काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँके जिल्लामा उत्पन्न पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएका छन्। बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आज बिहान टेलिफोन गरी उपप्रधानमन्त्री पोखरेलले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका हुन्।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले स्थिति भयावह हुन नदिनतर्फ बेलैमा कदम चाल्न निर्देशन दिँदै सीसीएमसीको तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुने बताए।
कुनै गम्भीर विषय भएमा सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सिधै सम्पर्क गर्न उनले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए। बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले बाँके जिल्लाको वस्तुस्थितिका विषयमा जानकारी गराउँदै कोभिडका बिरामीको चाप अस्पतालहरूमा बढिरहेको बताए।
उनले अस्पतालमा बेड तथा मेडिकल डाक्टरहरूको अभाव भएको र नेपाल मेडिकल कलेज कोहलपुरलाई कोभिड अस्पतालको रूपमा अगाडि बढाउने विषय प्रक्रियामै रहेको जानकारी गराएका थिए।
उपप्रधानमन्त्री पोखरेलले यी सबै विषयमा तत्कालै सीसीएमसीको तर्फबाट सम्बोधन गरिने बताए। उनले कोरोनाका बिरामीको उपचारका लागि पूर्वाधार भएको ठाउँको पहिचान गरी तयारी गर्न, निजी अस्पतालका पूर्वाधारलाई सदुपयोग गर्न, अक्सिजनको पर्याप्त व्यवस्था गर्नसमेत प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्। उनले नेपाल-भारत सीमा नाकामा ‘होल्डिङ सेन्टर’को व्यवस्थापनका विषयमा पनि जानकारी लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।