काठमाडौं– युवाहरुलाई कतार रोजगारीका लागि पठाउने प्रलोभनमा अनधिकृत अन्तर्वार्ता लिइरहेको होप इन्टरनेशनल म्यानपावर कम्पनीमा मंगलबार वैदेशिक रोजगार विभागले छापा मारेको छ।
पूर्वस्वीकृति नलिएको डिमाण्ड देखाएर कामदारसँग अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागले छापा मारेको हो।
म्यानपावरमा छापा मार्ने क्रममा अनधिकृत रुपमा युवाहरुसँग अन्तर्वार्ता लिने म्यानपावर कार्यालय परिसरमा नेपालस्थित विदेशी नियोगको गाडीसमेत भेटिएको विभागको अनुगमन टोलीले जनाएको छ। विभागको टोली पुगेको जानकारी पाएपछि म्यानपावर सञ्चालक तथा दूतावासका कर्मचारीहरु त्यहाँबाट लुकेको उल्लेख गरिएको छ।
‘हाम्रो टोली अवैध रुपमा कामदारको अन्तर्वार्ता भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा होप इन्टरनेसनल म्यानपावरमा पुगेको थियो। टोलीले उक्त म्यानपावर परिसरमा दूतावासका कर्मचारीले प्रयोग गर्ने गाडीसमेत भेटेको बताएको छ। यसको कारणबारे हामी छानबिन गर्छौँ,’ विभागका निर्देशक टिकामणी नेउपानेले नेपाल लाइभसँग भने।
सोमबार पनि विभागले कतार रोजगारीका लागि भन्दै अनधिकृत रुपमा कामदारको अन्तर्वार्ता लिइरहेको अवस्थामा एसओएस तथा डीडी ह्युमन रिसोर्स म्यानपावर कम्पनीमा छापा मारेको थियो। ती म्यानपावरमाथि थप छानबिन भइरहेको विभागले जनाएको छ।
पछिल्लो समय म्यानपावरहरुले अनधिकृत अन्तर्वार्ता लिएर युवाहरुलाई भिजिट भिसामा कतार पुर्याउने कसैलाई विदेश नपुर्याई ठगी गर्ने प्रवृत्ति बढेको छ। यस्तो अवैध काममा दूतावासका कर्मचारीको समेत मिलोमतो भएको हुन सक्ने आशंका गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।