काठमाडौं– सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा विशेष अदालतको आदेशानुसार थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको बन्दीप्रत्यक्षीकरणको निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ।
आइतबार न्यायाधीश मीरा खड्काको इजलाशले थुनामा राख्नुको कारण पेस गर्न आदेश गरेको हो।
बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बस्न्यातका तर्फवाट शुक्रवार छोरी–ज्वाईं प्रज्वल अधिकारीमार्फत स्वास्थ्य अवस्था प्रतिकूल भएकाले धरौटीमा रिहा भएर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै निवेदन दर्ता गराएका थिए। निवेदनमा थुनामा राख्ने विशेष अदालतको निर्णय बदरको माग गरिएको थियो। थुनामै कोरोना संक्रमण भएर बस्न्यात हाल चाबहिलस्थित ओम अस्पतालमा छन्।
६९ वर्ष हुनुका साथै मुटु रोग लगायतका साविकदेखि नै विभिन्न रोगले पीडित रहेको र अहिले कोरोना संक्रमण भएर चावहिलस्थित ओम अस्पतालको काई केयर युनिटमा भर्ना भइ उपचार भइरहेको दाबी गर्दै धरौटीमा रिहा हुनुपर्ने माग गरेका थिए।
'कोरोनाको संक्रमण अत्यन्तै गम्भीर हुन पुगि मलाई अक्सिजनको सपोर्टमा श्वासप्रश्वास गराई राखिएको अवस्था रहेको छ,' उनको निवेदनमा भनिएको छ, 'मेडिकल साइन्सले कोरोना संक्रमणमा सिटी भ्यालु मापन गर्दा २८ भन्दा बढी हुनुपर्ने मापदण्ड राखेकोमा मेरो सिटी भ्यालु १२.७२ मात्रै रहेको छ। मुटुको पुन सल्क्रिया नगरे जीवन नै जोखिममा पर्ने अवस्था समेत रहेको छ।'
मानवीय दृष्टिकोणले समेत बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुनुपर्ने दावी निवेदनमा गरिएको छ।
अख्तियारले बालुवाटारको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा बस्न्यातसहित ११० जनाविरुद्ध २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
विशेष अदालतले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसविरुद्ध यसअघि माघमा बस्न्यातले सर्वोच्चमै निवेदन दिएका थिए। तर मिसिल झिकाउने आदेश भएर विचाराधीन रहेका बेला बस्न्यातका तर्फबाट ज्वाईंले धरौटीमा रिहा गर्ने आदेशको माग गर्दै शुक्रवार अर्को निवेदन दर्ता गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।