काठमाडौं– बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा पेनाल्टीमा रियल सोसिडाडलाई ३–२ ले हराउँदै बार्सिलोना फाइनलमा पुगेको हो।
बार्सिलोनाले आफ्नो अग्रता जोगाउन नसक्दा पेनाल्टीबाट जित निकाल्नु परेको हो। दुबै टिमले निर्धारित समयसम्म १–१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयतर्फ धेकेलिएको थियो। तर अतिरिक्त समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीबाट छिनोफानो गरेको हो। खेलको ३९ औं मिनेटमा फ्रेन्की डे जोङको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो।
पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा गोल खान पुग्यो। ५१ औं मिनेटमा मिकेल ओयारजाबलले गोल गर्दै १–१ गोलको बराबरी दिलाएका थिए। ३० मिनेटको अतिरिक्त समयमा पनि दुबै टिमले बराबरी खेलेपछि खेल पेनाल्टीमा गएको थियो।
पेनाल्टीमा बार्सिलोनाका ओस्मान डेम्बेले, मिरालेम प्यानिच र रिकी पुजले गोल गर्दा डे जोङ र एन्टोनी ग्रिजम्यानले गोल गर्न सकेनन्। त्यस्तै, सोसिडाडका लागि जोन बाउटिस्टा, मिकेल ओयारजाबल र विलियम जोसेले गोल गर्न असफल हुँदा मिकेल मेरिनो र एडनान जानुजाजले भने गोल गर्न सफल भए।
अब उपाधिका लागि बार्सिलोनाले एथ्लेटिक विलबाओ र रियल मड्रिडबीचको विजेतासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।