काठमाडौं– विवादबीच लुम्बिनी प्रदेशको मुख्यन्त्रीमा नियुक्त भई शपथ लिएका शंकर पोखरेलले बहुमत प्राप्त दलका रुपमा एमालेले मुख्यमन्त्रीमा दावी गरेको बताएका छन्। सूर्य चिन्हबाट चुनाव लडेका केही सांसदले आफूलाई समर्थन नगर्ने बताएपनि संसदीय दलको बैठकले आफूलाई मुख्यमन्त्री बनाउने सर्वसम्मत निर्णय गरेकाे बताए।
विमला कुमारी खत्री फागुन २३को फैसलापछि एमालेमा सहभागी भएको बताउँदै उनले अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानुन विपरित कार्य भएको उल्लेख गरेका छन्।
उनले यस प्रकृयामा प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिएको आरोपसमेत लगाएका छन्। ‘चर्चामा ल्याइएका अन्य सांसदले समेत दलको बैठकमा उपस्थित रहेर सरकारमा दावी गर्ने निर्णयमा सहमति जनाउनु भएको हो,’ उनले भनेका छन्, ‘सूर्य चिन्हबाट चुनाव लडेका उहाँहरुको समर्थन कानुनी रुपमा समेत अन्य दललाई हुन सक्तैन।’
‘दलको बैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको हो,’ उनले साेमबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नियुक्ति पनि त्यसै आधारमा भएको हो। नियुक्ति पछिको विवादको निरुपण प्रक्रिया अनुरुप नै हुनेछ।’
यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादवहरूले थाहा नपाएजस्तो गर्नु आश्चर्यको कुरा भएको समेत उनले टिप्पणी गरेका छन्।
‘अविश्वास प्रस्ताव दर्ता पछि जनता समाजवादीका चारजना सदस्यहरुलाई अल्पमत रहेका दलका सदस्यको सिफारिसका आधारमा कार्वाहीको षड्यन्त्रपूर्ण नाटक मंचनपछि नेकपा एमाले बहुमत प्राप्त दल बनेको हो,’ उनले भनेका छन्, ‘वहुमत प्राप्त दललाई सरकार संचालनको संवैधानिक दायित्व रहन्छ।’
जसपाका चार सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको कुरा अस्वीकार गरिसकेको उल्लेख गर्दै उनले पुरानो र अर्कै सन्दर्भमा गरिएको हस्ताक्षर प्रयोग गरिएको दावी गरेका छन्।
जनता समाजवादीका वहुमत सदस्यले कारवाहीका विरुद्धमा सर्वोच्चमा रिट दायर गरेको बताउँदै उनले रिटको पक्षमा फैसला हुनासाथ लुम्बिनी सरकार सुदृढ पोजिसनमा हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।