काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेको छ। बुधबार नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ७ सदस्यीय प्रतिनिधि मण्डलले अर्थमन्त्री पौडेलसँग भेटी अटोमोबाइल व्यवसायका समसामयिक विषयहरुमा छलफल गरेकोे हो।
उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेडमा विश्वास गर्दै आएको भन्दै सवारीसाधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याबारे अर्थमन्त्रीलाई अवगत गराएका थिए।
उक्त छलफलमा नाडाका उपाध्यक्ष तथा सवारीसाधन समितिका सभापति करण चौधरीले आर्थिक वर्ष २०७७/७८ को बजेटले नेपालमा आधिकारिक बिक्रेता नभएका कुनै कम्पनीले सवारी वा ढुवानीका साधन पैठारी गरेमा त्यस्ता सवारीसाधन तथा ढुवानी साधनको मूल्यको ३० प्रतिशत जरिवाना गरी जाँचपास गर्न सकिनेछ भन्ने नयाँ व्यवस्थाले उत्पादक कम्पनीद्वारा नियुक्त जुनसुकै बिक्रेताबाट पनि सवारी साधन आयात गर्न सक्ने अवस्था कायम रहन गई उत्पादक कम्पनीको कुनै जानकारी वा दायित्व नै नरहने अवस्था उत्पन्न भएको विषयमा अर्थमन्त्रीलाई जानकारी गराएका थिए।
त्यसैगरी सो छलफलमा नाडाका महासचिव तथा स्पेयर पार्टस समितिका सभापति सुनिल रिजालले स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरु उल्लेख गरेका थिए।
छलफलको क्रममा अर्थ मन्त्री पौडेलले नेपालमा विद्युतीय सवारीसाधनहरुको प्रशस्त सम्भावना देखिएको सन्दर्भमा अब अटोमोबाइल व्यवसायीहरुले नेपालमै विद्युतीय सवारी साधनहरुको उत्पादन थाल्नुपर्ने बताए। त्यसका लागि आवश्यक नीति नियमहरुको तर्जुमा गरिदिन अर्थमन्त्रालय तयार रहेको बताएका थिए।
सो छलफलमा नाडाका अध्यक्ष दुलालसहित निवर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्षद्वय करण चौधरी र आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल र सहकोषाध्यक्ष विक्रम सिंहानिया समेतको उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।