काठमाडाैं- केन्द्रदेखि प्रदेशसम्म राजनीतिक खेल अस्वस्थ हुँदै गएकाले प्रदेश सांसदबाट राजीनामा दिएको कपिलवस्तुबाट निर्वाचित एमालेका प्रदेश सांसद दूगनारायण पाण्डेयले बताएका छन्।
आइतबार लुम्बिनी प्रदेशका सभामुखलाई पत्र लेख्दै पाण्डेयले सांसद पदबाट राजीनामा दिएका हुन्। कपिलवस्तु निर्वाचन क्षेत्र २ (१) बाट एमालेका तर्फबाट विजयी पाण्डेयले नेपाल लाइभसँग भने, ‘माथिदेखि तलसम्मको खेलले गर्दा जनतासम्म गरेको वाचा पूरा गर्न सकिएन। जनता हामीबाट निराश देखिए।’
राज्यको सेवा सुविधा लिएर काम गर्न नसक्ने अवस्था बनेकाले राजीनामा दिएको उनले प्रष्टाए। काम गर्न नसक्ने तर, सेवा सुविधा लिइराख्ने कार्यलाई जनताले नछोड्ने भएकाले नैतिक रूपमा राजीनामा दिएको उनले बताए।
दलका नेताहरूसँग धेरैपटक बोल्दा पनि आफ्नो कुराको सुनुवाइ नभएपछि राजीनामा दिएको पाण्डेयले सुनाए। ‘सुनवाइ कतैबाट देखिएन। सत्ता जोगाउने काममा मात्रै देखियो’, पाण्डेयले भने, ‘खेलमा अल्झिन हुँदैन भनेर नै राजीनामा दिएको हुँ।’
सभामुखले बोलाएकाले उनलाई भेट्न जान लागेको पाण्डेयले बताए। राजीनामा स्वीकृत भइ नसकेपनि फिर्ता लिने सम्भावना नरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।