही बैठकमा प्रचण्डले पेश गरेको एकल प्रस्तावले तिक्त सम्बन्धको उत्कर्ष प्रष्ट्याउँछन्। र शीर्ष नेताहरु नै पार्टी एकताबद्ध रहिरहने कुरामा आशावादी छैनन्।

यस्तो परिस्थितिमा यान्छीको सक्रियता बढेको छ।

भूराजनीति तथा सुरक्षा विज्ञ श्रीधर खत्री राजदूतले दलहरुको विवाद मिलाउन सक्छन् जस्तो आफूलाई नलाग्ने बताउँछन्। ‘मिलाउने भएको भने, पहिलो र दोस्रो पटक भेट्दा नै मिलिसक्थ्यो। तेस्रोपटक किन भेट्नुपर्थ्यो?’, उनको प्रश्न छ।

सामान्य कि असामान्य?
वैदेशिक हस्तक्षपको विरुद्धमा सबैभन्दा उग्र सुनिन्छन्, नेपाली कम्युनिस्ट नेताहरु। उनीहरुको दस्तावेज, कार्यक्रम, नारा लगायतमा विदेशी हस्तक्षपको विरोध र राष्ट्रियताको नारा छुट्दैन। अन्य विषयमा प्रशस्तै अन्तरविरोध देखिए पनि यो सवालमा भने सानादेखि ठूला कम्युनिस्ट पार्टीमा समानता देखिन्छ। नेकपा पनि त्यसमा अलग छैन।

कम्युनिस्ट पार्टीका मतदाता बढी रहेको नेपालमा भारतीय नेता, अधिकारी वा राजदूतको चासो र सक्रियताको बढी विरोध हुने तर चीनको सक्रियतालाई भने सद्भावको रुपमा अर्थ्याइने र मौन बस्ने गरेको पाइन्छ। खासमा चीनले यहाँ जुटाउन भूमिका खेलेकाले सहज रुपमा लिनुपर्ने कतिपयको मत पाइन्छ।

चीनको सक्रियतालाई हस्तक्षेप भन्न नमिल्ने तर्क छ, पूर्वराजदूत हिरण्यलाल श्रेष्ठको। ‘यहाँ सबै शक्तिहरु सक्रिय छन्, फुटाउन र जुटाउन। चिनियाँ राजदूत जुटाउनलाई चलखेल गरेकी छिन्। अरु फुटाउनलाई चलखेल गरेका छन्’, उनले भने, ‘नफुट, तिम्रो देशको सार्वभौमिकता जोगाउन पनि एकता चाहिन्छ भन्नुलाई हस्तक्षेप भन्न मिल्दैन। जुधाउने र मिलाउनेलाई एउटै दर्जामा राख्न सकिन्छ?’

नेकपा पंक्तिले पनि चिनियाँ राजदूतको सक्रियालाई शुभेच्छायुक्त ठान्छन्। गत असार २४ गते नेकपा स्थायी कमिटी सदस्य तथा मन्त्री योगेश भट्टराईले फेसबुकमा ४ बुँदे स्टाटस लेखे। उनले धेरैको प्रतिनिधित्व गर्ने अनुमान गर्न सकिन्छ। स्टाटसमा उनले उनले भारतीय व्यवहारसँग तुलना गर्दै चीनको सक्रियतालाई ठीक तुल्याउने कोसिस गरे। यद्यपि, उनले आफ्नो स्टाटसमा भारत वा चीन शब्द उल्लेख गरेका छैनन्। उनले लेखेका छन्-
१. संविधान बनाउने बेलामा असफल पार्न खोज्नु ठीक वा संविधान निर्माणप्रति सद्भभाव राख्नु ठीक? 

२. पहिलो र दोश्रो संविधानसभाको बेलामा तराई र पहाड, जाति जनजातिको सामान्य अन्तरविरोधलाई चर्काएर नेपालमा विग्रह ल्याउन प्रयत्न गर्नु ठीक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सद्धभाव राख्नु ठीक? 

३. नेपालमाथि नाकाबन्दी लगाएर हायलकायल पार्न खोज्नु ठीक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देऊ भन्नु ठीक?

४. पार्टी/ पार्टी र पार्टीभित्रको अन्तरविरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठीक वा सबै पार्टी बीचमा राम्रो एकता बनाउँदै नेपालको समृद्धिप्रति सद्धभाव राख्नु ठीक? 

कुनै पनि विदेशी राजनीतिक तथा कुटनीतिक गतिविधिलाई यसै सन्दर्भबाट हेरियो भने सही हुन्छ। कसैको पनि कुरा सुन्नु राम्रो हो। मान्ने नमान्ने अधिकार हाम्रो हो!

१. संबिधान बनाउने बेलामा असफल पार्न खोज्नु ठिक वा संबिधान निर्माणप्रति सद्भभाब राख्नु ठिक ? २. पहिलो र दोश्रो...

Posted by Yogesh Bhattarai on Tuesday, July 7, 2020

बिहीबार पनि भट्टराईले लेखेको स्टाटसले चीनलाई जुटाउन उत्प्रेरित गर्ने शक्तिको रुपमा चित्रण गरेको देखिन्छ। नेकपालाई नेपाली बिउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टी भन्दै उनले लेखेका छन्- ‘हिमालपारिको संकेतबाट जुट्ने वा मैदानपारिको सक्रियताबाट फुट्ने’ यो मान्यता नेकपाको शरीरमा फिट नहुने सोच वा औषधि हो।

यान्छीलाई चीन सरकारको प्रतिनिधिभन्दा पनि नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध सूत्र जस्तो ठान्ने क्रम बढ्दो छ। तर, यान्छीका हरेक औपचारिक गतिविधि चीन सरकारको गतिविधि हो। मध्यरातमा बालुवाटार पुग्ने यान्छी त निमित्त पात्र मात्रै हुन्, त्यो चीन सरकार पुगेको हो। यस्ता भेटका रेकर्ड लामो समयसम्म रहन्छ, जुन सधैं सत्ता स्वार्थ र शक्तिको आडमा मात्रै जायज नठानिन सक्छ। यस्ता कुरामा भने ख्याल गरेको पाइँदैन।

उनको सक्रियतालाई विभिन्न कोणबाट हेर्न सकिने बताउँछन्, खत्री। ‘एउटा कोण भनेको उनी धेरै सफल राजदूत हुन्। हाम्रा नेताहरुसँग र देशसँग सम्बन्ध बढाउनमा चीनको तर्फबाट उनी सफल छिन्। त्यो उनको उपलब्धि हो। त्यसलाई मान्नुपर्छ। अब हाम्रा तर्फबाट, केही गरी हाम्रो गोलमालमा, दलहरुको गोलमालमा र अझ सत्तारुढ पार्टीको गोलमालमा हामीहरुले उनीहरुसँग सल्लाह लिएर निर्णय गर्नुचाहिँ हाम्रो कमजोरी हो’, उनको भनाइ छ।

प्रधानमन्त्री ओली र यान्छीबीचको भेट। फाइल तस्बिर

बुधबारको नेकपा सचिवालय बैठकपछि प्रधानमन्त्री ओली र राजदूत यान्छीबीच भेटलाई हस्तक्षेपसँग जोडेर सोधिएको प्रश्नमा नेकपा प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफूले त्यसलाई हस्तक्षेप गरेको भनेर नबुझ्ने बताए। ‘हस्तक्षेप हामी स्वीकार गर्दैनौं। स्वीकार नगरेपछि हस्तक्षप हुँदैन‘, उनको भनाइ थियो।

त्यसो त, तत्कालीन एमाले र माओवादी केन्द्रबीच चीन नै एकताको लागि उत्प्रेरक भूमिका खेलेको बताइन्छ। नेकपाका कतिपय नेताहरु त्यसलाई अस्वीकार गर्दैनन् बरु ‘मुख्यतया नेपालकै आवश्यकताले एकता गरिएको र  शुभेच्छा जोसुकैले राख्न सक्ने’ भन्छन्। नेकपा विवाद जब साम्य हुन्छ, तब चीनले मिलाइदिएको पार्टीलाई चीनले नै फुटबाट जोगाइदियो भनेर विश्लेषण हुनेगरेको छ।

नेकपाभित्र चीनको प्रवेशलाई जति सामान्य रुपमा लिइन्छ। अन्य पार्टी र अन्य देशका राजदूतको विषयलाई भने उस्तैगरी सहज रुपमा लिने गरेको पाइँदैन। नेकपामै जस्तै गरी, कांग्रेस वा जसपाभित्रको विवाद उत्कर्षमा पुगेको होस् र भारतीय राजदूतले सक्रियता देखाएका हुन्थे भने नेपाली राजनीति बढ्तै तरंगित हुन्थ्यो र ती पार्टीका नेतालाई अनेक आक्षेप पनि लाग्ने थियो भन्ने विगतको घटनाक्रमले आकलन गर्न सकिन्छ।

संयुक्त गोष्ठीदेखि भाइचारासम्म
२०७६ असोज २५ र २६ मा चिनियाँ राष्ट्रपति सि जिनपिंग नेपाल भ्रमणमा आए। उनी आउनुअगावै काठमाडौंमा प्रशिक्षण कार्यक्रम चलाइयो। ‘सि चिनपिङ विचारधाराबारे चिनियाँ कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचारधारात्मक छलफल कार्यक्रम’ भनिएको सो कार्यक्रम २०७६ असोज ६ र ७ गते चल्यो। कार्यक्रम नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागले आयोजना गरेका थिए। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका करिब ३०० जना र चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट १० जनाको सहभागिता रहेको थियो।

काठमाडौंको याक एन्ड यती होटलमा आयोजित सो कार्यक्रमको उद्घाटन सत्रमा बोलेका नेकपा स्कुल विभाग प्रमुख ईश्वर पोखरेल, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सि विचारधाराको प्रशंसा गरेका थिए। चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले सि विचारधाराबारे प्रष्ट्याएका थिए।

कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट चारवटा प्रस्तुति रहेका थिए। चिनियाँ केन्द्रीय पार्टी स्कुलका तर्फबाट काओ लीले– मध्यम स्तरीय सहज समाजको निर्माण सम्पन्न गर्नेबारे, संगठन विभागका तर्फबाट सुनान पेङले–पार्टी अनुशासनको सुदृढ कार्यान्वयन सम्वन्धमा, पार्टी स्कुलका तर्फबाट क्विन गाङले–सुधार कार्यलाई व्यापक बनाउने सम्बन्धमा र चिनियाँ नेशनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका तर्फबाट शी यु लङले–एक क्षेत्र एक सडक योजना निर्माणको संयुक्त पहल र मानव जातिका लागि सामुदायिक भविष्य निर्माण सम्वन्धमा विचार प्रस्तुत गरिएका थिए। ‘चिनियाँ राष्ट्रपति महामहिम सि जिनपिङ्को नेपाल भ्रमणको अपेक्षा र तयारी चलिरहको सन्दर्भका बीच आयोजित यस विचारधारात्मक छलफलले नेपाली समाजमा निकै सकारात्मक र भिन्न प्रभाव पारेको छ’, कार्यक्रमको समापनपछि असोज ७ गते नेकपाका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाद्वारा जारी विज्ञप्तिमा भनिएको थियो।

असोज ७ गते नै दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापनाका लागि सहयोग आदानप्रसाद सम्झौतापत्रमा हस्ताक्षर पनि भयो। त्यसअघि तत्कालीन एमाले र माओवादी केन्द्रसँग चिनियाँ कम्युनिस्ट पार्टीको छुट्टै सम्बन्ध रही आएको थियो। जुन पार्टी एकतापछि पनि कायमै थियो। ६ बुँदे सम्झौतापत्रमा ओली र प्रचण्डको उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सुन ताओले हस्ताक्षर गरेका थिए।

२०७७ वैशाख १७ मा नेकपाको विदेश विभाग र चिनिया कम्युनिस्ट पार्टीको विदेश विभागबीच कोभिड-१९ मा केन्द्रित रहेर दुई घण्टाभन्दा बढी भर्चुअल अन्तरक्रिया भयो। अन्तरक्रियामा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख ताओ सहभागी भएका थिए।

अन्तरक्रियामा कोरोना महामारी, यससँग लड्ने अनुभवदेखि नेपाल–चीन सम्बन्धसम्मका विषयमा छलफल भएको थियो।

त्यस्तै, गत असार ५ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी(सिपीसी) का नेताहरुबीच देश र पार्टी सञ्चालनबारे उच्चस्तरीय भर्चुअल कार्यशाला सम्पन्न भएको थियो। पार्टी र देशलाई परिचालन गर्ने अनुभव आदान-प्रदान गर्न चीन र नेपालका सत्तारुढ पार्टीका उच्च पदाधिकारीबीच गोष्ठी उद्घाटन समारोह भनिएको सो कार्यक्रम चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग, चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वशासित क्षेत्र कमिटी र नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय पार्टी स्कूल विभागले संयुक्त रुपमा आयोजना गरेका थिए। नेकपाको विदेश विभागले भने कार्यक्रमबारे अनभिज्ञता प्रकट गरेको थियो।

सो कार्यक्रममा नेकपाको तर्फबाट प्रचण्ड, ईश्वर पोखरेल र बेदुराम भुसालले सम्बोधन गरेका थिए। त्यस्तै, चिनियाँ विदेश विभाग प्रमुख ताओ र तिब्बत कमिटीका सचिव यु याङजेले सम्बोधन गरेका थिए। कार्यक्रममा कोभिडदेखि सि विचारधारासम्म छलफल गरिएको थियो।

यस्ता कार्यक्रममा चिनियाँ पक्षले सि विचारधाराको प्रचार गर्ने र नेकपाका नेताहरुले प्रशंसा गर्ने शैली देखिन्छ। 

चीनले नेकपालाई विचार-सिद्धान्तको आधारमा सहयोग गरेको जस्तो आफूलाई नलाग्ने खत्रीको भनाइ छ। ‘बरु नेपालमा अस्थिरता आउन लाग्यो भनेर सहयोग गरेको हो’, उनको भनाइ छ।

० ० ०

यान्छीका केही महत्त्वपूर्ण भेट
पुस २५, २०७६: माधव नेपाल निवास कोटेश्वरमा शिष्टाचार भेट। नवनियुक्त राजदूत यान्छीद्वारा आफ्नो कार्यकालमा सहयोगको अपेक्षा।
वैशाख १८, २०७७: प्रधानमन्त्री ओली र राजदूत यान्छीबीच भेट।
वैशाख १९, २०७७: प्रचण्ड निवास खुमलटारमा भेट। झन्डै एक घण्टा कुराकानी।
वैशाख १९, २०७७: माधव नेपाल निवास कोटेश्वरमा भेट।
असार २१, २०७७: माधव नेपाल निवास कोटेश्वरमा भेट।
असार २३, २०७७: झलनाथ खनाल निवास डल्लुमा भेट। करिब ४५ मिनेट कुराकानी।
असार २५, २०७७: प्रचण्ड निवास खुमलटारमा भेट।
मंसिर २, २०७७: बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग भेट। राति करिब ८ बजे बालुवाटार पुगेकी राजदूत यान्छिले दुई घण्टा त्यहाँ बिताएकी थिइन्।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको अध्यक्ष रन्जिता श्रेष्ठले बताइन् । शनिबार, असार २१, २०८२
अन्तिम समयमा त्रिविको सभा स्थगित, प्रधानमन्त्रीले समय दिएनन् प्रधानमन्त्री ओलीले यसअघि नै २२ गते सभाका लागि समय दिएका थिए। तर, अन्तिम समयमा आएर प्रधानमन्त्रीको व्यस्तताको कारण देखाउँदै सभा स्थग... शनिबार, असार २१, २०८२
कुलिङ पिरियड प्रकरणमा छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय शनिबार सिंहदरबारमा सभामखु देवराज घिमिरे र विभिन्न दलका नेताहरुको बैठकले विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको सभामुख घिमिरेका प्... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित शनिबार, असार २१, २०८२
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित शनिबार, असार २१, २०८२
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते शनिबार, असार २१, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्