फाइल तस्वीर
काठमाडाैं- लुम्बिनी प्रदेशमा आइतबार बिहानैदेखि काठमाडौंको केन्द्रीय राजनीतिलाई पनि बिर्साउने गरि राजनीतिक उथलपुथलका घटना देखापरे।
बिहानै मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि शुरु भएको यो उथलपुथल उनको पुनःनियुक्ति, सांसदहरुको दल परिवर्तन, दल त्यागलगायतका घटनाक्रमसम्म पुगेर पनि रोकिएको छैन। त्यहाँको राजनीतिक चलखेलले कस्तो उत्कर्ष पाउँछ भन्ने अनुमान गर्न सकिने अवस्था छैन।
यही लुम्बिनी प्रदेश कोरोना संक्रमणको ग्राफमा क्रमशः उकालो चढिरहेको छ। लुम्बिनी प्रदेशमा पछिल्ला दिनहरुमा दैनिक हजारमाथिको संख्यामा संक्रमण थपिदै आएका छन्। आइतबार ११ सय ५६ जना संक्रमित थपिए भने २४ काे मृत्यु भएकाे छ।
देशभर २७ काेराेना संक्रमितकाे मृत्यु हुँदा लुम्बिनीमा ८८ प्रतिशतको मृत्यु भएको हाे। हालसम्म ५ सय ९६ काेराेना संक्रमितकाे मृत्यु भएको तथ्याक लुम्बिनी प्रदेश क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्याकमा उल्लेख छ।
शनिबार मात्रै काेराेना संक्रमणबाट १९ जनाको मृत्यु भएको थियो। हिजाे ज्यान गुमाउने सबै संक्रमित लुम्बिनी प्रदेशका थिए। हालसम्म सबैभन्दा धेरै रुपन्देही २ सय जना संक्रमितले ज्यान गुमाएका छन्। त्यस्तै, बाँकेका ९५ जना संक्रमितको मृत्यु भएको छ। दाङका ७६ जनाले ज्यान गुमाएका छन्।
लुम्बिनीमा मृतकसँगै कोरोना संक्रमणको ग्राफ पनि उकालाे लाग्ने क्रममा रहेकाे छ। पछिल्ला दिनहरुमा ११ सयमाथि संक्रमित थपिदै आएका छन्। आइतबार मात्रै ११ सय ५६ जना संक्रमित थपिए। आज थपिने संक्रमितमध्ये सबैभन्दा धेरै रुपन्देहीमा रहेका छन्।
रुपन्देहीमा ४ सय ६६ जना संक्रमित थपिए भने बाँकेमा ४ सय ६ जना थपिए। त्यस्तै, अर्घाखाँचीमा ३७, कपिलवस्तुमा ४१, गुल्मीमा ११, दाङमा १३३, नवलपरासीमा ८०, पाल्पामा ११, प्युठानमा ३, बर्दियामा ५१, बाँकेमा, रुकुम पूर्वमा ५, र रोल्पामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।
शनिबार लुम्बिनीका १२ जिल्लामा ११ सय ९५ जना थपिएका थिए। यस प्रदेशमा आइतबारसम्म २ सय १३ आईसीयूमा, १९ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
हालसम्म यस प्रदेशमा १२ सय ८९ जना अस्पतालमा उपचाररत् छन् भने कूल संक्रिय संक्रमित ११ हजार बढी रहेका छन्।
लुम्बिनीका तीन जिल्लामा ५ सयभन्दा धेरै संक्रमित रहेका छन्। दाङ,बाँके र रुपन्देहीमा पाँचसयभन्दा धेरै संक्रमित रहेका छन्। त्यस्तै, पाँच जिल्लामा २ सयभन्दा धेरै संक्रमित रहेका छन्।
पाल्पा,बर्दिया,कपिलबस्तु,नवलपरासी(पश्चिम) र अर्घखाँचीमा २ सयभन्दा धेरै संक्रमित रहेका जिल्ला हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।