काठमाडौं - केही दिनअघि डा अनुप बास्तोलाले लेखेका थिए :
‘टेकु अस्पताल भरिसक्यो। थप बिरामी राख्ने संभावना न्यून छ। अब वार्डबाट आईसीयूमा बिरामी सार्ने स्थिति छैन। रिफर गर्न अन्य अस्पतालमा खोज्दा बेड भेटिँदैन।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलालाई आईसीयू र भेन्टिलेटरका लागि दिनमा कयौँ पटक फोन आउँछ। तर अस्पतालमा आईसीयू र भेन्टिलेटर सहजै पाउन सकिने अवस्था छैन। बढ्दो बिरामीको चाप अस्पतालले थेगी नसक्नु छ।
उनी भन्छन्, ‘मोबाइलको घण्टी जति बज्छ, उति तनाव थपिन्छ। अधिकांश फोन आईसीयू र भेन्टिलेटरको खोजीमा आउँछन्।’
आइतबार साँझ पनि अस्पतालमा शय्या खाली छैनन्। शुक्रराज अस्पतालमा मात्र होइन। कोरोनाको उपचार हुने देशभरका अस्पतालहरुको शय्या अहिले भरिभराउ छन्। सजिलैसँग आईसीयू र भेन्टिलेटर पाउन सकिँदैन।
शय्या नपाएरै कतिपय संक्रमितको मृत्यु भएका खबर बाहिर आइरहेको छ।
आईसीयू र भेन्टिलेटरका लागि घण्टौंसम्म कुरिरहेका बिरामीहरु अस्पतालमा धेरै भेटिन्छन्। अस्पतालहरुमा गरेको स्थलगत अध्ययनका क्रममा पनि अस्पतालमा शय्या भरिएर संक्रमितलाई बाहिर कुराइरहेको फेला पारेका छ।
तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्ने हो भने देशमा आईसीयू र भेन्टिलेटरको कुनै अभाव देखिँदैन।
मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने तथ्यांकमा पनि देशभर आईसीयू र भेन्टिलेटरको खाली रहेको देखाउँछ।
मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर १ हजार २ सय ४९ आइसियु र ५२६ भेन्टिलेटर छ। जसमध्ये ४७७ आईसीयूर १३१ भेन्टिलेटरमा संक्रमितको उपचार भइरहेको छ।
मन्त्रालयकै तथ्यांक अनुसार अझै पनि ७७२ आईसीयू र ३९५ भेन्टिलेटर खाली देखिन्छ।
त्यसो भए संक्रमित भर्ना नभएका ती आईसीयू र भेन्टिलेटर काहाँ छन् त?
यही प्रश्न हामीले स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीलाई सोध्यौँ। हाम्रो प्रश्नमा उनको जवाफ थियो, ‘यो सबै कोभिडका लागि छुट्याइएको बेड होइन। देशभर रहेका आईसीयू र भेन्टिलेटरको संख्या हो।’
काठमाडौं उपत्यकाका अधिकांश अस्पतालहरु बिरामीले भरिएपनि उपत्यका बाहिरका अस्पतालमा अवस्था यस्तो नरहेको उनी बताउँछन्। शय्याको व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेश सरकारको भएको उनले बताए।
खाली भएका शय्या कहाँ कति छ भन्ने विषयमा प्रदेशका सामाजिक विकास मन्त्रालयसँग यकिन जानकारी हुने उनले जानकारी दिए।
उनले भने, ‘हामीले पनि यहाँ राख्छौं। यो हामीले गर्नेभन्दा पनि यसको व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेश स्तरीय सामाजिक विकास मन्त्रालयको हो।’
कुन प्रदेशमा कति आईसीयू र भेन्टिलेटर? कति संक्रमित उपचाररत?
प्रदेश १
बिरामी – ५४ आईसीयू, १४ भेन्टिलेटर
शय्या – १५९ आईसीयू, ७० भेन्टिलेटर
खाली – १०५ आईसीयू, ५६ भेन्टिलेटर
प्रदेश २
बिरामी – २४ आईसीयू, २ भेन्टिलेटर
शय्या – ५० आईसीयू, २५ भेन्टिलेटर
खाली – २६ आईसीयू, २३ भेन्टिलेटर
बागमती प्रदेश
बिरामी – २५४ आईसीयू, ७७ भेन्टिलेटर
शय्या – ५९१ आईसीयू २६५ भेन्टिलेटर
खाली – ३३७ आईसीयू, १८८ भेन्टिलेटर
गण्डकी प्रदेश
बिरामी – ५ आईसीयू, १ भेन्टिलेटर
शय्या – २४१ आईसीयू, ६७ भेन्टिलेटर
खाली – २३६ आईसीयू, ६६ भेन्टिलेटर
लुम्बिनी प्रदेश
बिरामी – ७७ आईसीयू, २१ भेन्टिलेटर
शय्या – ११९ आईसीयू, ६१ भेन्टिलेटर
खाली – ३९ आईसीयू, ४० भेन्टिलेटर
कर्णाली प्रदेश
बिरामी – ३३ आईसीयू, २७ भेन्टिलेटर
शय्या – ४९ आईसीयू १७ भेन्टिलेटर
खाली – १६ आइसियु, १० भेन्टिलेटर
सुदूरपश्चिम प्रदेश
बिरामी – ३० आईसीयू, ९ भेन्टिलेटर
शय्या – ४० आईसीयू, २१ भेन्टिलेटर
खाली – १० आईसीयू, १२ भेन्टिलेटर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।